PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्डले डाकेको नेकपा सचिवालयको पहिलो बैठकमा एक तिहाई अनुपस्थित, बैठकमा बोलाउँदा दुई नेता विमानमा



कुञ्जरमणि भट्टराई

प्रचण्डले डाकेको नेकपा सचिवालयको पहिलो बैठकमा एक तिहाई अनुपस्थित, बैठकमा बोलाउँदा दुई नेता विमानमा

काठमाडौं : मंसिर ४ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अध्यक्षहरुको कार्यविभाजन गर्‍यो र पुष्पकमल दाहाल 'प्रचण्ड' लाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पियो। त्यसपछि पहिलो पटक उनले कार्यकारी हैसियतमा बैठक डाके सचिवालयको।

कार्यकारी अध्यक्षको जिम्मा पाएको दुई सातापछि प्रचण्डको अध्यक्षतामा आज पहिलो पटक सचिवालय बैठक पनि बस्यो। पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको बैठकमा ९ सदस्यीय सचिवालय सदस्यमध्ये ६ जनामात्र उपस्थित रहे।

बैठकमा अध्यक्ष प्रचण्डसँगै महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, वरिष्ठ नेता झलनाथ खनाल भने बैठकमा अनुपस्थित रहे।

किन अनुपस्थित?

प्रधानमन्त्री ओली यतिबेला मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। उनको यही मंसिर १० गते एपेन्डासइटिक्सको अप्रेशन गरिएको थियो। त्यसयता प्रधानमन्त्री ओली चिकित्सकको निरन्तर निगरानीमा उपचाररत छन्। उनी यस्तो बैठकमा सहभागी भइहाल्ने अवस्थाबाट बाहिर आएका छैनन्।

त्यसो त प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई सचिवालय बैठक डाक्न आग्रह गरेका थिए। नेकपाको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार ओलीसँगको छलफलपछि प्रचण्डले बैठक डाकेका हुन्। चीन जाने पूर्ववत तयारी स्थगित गरेका प्रचण्डले ओलीकै आग्रहअनुसार बैठक डाकेका हुन्।

प्रचण्डले सचिवालय बैठक डाक्नेबारे नेताहरुलाई मंगलबार नै जानकारी गराएका थिए। तर, आजको बैठकमा सचिवालय सदस्यहरु पोखरेल र खनाल भने उपस्थित भएनन्। उनीहरु मंगलवार नै महोत्सवमा सहभागी हुन इलाम पुगेको कार्यालय सचिव रिजालले जानकारी दिए।

उनले भने, 'सचिवालय बैठकका लागि फोन गर्दा उहाँहरु प्लेनमा चढिसक्नुभएको थियो। कार्यक्रमका लागि इलाम जानुभएको जानकारी पाएको छु।'

सदस्यहरुको बहुमत पुगेपछि सचिवालय बैठक बस्न सक्ने नेकपाको विधानमा उल्लेख छ। त्यसैले तीन जना नेता अनुपस्थित हुँदा पनि बैठक बस्न कुनै वाधा परेन।

के भयो बैठकमा?

बैठकले उपनिर्वाचन भएका सम्बन्धित स्थानका कमिटीलाई समीक्षा रिपोर्ट केही दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना समेत गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताए।

सचिवालयको अर्को बैठक मंसिर २३ गतेलाई बोलाइएको छ। उक्त बैठकमा उपनिर्वाचन समीक्षा रिपोर्टको औपचारिक रुपमा छलफल तथा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा निर्णय लिइने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell