PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतको चित्त दुख्छ भनेर सीमा अतिक्रमणबारे बोल्न नडराओस् सरकार : चित्रबहादुर केसी



एम बम

भारतको चित्त दुख्छ भनेर सीमा अतिक्रमणबारे बोल्न नडराओस् सरकार : चित्रबहादुर केसी

कैलाली : राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सरकारले राष्ट्रियता र सीमाको सौदाबाजी गरेर सत्ताको लालचमा बस्न नहुने बताएका छन्।

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको कालापानी अभियान सञ्चालनको समापन समारोहलाई सम्बोधन गरेर फर्किएपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'इतिहासमै दुई तिहाइको शक्तिशाली सरकार छ अहिले। भारतले नेपालको मात्रै होइन अन्य छिमेकी राष्ट्रहरूको भूमि समेत वर्षौँ देखि मिच्दै आएको छ। त्यसकारण उसले हाम्रो हडपेको कालापानी र लिपुलेक पनि सहजै छोड्ने वाला छैन।’

केसीले शक्तिशाली सरकारले भारतको चित्त पो दुखिहाल्छ कि भनेर बस्न नहुने बताए। सबै दल र जनताको साथ सरकारलाई भएको बताउँदै उनले भने, 'चाँडै मिचिएको नेपाली भूमि फिर्ताका लागि पहल होस्।’

उनले देशभन्दा सत्ता ठूलो नभएको भन्दै सत्ता जोगाउन भन्दा देश जोगाउन लाग्नुपर्ने बताए। केसीले विगतका अस्थायी सरकारले भारतको आशिर्वादको लालचमा परेर सीमाको विवाद समाधान गर्न नसकेको भन्दै नेकपाको दुई तिहाइको सरकार पनि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको सौदाबाजी गरेर सत्तामा बस्न नहुने धारणा राखे।

उनले सीमा विवाद कूटनीतिक पहलबाट चाँडै टुङ्गिदैन भने यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने पनि बताएका छन्।

केसी राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको कालापानी अभियानको समापन समारोहलाई कञ्चनपुरको महेन्द्रनगरमा सम्बोधन गर्न यहाँ आइपुगेका हुन्। गत मङ्सिर ११ गते कैलालीको धनगढीबाट सुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेलधुरा, बैतडी, डोटी ,दार्चुला हुँदै हिजो महेन्द्रनगरमा पुगेर सम्पन्न भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell