
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको उसु खेल विवादरहित हुन सकेको छैन।
पुरुष उसु तर्फ भएको खेलमा म्याच रेफ्रीका निर्णयका कारण बुधवार विवाद भएको थियो। आज महिला तर्फ भएको खेलमा पनि रेफ्रीकै निर्णय विवादमा पर्यो।
आज भएको खेलमा नेपाली खेलाडी मीना ग्लानलाई रेफ्रीले कम अंक दिएपछि नेपाली पक्ष असन्तुष्ट भएको हो।
रेफ्रीले श्रीलंकाली खेलाडी गुण सकेरालाई ९.४२ अंक दिँदा मीनालाई ९.२७ अंक दिएका थिए।
तर, नेपाली उसु टोलीका प्रशिक्षक मोहनबहादुर पाण्डेले भने आर्थिक प्रलोभनमा नेपाललाई पराजित गरिएको आरोप लगाएका छन्। उनले रेफ्रीको निर्णयविरुद्ध अपील गर्ने समेत बताए।
खेलमा मीना नै प्रथम भएको दाबी गर्दै उनले भने, 'मीनाले जितेकै हो। श्रीलंकाको टेक्निकल कमिटीको चेयरम्यानले पैसा खुवाएर मेडल दिलाएकै हो। यस विरुद्ध हामी अपील गर्दैछौं।'
पढ्नुस : सागमा उसुको लागि मीनाको तयारी
उसुका खेलमा श्रीलंकाको समर्थनमा रेफ्रीहरु देखिएको भन्दै उनले जितिरहेको खेलमा नेपालाई पराजित गरिएको उनले आरोप लगाए। हिजो पनि रेफ्रीको निर्णयका विवादमा परेको थियो।
बुधवार भएको खेलमा रेफ्रीले श्रीलंकालाई बढी अंक प्रदान गरेको भन्दै भारत र नेपालका प्रतिनिधिहरुले विरोध गरेका थिए। रेफ्रीले श्रीलंकालाई स्वर्ण, भारतलाई रजत र नेपालाई कास्य दिएका थिए। तर, प्रशिक्षकहरुले भने भारतले स्वर्ण,नेपालले रजत र बंगलादेशले कास्य पाउनुपर्ने बताएका थिए। सबैभन्दा कमजोर प्रदशर्न गरेकालाई स्वर्ण दिने प्रयास भएको भन्दै उनीहरुले खेल भइरहेको स्थानमा नै धर्ना दिएका थिए। भारतीय अफिसियलले रेफ्रीको उक्त निर्णयको विरोध गर्दै पदक वितरण समारोह नै बहिस्कार गरेको थियो।