PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जनयुद्धमा बन्दुक बोकेर हिँडेकी अनुपमाको स्वर्ण सफलता, अब लक्ष्य : ओलम्पिक



मुकुन्द घिमिरे

जनयुद्धमा बन्दुक बोकेर हिँडेकी अनुपमाको स्वर्ण सफलता, अब लक्ष्य : ओलम्पिक

काठमाडौं : १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेमा नेपालले राम्रो प्रदशर्न गरिरहेको छ। दोस्रो र तेस्रो दिन कराँतेमा अपेक्षा गरिएभन्दा धेरै स्वर्ण जित्दै नेपाल सागमा अब्बल बनिरहेको छ।

त्यही अब्बलतासँगै खेलाडीहरुलाई 'प्रेसर' पनि उत्तिकै थपिएको छ। किनकि सबैको नजर स्वर्णमै छ।

आज भएको कराँतेको कुमुटे फाइटमा अनुपमा मगर पनि त्यस्तैखाले प्रेसरमा रहिन्। स्वर्ण चुम्ने इच्छाका साथ रिङमा उत्रिँदा उनको सामुन्नेमा थिइन् पाकिस्तानी खेलाडी नार्गिस।

तर, फाइनलका लागि मैदानमा उत्रिँदा उनीलाई आफ्नो अनुभवले साथ दिइरहेको थियो। बंगलादेशमा भएको साउथ एसियन च्याम्पियनसीपमा उनी श्रीलंकाली खेलाडीसँग पराजित भएकी थिइन्। तर, सागसम्म आइपुग्दा उनले सेमिफाइनलमा श्रीलंकाकी बिजेकुन मोहम्मदलाई पराजित गरिन् र फाइनलमा पुगिन्।

आफू हारेकै देशका खेलाडीलाई हराएपछि उनमा आत्मविश्वास भरियो। पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्, 'सागको सेमिफाइनलमा श्रीलंकालाई जितिसकेपछि पाकिस्तानलाई त हराउँछु नै भन्ने लागेको थियो। पाकिस्तानमाथि स्कोर लिड गरिसकेपछि टाइम सकिए हुन्थ्यो जस्तो लागिरह्यो। अन्तिममा स्वर्ण जितेँ।'

स्वर्ण जितिसकेपछि एकदमै खुशी देखिएकी उनले आफ्नो पदक स्वर्गीय आमालाई समर्पण गरेको बताइन्। 'आज पुराना दिनहरु सबै बिर्सिएको छु। म निकै खुशी छु,' उनले भनिन्।

६८ केजी तौल समूहको खेलमा पाकिस्तानी खेलाडीलाई ६-४ अंकले पराजित गर्दै मगरले स्वर्ण जितेकी हुन्। राष्ट्रिय खेलहरुमा पदक जितिसकेकी उनको यो पहिलो सागमा सहभागिता र स्वर्ण पदक पनि हो। सागसम्मको यात्रा तय गर्ने क्रममा उनले निकै संघर्ष गर्नु परेको थियो।

माओवादी जनयुद्धमा सशस्त्र विद्रोही बनेर बन्दुक काँधमा हालेर हिँडेकी थिइन् उनले। जनयुद्धमा होमिएकी उनी पार्टीको काममा पूरै खटिने गर्थिन्।

भनिन, 'बन्धुकका लागि गोली पुर्‍याउने काम गर्थेँ। पार्टीले दिएको जिम्मेवारी पूरा गर्थे।'

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि छैटौं राष्ट्रिय खेलकुदमा उनले माओवादीका पूर्व लडाकुहरुको तर्फबाट सहभागिता जनाएकी थिइन्। त्यतिखेर कास्य पदक जितिन्। लगातार उनले सातौं र आठौं खेलकुदमा सहभागिता जनाइन्। पिएलए क्याम्पबाट १३ औं सागसम्मको यात्रा तय गरेर अनुपमाले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हासिल गरेकी हुन्।

स्वर्ण पछिको यात्रा कस्तो हुनेछ भन्ने प्रश्नमा उनले भनिन्, 'अब ओलम्पिक खेल्ने लक्ष्य रहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell