PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

गरिबी निवारणको चिनियाँ सपना : कोही एक पनि पछि नछुटुन्



विधुर ढकाल

गरिबी निवारणको चिनियाँ सपना : कोही एक पनि पछि नछुटुन्

सिचुवान : वाङ पुमान ‘चिसोमा कठ्याङ्ग्रिएको युवक’ अब यो जाडोमा कठ्याङ्ग्रिन पर्दैन। न उनले गालासम्म ढाक्ने टोपी नै लगाउनुपर्छ न त उनको कपाल जाडोले कठ्याङ्ग्रिन्छ।

२०१८ को जनवरीमा उनको एउटा तस्विर अनलाइनमा सार्वजनिक भयो। फोटोमा उनी एउटा पातलो ज्याकेटमा रातो गालासहित जमेको कपाल लिएर डेढ घण्टा यात्रा गरेर विद्यालय पुगेका थिए। उनको यो तस्विर सामाजिक सञ्जालमा भाइरल भयो।

अहिले उनको परिवार नयाँ घरमा बसाइँ सरेको छ। ४.५ किलोमिटर लामो पहाडी गोरेटोमा रहेको उनको विद्यालय पुग्ने सडक पक्की भएको छ। दक्षिण-पश्चिम युनान प्रान्तको ग्रामीण बस्ती दुदियानका यी युवक र उनकी दिदी अब २० मिनेट पैदल हिँडेरै विद्यालय पुग्छन्।

‘नयाँ पक्की बाटोले विद्यालय जान सहज बनाइदिएको छ। अब उनीरुको सुरक्षाको कुनै चिन्ता छैन्,’ उनका बाबुलाई उदृत गर्दै चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ।

चीनका ग्रामीण बस्तीको जीवनस्तर शैक्षिक अवस्थामा ठूलो परिवर्तन आएको छ।

चीन सरकार २०२० मा पूर्ण गरिबी निवारण घोषणाको तयारी गरिरहेको छ। पुमानको परिवारले यस वर्ष हिउँदमा आलुमा आत्मनिर्भर बन्दै गरिबीलाई बिदाइ गरेको हो।

लुदियान युनानको २७ पूर्ण परिवर्तन भएको बस्तीमध्ये एक हो। २०१४ मा देशको चार लाख ६९ हजार जनसंख्या गरिबीबाट मुक्त गरिएको थियो। सन् २०१८ मा संख्या २९ हजार ८९२ पुगेको थियो।

‘कठ्याङ्ग्रिएका युवक’को परिवारमा आएको परिवर्तन चीनको परिवर्तनको ऐना हो। २०१३ देखि २०१८ सम्म ८ करोड मानिसहरुलाई गरिबीबाट मुक्त गरिएको छ।

आधुनिक समृद्ध समाज (स्याओखाङ) निर्माण चिनियाँ सपनालाई सार्थक बनाउने प्रयासको एउटा कोसेढुंगा हो। चिनियाँ राष्ट्रपति सी जिनपिङले सात वर्ष अगाडि ‘दी रोड टुवार्ड रिन्युवल’ प्रदर्शनीमा सहभागी हुँदै गर्दा यो सपना देखेका थिए।

बेइजिङमा २०१२ मा भएको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सीले वर्तमानलाई उत्सवको रुपमा मनाउँदै भविष्यको निर्धारण गर्ने घोषणा गरेका थिए।

त्यतिबेला उनले भनेका थिए, ‘सबैका आ-आफ्नै सपना हुन्छन्। चीनको पनि आफ्नै सपना छ। अहिले सबैले चिनियाँ सपनाको बारेमा कुरा गरिरहेका छन्। मेरो विचारमा हाम्रो उपलब्धिलाई आत्मसात गर्नु नै आधुनिक इतिहासमा चीनको ठूलो सपना हो। हामी नयाँ पिडीका कम्युनिस्टहरुले हाम्रा अग्रजहरुले हामीलाई दिएको विरासतलाई अगाडि बढाउनु छ।’

चिनियाँ कम्युनिस्ट पार्टीले १००औँ वार्षिकोत्सव मनाउँदै गर्दा आधुनिक समृद्ध समाज निर्माणको लक्ष्य पूरा गर्ने उनले घोषणा गरेका थिए। ‘जब नयाँ चीनको १००औँ वर्षिकोत्सव मनाइरहेका हुनेछौँ त्यतिबेला एउटा बलियो समृद्ध सभ्य सद्भावपूर्ण समाजसहितको आधुनिक देश निर्माण गर्ने सपना पूरा भएको हुनेछ,’ उनले भनेका थिए।

चिनियाँ राष्ट्रपति सीले चिनियाँ सपना जनताको सपना भएको भन्दै यी सपना पूरा गर्ने पटक–पटक अठोट गर्दै आएका थिए।

सन् २०१५ मा अमेरिका भ्रमणका क्रममा उनले भनेका थिए, ‘चिनियाँ सपना चिनियाँ जनताको सपना हो। हामीले यी सपना तब मात्र पूरा गर्न सक्छौँ जब जनताको जीवनस्तर माथि उकास्न सक्छौँ।’

सन् २०१५ मा अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा उनले २०२० लाई अन्तिम लक्ष्य राख्दै देशबाट गरिबी उन्मुलन गर्ने घोषणा गरेका थिए। त्यतिबेला उनले देशभरका सात करोड जनसंख्यालाई गरिबीबाट माथि उकास्ने घोषणा गरेका थिए।

सन् १९६० को दशकमा चीनको उत्तर-पश्चिम सान्सी प्रान्तको गरिब किसान परिवारमा जन्मिएका उनले आफ्नो अनुभव सुनाउँदै अब गरिबीको रेखामुनि कोही बस्नु नपर्ने घोषणा गरेका थिए।

चीन निर्धारित समयभन्दा अगाडि नै सन् २०१५ मा देशमा रहेका आधा गरिब जनसंख्यालाई गरिबीको रेखामाथि उकास्न सफल हुने पहिले देश हो।

‘स्याओखाङ’ समाज भन्नाले आर्थिक समृद्धिसहित गरिबी निवारण, अनिवार्य शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सुरक्षित आवास र खाद्यान्न र न्यानो कपडाको उपलब्धतालाई बुझाउँछ।

यही समाजको कल्पना अनुसार नयाँ बस्ती बनेका छन्। वाङको परिवार पनि यसरी बनेको नयाँ बस्तीमा बसाइँ सरेको छ। जुन उनको पूरानो घरभन्दा दुई किलोमिटरको दुरीमा छ। उनको अहिलेको घर आधुनिक न्यानो, उज्यालो र सबै प्रकारका फर्निचर र उपकरण जडित छ। इन्डक्सन चुल्हो सोफा र २५ इन्चको आधुनिक टेलिभिजन सेट पनि।

गरिबी निवारणको राष्ट्रिय सपना साकार पार्नका लागि यहाँका सबै नागरिक एकजुट छन्।

सिचुवानमा रहेको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी) का विद्यार्थीहरुले गरिबी निवारणका लागि योगदान पुर्‍याउन भन्दै बंगुर आकारको रोवर्ट निर्माण गरेका छन्। जसबाट संकलन हुने आम्दानी गरिबी निवारण कोषमा पुग्छ।

विद्यार्थीदेखि प्राध्यापकहरु गरिबी निवारणको सपना साकार पार्न तल्लिन छन्। युइएसटीसीका केही प्राध्यापकहरु यतिबेला सिचुवान प्रान्तको गरिब बस्तीका बालबालिकाहरुलाई अध्यापन गराइरहेका छन्। विश्वविद्यालयको अस्पातालका चिकित्सकहरु ग्रामीण बस्तीमा अस्पताल निर्माण गरी सेवामा तल्लिन छन्।

चिनियाँ सपना साकार पार्न नागरिकको पनि समर्थन छ। मेरो एक चिनियाँ मित्रले ल्यापटप किन्न सुझाव मागिन्। ‘आइम्याक प्रो’ मेरो सुझाब थियो। उनले तत्काल नकारिन्। ‘नो आइ सपोर्ट नेशनल प्रोडक्ट।’

भर्खर ११.११ ‘सिंगल डे’ मनाए चिनियाँहरुले नोभेम्बर ११ मा। यस दिन चीनमा सबैभन्दा बढी कारोबार हुन्छ।

अमेरिकाको ब्ल्याक फ्राइडे र साइबर मन्डे जस्तै अवधारणामा सुरु भएको यो दिन ‘डबल ११’। यस वर्ष नोभेम्बर ११ को पहिलो ६८ सेकेन्डमा अलिबाबाले १४.३  बिलियन डलरको कारोबार गर्‍यो। जुन गत वर्ष अमेरिकामा थ्यांक गिभिङ डेका दिन पूरा दिनभर भर भएको कारोबारको आधा हो।

यसवर्ष अलिबाबाले ३८.४ विलियन अमेरिकी डलर बराबरको कारोबार गर्‍यो। त्यतिमात्र होइन एक सेकेन्डमा कम्पनीको अपरेटिङ सिस्टमले ५ लाख ४४ हजार अर्डर लिएको रेकर्डसमेत कायम गर्‍यो।

२४ घण्टामा अलिबाबाले मात्र २६८ विलियन आरएमबीको कारोबार भयो।

यस दिन अलिबाबाको अलि एक्सप्रेसले २०० विलियन शब्द अनुवाद गरेको रेकर्ड कायम गरेको छ। सन् २००९ मा पहिलो पटक अलिबाबाले सिंगल डे क्याम्पेन सुरुवात गरेको थियो। यस वर्ष अलिवावाले नयाँ १० लाख ग्राहक बनायो। यस वर्ष सिंगल डेमा अलिबाबा माथि ठूलो दबाब थियो। चीन र अमेरिकाबीच चलेको व्यापार युद्धको प्रभाव कारोबारमा पर्ने आकलन गरिएको थियो। तर, यसको प्रभाव परेन्।

चिनियाँहरु यस वर्ष अमेरिकी उत्पादन बहिस्कार गर्ने अभियानमा लागेका थिए। स्वदेशी उत्पादनमा उनीहरुले जोड दिए।

उत्पादनमा जोड

गत साता छेन्दु देखि १०० किलोमिटर परको बस्ती पुगियो। खुला फाँट। फाँटको बीचमा केही घर। बाहिरबाट हेर्दा घर सामान्य। भित्र विशेष। सामूहिक परिवार। घरको एउटा बैठक कोठा। भित्तामा प्रोजेक्टरसहितको ठूलो स्किन। सांगीतिक माहोल चलिरहेको।

चिनियाँ गाउँ हेर्ने रहर मित्र सेइ ली सामु प्रकट गरेको थिएँ। हुन्छ सुन्तला टिप्न जाउँला उनले भनेकी थिइन्। उनका केही मित्र र मेरा केही मित्र १० जनाको टोली पुगेको थियो त्यस गाउँ। होमस्टेको अवधारणा जस्तै चिनियाँ परिकारले स्वागत। ‘हिजो कस्तो थियो आज सबैको मुहारमा हाँसो छ। यो परिवर्तन सपना जस्तै थियो अहिले साकार भयो,’ उनले भनिन्।

सामूहिक खेती। सामूहिकतामा गरिबीबाट माथि उठेको बस्ती। ‘गरिबी हाम्रो समस्या थियो। अहिले छैन्। हरेक मानिस उत्पादनसँग जोडिएका छन्। हरेकसँग सुन्दर भविष्य छ,’ उनको भविष्यप्रतिको निश्चिन्तता झल्कियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell