PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

उस्सुमा लफडादेखि 'हुटिङ कुटनीति' {साग ब्लग ४}



मुकुन्द घिमिरे

उस्सुमा लफडादेखि 'हुटिङ कुटनीति' {साग ब्लग ४}

आज लाइन क्लियर थियो। सागको खेलहरु तुलनात्मक रुपमा कम जुधेको। त्यसैले साइक्लिङ र फुटबलमा सहकर्मी प्रविन रानाभाट जाने, एथ्लेटिक्स, उसु, तेक्वान्दो र कराँतेमा समर्थ र म जाने सल्लाह मिल्यो। योजना त पहिला दशरथ रंगशालामा हुने एथ्लेटिक्स र लगनखेलस्थित नेपाल आर्मीको शारीरिक प्रशिक्षण केन्द्रमा हुने उसु हेरेर सातदोबाटो जाने थियो। तर, एथलेटिक्स र उसु एकैपटक ९ बजेबाट शुरु हुने भएपछि हामी बाँडिएर जाने निर्णय गर्‍यौ।

करिब ९:३० मा लगनखेल पुगेँ। जामको त कुरै नगरौं, सधैंको कुरा।

उसुको प्रतिस्पर्धा चलिरहेको थियो त्यहाँ। खेलाडीहरु पदक जित्ने होडमा थिए। पहिला श्रीलंका, पछि नेपाल र त्यसपछि भारतका खेलाडीले प्रदर्शन गरिरहेका थिए।

श्रीलंकाका खेलाडीले ९ दशमलब २१ अंक पाएसँगै समर्थक र अरु देशका अफिसियल असन्तुष्ट देखिए। माहोल त्यत्तिकैमा धेरै बिग्रिसकेको थिएन।

माहोल चाहिँ तब बिग्रियो जब नेपाली खेलाडी हरिप्रसाद गोलेले ९ अंकमात्र पाए। समर्थक आक्रोशमा हुँदाहुँदै आयोजकले भारतका खेलाडीलाई पनि मौका दिए। भारतका खेलाडीले प्रदर्शन गरुन्जेल माहोल शान्त थियो।

तर, उत्कृष्ट प्रदर्शन गरेका भारतीय खेलाडीलाई पनि ९ दशमलब १५ अंक मात्र दिइयो। यो देख्दा भारतका अफिसियललाई पनि चित्त बुझेन। असह्य भएपछि उनीहरु विरोधमा उत्रिए। समर्थक त पहिल्यै आक्रोशित थिए। उनीहरुले पानीका बोतलले नै हिर्काउन पो थाले। धत्! संस्कार चाहिँ गुमाएकै हो समर्थकले।

त्यतिकैमा नेपाली अफिसियलले पनि हो मा हो मिलाउन थाले। माहोल अशान्त बन्दै गयो। एकजना अफिसियल त धर्नामा नै बसे, सायद उनी भारतीय टिमका अफिसियल थिए। मैले राम्ररी ठम्याउन सकिन। एकछिनमा प्रहरीले उनलाई त्यहाँबाट हटायो।

आधा घन्टा अवरुद्ध। खेल पुन सुचारु भयो। नेपालका दीपक हमालले प्रदर्शन गरेसँगै सहकर्मी समर्थ त्यहाँ आइपुगे। र, म हिँडे सातदोबाटोमा कराँते हेर्न।

म सात दोबाटो नपुग्दै कराँतेमा नेपालले स्वर्ण पदक हात पारिसकेको थियो। र, नेपाललाई स्वर्ण दिलाएकी थिइन् अनुपमा मगरले।

उनीसँग कुराकानी भयो। जति ठूलो पदक उनले हात पारेकी थिइन त्यति नै ठूलो संघर्ष रहेछ उनको जीवनको। जनयुद्धकालमा गोली बोकेर हिँडेको समयदेखि आजको दिनसम्म आइपुग्दा धेरै संघर्ष गरेकी रहिछन् उनले। आफ्नो उपाधी आमालाई 'डेडिकेट' गरेको बताउने उनले एसियाली खेलमा स्वर्ण हात पार्ने लक्ष्यमा राखिसकेकी रहिछिन्।

एकैछिन कराँते नै हेर्दै गर्दा भेटिए मुख्य प्रशिक्षक मदन उप्रेती। सागमा कराँतेको खेल शुरु भएको दिनदेखि नै मख्ख परेर बस्ने उनको 'मुड' आज खासै राम्रो देखिएको थिएन। यसो कुराकानी गर्दै लाँदा आजको प्रदर्शनबाट उनी सन्तुष्ट रहेनछन्। विशेष गरी टिम इभेन्टमा उनको चित्त बुझेको रहेनछ।

तर, समग्र कराँतेको प्रदर्शनमा भने उनी सन्तुष्ट थिए। 'यत्रो उपाधि जित्दा पनि चित्त नबुझ्ने भन्ने हुन्छ र?,' सारै सकसक लाग्यो मैले प्रश्न तेर्साइहालेँ।

'समग्रमा त राम्रो भ'को हो। तर, टिम इभेन्टमा जित्नुको सान अर्कै हुन्छ के,' उनको रिप्लाइ।

उनी उठेर खेलाडी भएतिर गए। म लागेँ मिडिया सेन्टरतिर।

मिडिया सेन्टर पुग्दा खोखो हेर्न जाने चर्चा चल्यो। तर, धेरै ढिला भएकाले त्यहाँ नजाने भइयो। यतिकैमा पोखरामा महिला टिम फराकिलो अन्तरले पराजित भएको खबर आयो, क्रिकेटमा। फेरि साइक्लिङमा नेपालले स्वर्ण जितेको खबर आयो। त्यतिबेलासम्म सहकर्मी प्रविनले साइक्लिङको फोटोफिचर सहितको समाचार बनाइसकेको थियो। मैले धेरै खोजविन गर्नै परेन।

दुई बजे पुगेँ तेक्वान्दो हेर्न। त्यहाँ सेमिफाइनल र फाइनलका खेलहरु हुँदै थिए। मिडिया सेन्टरमा ५ जना बसेपछि पहिलै भरिसकेको रहेछ। पछाडि पाकिस्तानी खेलाडीसँग बस्नुपर्‍यो।

त्यहाँ पुग्दा उसुमा पानीको बोतलले हानेको कारण कराँतेमा पनि पानीको बोतल लैजान दिएनन् भनेर चर्चा चल्दै थियो। तर, त्यहाँकै माहोल यति रमाइलो थियो कि दायाँवायाँ सोच नै नआउने।

तेक्वान्दोमा माहोल अर्कै थियो। भारत र पाकिस्तानको 'काउन्टर'मा हुटिङ चलिरहेको थियो। पाकिस्तानीहरु 'मासल्ला' भन्दै हुटिङ गर्थे भारतीयहरु 'हरहर महादेव' भन्दै काउन्टर दिइहाल्थे।

पाकिस्तानकी अनिला आयसा र भारतकी कि लतिका खेलिरहँदा त खेलले भन्दा हुटिङले धेरैको ध्यान खिचेको थियो। पाकिस्तानी खेलाडीले अंक पाउँदा 'अल्लाह अकवर, मासल्ला, नारे तकवीर अल्लाहु अकवर' लगायतका हुटिङ लगाउने भारतीय खेलाडीले अंक पाउँदा 'हरहर महादेव, छत्रपति महाराजकी जय, भारत माताकी जय' जस्ता हुटिङ लगाउँथे।

स्वतन्त्र भएपछि कहिल्यै सुमुधर सम्बन्ध राम्रो नभएका यी दुई देशबीचको 'हुटिङ कुटनीति' हेर्न लायक थियो। मैले चाहिँ खेल र हुटिङको दोहोरी बराबरी 'इन्जोए' गरेँ।

फाइनलमा नेपाली खेलाडीले पनि स्वर्ण जिते। अन्तिममा सक्षम कार्कीले गोल गरेपछि आजको तेक्वान्दो सुखद् बन्यो। मलाई हतारो थियो, फुटबल हेर्ने।

त्यहाँबाट हतारहतार निस्किएँ त्रिपुरेश्वरतर्फ। जाम यस्तो थियो कि झन्डै १ घन्टा नै लाग्यो। म रंगशाला परिसरमा आइपुग्दा खेल शुरु भइसकेको थियो। रंगशालामा पुरानै समस्या थियो, पार्किङको।

उद्घाटनका दिन रंगशाला छैवैमा टुँडिखेलपट्टी पार्किङ पाइएको थियो। दोस्रो दिन त्यसभन्दा अलि बाहिर। आज त पस्नै पाइएन। टुँडिखेलमा राखेर जाउँ कि जस्तो लागेको थियो। फेरि अफिसमै गएर टेलिभिजनमा हेर्ने विचार गरेँ। प्रविन फुटबलमा पुगिसकेको थियो।

फेरि रंगशाला परिसरमा पार्किङको कथा सुनेको थिएँ खास्स खुस्स। साग उद्घाटनका दिन सहकर्मी समर्थको हेल्मेट हराएको थियो। भोलिपल्ट यसो रंगशालामा गसिप सुन्दा त धेरै जनाको हेल्मेट हराएको थाहा भयो। त्यसमा एकजना प्रहरीका ठूलै पोस्टका मान्छेको पनि हेल्मेट हराएको हल्ला सुनियो। तर के हो धेरै चासो चाहिँ दिइएन। थाहा पनि भएन। हेलमेट असुरक्षित छ भन्ने चाहिँ थाहा पाइएको थियो।

अफिस आएर टेलिभिजनमा फुटबल हेरियो। श्रीलंकाको खेल अत्यन्त राम्रो लाग्यो। विशेषगरी पासमा श्रीलंका अब्बल। जित निकालेको भए नेपालका लागि त राम्रो थियो नै। दोस्रो हाफको अन्तिममा चाहिँ एउटा लाग्नैपर्ने गोल मिस भएको भन्ने लाग्यो। तर, अन्तिम समयमा श्रीलंकाले उत्कृष्ट फ्रिकिक हान्दै खेल बराबरीमा ल्यायो। जितको माहोल सेलायो। जे होस् प्रतिस्पर्धात्मक खेल नेपालले १–१ को बराबरीमा टुङ्गियो।

यता नेपाल सागमा पदक संख्या बढाएको बढाइ छ। 'आजै इतिहास तोडौला' जस्तो गरेर स्वर्ण पदक ल्याइरहेको छ नेपालले। घरेलु मैदानले पनि धेरै सपोर्ट गरेर होला अघिल्लो सागको भन्दा झन्डै १० गुणा बढी पदक पुर्‍याउन लागेको छ। लाग्छ ५० स्वर्णको लक्ष्य पूरा गरेरै छाड्ने होडमा लागि परेको छ नेपाल।

यही तरिकाले स्वर्ण ल्याउने हो भने नेपलले ५० स्वर्ण पुर्‍याउला भन्ने कम्तीमा मलाई चाहिँ लाग्न थालेको छ। अगाडि 'भोलि' छँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell