PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ट्रायथलनमा नेपाललाई २ स्वर्णसहित ६ पदक



विष्णु गौतम

ट्रायथलनमा नेपाललाई २ स्वर्णसहित ६ पदक

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ। तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।

ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा नेपालका सोनी गुरुङले स्वर्ण जितिन भने दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले नेपाललाई एक स्वर्ण दिलाएका थिए।

त्यसैगरि दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा लक्षमण मल्ल र सोही विधाको महिलातर्फ हुमी बुढा मगरले नेपाललाई रजत पदक दिलाएका छन्। साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरेको थियो।

त्यस्तै पुरुषतर्फको स्प्रिन्ट विधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाए। योसँगै नेपालले ट्रायथलनमा कुल ६ पदक प्राप्त गरेको छ।

नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक हात पारेको छ। त्यसैगरि श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदकमा चित्त बुझाएको छ। कुल ५ स्वर्ण सहित १५ पदकका लागि साग अन्तर्गतको ट्रायथलनमा तीन देशको सहभागिता रहेको थियो।

बुधवार भएको मिक्स टिम रिले ट्रायथलनमा भारतको तर्फबाट प्रग्न्या मोहन, एमएस आदर्श, सोरोजिनी देवी थाउदम र विश्वरंजित साइखोमले सहभागिता जनाएका थिए। नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुले सहभागिता गरेका थिए। त्यसैगरि श्रीलंकाको तर्फबाट पुभिनी काहान्दावाला, आशंका निलवीरा, गयाना दाशनाएके र छलका विक्रमारच्चीको सहभागिता थियो।

भारतको टिमले निर्धारित दुरी १ घण्टा ३५ मिनेट २० सेकेण्डमा पार गर्दै स्वर्ण पदक हासिल गरेको छ। त्यस्तै नेपालले १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गर्न सफल भएको थियो। श्रीलंकाको टिमले १ घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो। मिक्स टिम रिले ट्रायथलनका लागि ३ सय मिटर दुरीको पौडी, ७.५ किलोमिटरको साइक्लिङ र २.५ किलोमिटर दुरीको दौड तय गरिएको थियो।

ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन्। व्यक्तिगत तर्फबाट पुरस्कार दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।

त्यसैगरी गण्डकी प्रदेशका सांसद दिपक कोईरालाले समेत पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन्। उनले स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।

पदक वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गरेका थिए।

१३ औं सागको ट्रायथलनमा नेपालले विगतको तुलनामा निकै राम्रो खेल देखाएको थियो। खेल सामाग्रीको अभावमा पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका हुन्। यस अघिको १२ औं सागको ट्रायथलनमा नेपाललाई १ रजत र १ कास्य मात्र हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell