सुर्खेत : कर्णाली प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनमा थप विद्युत् उत्पादन गर्ने योजना अघि सारेको छ। संघीय सरकार मातहत रहेको आयोजनाको करिब ४८ मेघावाट विद्युत् उत्पादनमै पूर्ण लगानी गर्न खोजेको कर्णाली सरकारले बाँधबाटै भए पनि थप विद्युत उत्पादनको औपचारिक प्रक्रिया थालेको छ।
आयोजनाबाट उत्पादन हुने करिब ४८ मेघावाट विद्युत् उत्पादन प्रभावित नहुने गरी आयोजना स्थलमा बाँधको दायाँतर्फबाट प्रदेश सरकारले नौ देखि १२ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अनुसार आवश्यक प्रक्रिया अघि बढाएको हो। सोही आयोजनाका लागि प्रदेश सरकारका तर्फबाट भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई सञ्चालक समितिको प्रतिनिधि समेत तोकिएको प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताइन्।
‘आयोजनाबाट उत्पादन हुने ४८ मेघावाट विद्युतमा पूर्ण लगानी गर्छाैँ भन्ने प्रदेश सरकारको थियो’, उनले भनिन्, ‘त्यहाँ पूर्ण लगानी गर्ने वातावरण बनेन्, थोरै लगानी गर्ने भएका छौँ। आयोजनाको बाँधबाट थप विद्युत उत्पादन गर्न सकिने देखिपछि हामीले लगानी गर्ने तयारी गरेका हौँ। त्यसका लागि प्रदेश सरकारका तर्फबाट आयोजना सञ्चालक समितिको प्रतिनिधिका रुपमा भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई तोकेका छौँ।’
उक्त आयोजनाको सम्भाव्यता अध्ययन, लागत अनुमान र विस्तृत परियोजना अध्ययन संघ मातहत रहेको आयोजनाबाटै गरी प्रतिवेदन आफूलाई उपलब्ध गराइदिन केन्द्र सरकारलाई आग्रह गरिएको प्रवक्ता केसीको भनाई छ।
प्रदेश सरकारले निर्माण गर्ने आयोजनाका लागि चालु वर्षमा वित्तीय व्यवस्थापन अन्तर्गत दुई अर्ब रुपैयाँ विनियोजन गरिएको र अध्ययन प्रतिवेदन अनुसार बजेट थप गर्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
‘चालु आर्थिक वर्षको वित्तीय व्यवस्थापन अन्तर्गत दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ। विस्तृत परियोजना प्रतिवेदन आइसक्यो लागत योजना अनुसार बजेट थप हुन्छ,’ उनले भने।
विस २०७१ चैतमा शिलान्यास गरी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको छ। तोकिएको समयभन्दा एक वर्ष अगावै १२ किलोमिटर सुरुङ छिचोलिएको आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण तथा पावर हाउसको काम भइरहेको छ। यसका लागि चाइनिज कम्पनी ग्वाङडङ यून्टिन तथा रमण जेभीसँग ६ अर्ब १६ करोड ५२ लाखमा सम्झौता गरी काम अघि बढाइएको छ।
भेरीगंगा नगरपालिकाको चिप्लेस्थित भेरी नदीमा झण्डै १३ मिटर अग्लो बाँध निर्माण गरी ४० क्युसेक पानी सुरुङमार्फत बबईमा झारिने छ। सुख्खायाममा पनि भेरी नदीमा झण्डै ७६ क्युसेक पानी रहने भन्दै आयोजनाले बाँधबाटै थप विद्युत निकाल्न सकिने प्रारम्भिक अध्ययन गरेको आयोजनाका निर्देशक सञ्जीव बरालले बताए। प्रारम्भिक अध्ययन अनुसार बाँधको दायाँतर्फबाट मुख्य आयोजना प्रभावित नहुने गरी थप ९ देखि १२ मेघावाट विद्युत् उत्पादन गर्न सकिने उनको भनाई छ।
‘न्युनतम पानी घटेको समयमा पनि ७६ क्युसेक पानी नदीमा हुन्छ। सुरुङमार्फत ४० क्युसेक पानी मात्रै लाने हो। पानी आखिर नदीमै बगेर जान्छ। त्यसो भएर बाँध बनिराखेकै हुन्छ, बाँधको दायाँतर्फबाट सानो क्यानल बनाएर लो हेडपावरको १० देखि १२ मेघावाट विद्युत किन ननिकाल्ने त भनेर हामीले प्रारम्भिक अध्ययन गरेका छौँ’, उनले भने, ‘प्रदेश सरकार बनाउँछौँ भनेर लागिपरेको छ। यसै आर्थिक वर्षमा हामीले विस्तृत अध्ययन गर्नेछौँ। कस्तो खालको आयोजना हुन्छ, लागत कति लाग्ने हो, कति उपयुक्त हुने हो, यी विषयमा पछि अध्ययन प्रतिवेदनले देखाउँछ।’
जुनसुकै समयमा पनि दुवै आयोजनाका लागि पानीको अभाव नहुने उनको भनाई छ। विभिन्न निकायमा जानकारी गराएसँगै प्रदेश सरकारले निर्माण गर्ने योजना अघि सारेको हो। बाँधबाट थप विद्युत् उत्पादन गर्ने प्रदेश सरकारको योजना सफल भए कर्णालीबासीलाई प्रत्यक्ष लाभ पुग्नेछ। आयोजनाको बाँध र पावर हाउस निर्माण कार्य सकेर २०८० सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ।