PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

मैथिली सभ्यताको केन्द्रबिन्दु जनकपुरमा अस्तित्व गुमाउँदै ऐतिहासिक पोखरीः सरसफाइ छैन, बन्दैछन् डम्पिङ साइट



पहिलोपोस्ट

मैथिली सभ्यताको केन्द्रबिन्दु जनकपुरमा अस्तित्व गुमाउँदै ऐतिहासिक पोखरीः सरसफाइ छैन, बन्दैछन् डम्पिङ साइट

  • सुमित मिश्र-

जनकपुरधाम: जनकपुरधाम धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले देशभर प्रख्यात रहेको छ। प्राचीन मिथिलाको राजधानी रहेको यो क्षेत्र हाल प्रदेश नम्बर २ को राजधानी हो। जनकपुरधाम मैथिली सभ्यताको केन्द्रबिन्दु रूपमा रहेको छ। जनकपुरधाममा ५२ कुटी (मठ मन्दिर) र ७२ कुण्ड (पोखरी) छन्।

जनकपुरका विभिन्न स्थानमा मठ मन्दिर र पोखरीहरू रहेको भए तापनि धेरै पोखरीको अस्तित्व समाप्त भइसकेको छ भने धेरैको समाप्त हुने अवस्थामा पुगेका छन्। बिहार कुण्ड, अग्नि कुण्ड, रत्न सागर, सूर्य कुण्ड, पापमोचनी सर, परशुराम कुण्ड, रुक्मिणी सर, मुरली सर, तेलहा–मरहा, गंगा सागर, अरगज्जा सागर, दशरथ तलाउ जनकपुरधामका महत्त्वपूर्ण पोखरी हुन्। यहाँ रहेको हरेक पोखरीको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्त्व रहेको छ।

जनकपुरधामको मध्य भागमा रहेको धनुष सागर, गंगा सागर र अंगराज सर पोखरीहरूमा महिनाको पूर्णिमा तिथिको दिन श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। यसबाहेक अन्य धार्मिक उत्सवहरूमा समेत यी पोखरीहरूमा ठुलो सङ्ख्यामा श्रद्धालु पुग्ने गर्दछन्। गंगा सागर, धनुष सागर र अंगराज सर पोखरीमा स्नान गरेर जानकी मन्दिर र राम मन्दिरमा श्रद्धालुहरूले पूजा गर्दा हरेक पापबाट मुक्ति पाउने जनविश्वास रहेको छ।

त्यस्तै जानकी मन्दिरभन्दा पश्चिममा रहेको महाराज सागरको छुट्टै महत्त्व छ। जेठ महिनामा हुने गङ्गा दशहारामा यहाँ तीर्थालुहरू स्नान गरी जानकी मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन्। पोखरी र कुण्ड जनकपुरधाममा अधिक मात्रामा रहेकोले जनकपुरधामको माछा नेपालभरिमै प्रख्यात छ। यहाँको प्रमुख व्यवसाय मध्ये एक हो माछापालन। अत्यधिक सङ्ख्यामा रहेका पोखरीहरूले वातावरणीय सन्तुलन बनाउनसमेत सहयोग पुर्‍याइरहेका छन्। अधिकांश समय गर्मी हुने जनकपुरको तापक्रमलाई समेत केही हदसम्म नियन्त्रण गर्न मद्दत गरेका छन् यहाँका पोखरीले।

तर, जनकपुरका गंगा सागर, धनुष सागर, अंगराज सागर लगायतका केही पोखरीबाहेक अन्य पोखरी सरसफाइ अभावमा अस्तित्व नै गुमाउने अवस्थामा पुगेका छन्। पोखरीको सौन्दर्यकरण तथा सरसफाइ गर्नुको साटो डम्पिङ साइटमा परिणत भएपछि दुर्गन्धित हुँदै गएका छन्।

स्थानीयसहित सम्बन्धित सरोकारवालाले पोखरीको सौन्दर्यकरण तथा सरसफाइप्रति ध्यान नदिँदा धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका मठमन्दिर र पोखरीहरू अब इतिहासमा मात्रै सीमित हुने देखिन्छ। पोखरीमा घरको फोहोरमैला लगायत मलमुत्र खन्याउने गरेकोले पोखरीहरुको अस्तित्व नै खतरामा पुगेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने प्रशान्त झाले बताए।

उनले भने, ‘पोखरीको संरक्षण गर्नुको साटो आफ्नो घरको फोहोेर पनि पोखरीमै राखेपछि पोखरीको अस्तित्व नै धरापमा पर्ने अवस्थामा आइसकेको छ। पोखरीलाई दुर्गन्धित मात्र नगरेर पोखरीको डिलमाथि अतिक्रमण समेत गर्ने गरिएको छ।’

जनकपुरका अधिकांश पोखरी दुर्गन्धित भए तापनि केही पोखरीहरूमा भने पर्यटकहरू लोभिने गरेका छन्। कुनै समय दुर्गन्धित अवस्थामा रहेको गंगा सागर पोखरीको सरसफाइ भएपछि अहिले यो पोखरी जनकपुरधाम आउने पर्यटकहरुका लागि मुख्य गन्तव्यस्थल बनेको छ। सेभ हिस्टोरीकल जनकपुरका अध्यक्ष एवं प्रदेशसभा सदस्य रामआशीष यादवको अगुवाइमा गंगा सागर पोखरीको सरसफाइ भएपछि यहाँ प्रत्येक साँझ हुने गरेको महागंगा आरती पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र बनेको हो।

मानिसको खराब प्रवृत्तिको कारणले दिनानुदिन पोखरीहरूको अवस्था बिग्रिँदै गएको जनकपुरधाम वडा नम्बर १० का सुशील कर्णले बताए।

उनी भन्छन्, ‘जबसम्म पोखरीहरू हामी सबैका साझा सम्पत्ति हो र यसको संरक्षण गर्नु हाम्रो दायित्व हो भन्ने सोच प्रत्येक मानिसमा आउँदैन तबसम्म कुनै पनि हालतमा पोखरीको संरक्षण हुन सक्दैन।’

यता, पोखरीको सरसफाइ तथा सौन्दर्यकरण गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले उपमहानगरसँग सहकार्य गरेर जनकपुर उपमहानगर परिक्रमा सडकभित्र रहेको पोखरीलाई सौन्दर्यकरण गर्न करिब एक अर्ब बराबरको टेन्डर गरेको थियो। तर अहिले  संघीय सरकारले त्यसलाई रद्द गरेको उपप्रमुख रिता कुमारी मिश्रले बताइन्।

जनकपुर टाउन प्रोफाइल २०४८ मा उल्लेख भएअनुसार यहाँ अहिले ५८ सार्वजनिक पोखरी र अन्य माछापालन, मखाना, सिंघारा आदि खेती गर्ने प्रयोजनका लागि ४० हेक्टर जग्गामा कुल ८० पोखरी रहेको उल्लेख छ। जसमध्ये २५ प्रतिशत पोखरी मात्रै ठिक अवस्थामा छन्। बाँकी ४३ प्रतिशत नराम्रो अवस्थामा तथा ३२ प्रतिशत पोखरीले आफ्नो अस्तित्व गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell