
- कृष्ण दवाडी –
कास्की : कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन किनकि यसले नयाँ इतिहास बनाएको थियो। नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो।
भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको हो। सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको थियो। घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदकमा हासिल गर्न सफल भए।
अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भयो। उनले दुई वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्ण पदकको सपना देख्न थालेका थिए। नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘टर्निङ प्वाइन्ट बन्यो। राष्ट्रिय खेलकूदमा उनले डुआथोलन र माउन्टेन बाइक क्रस कन्ट्री दुवै खेलमा सहभागिता जनाए। एक दिनको अन्तरमा भएका दुवै प्रतियोगितामा उनले राम्रो प्रदर्शन गर्न सकेनन्। सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए।
राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न लगत्तै टमाटा डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुगेका थिए। उनी सागमा स्वर्ण जित्ने लक्ष्यसहित हरेक दिन अभ्यासमा व्यस्त हुन थाले। दौड र साइक्लिङमा उनको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ प्रेरित गरिरहे।
'राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुपर्छ भन्ने मलाई लाग्यो। त्यस बेलादेखि नै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ,' टमाटाले भने।
सागमा स्वर्ण हासिल गरेलगत्तै उनले हरेक चार वर्षमा आयोजना हुने एसियाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गरिसकेका छन्। चीनमा सन् २०२२ मा तय भएको एशियाड प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने उनको धोको छ।
'कठिन अवस्थामा समेत म कहिल्यै हतास र निराश हुन्न। मानिसले लक्ष्य ठूलो राख्नुपर्छ। लक्ष्य अनुसारको मेहनत र परिश्रम गर्य भने असम्भव केही पनि छैन। अब देशलाई एशियन गेममा पदक हासिल गराउने अब मेरो सपना छ,' उनले भने।
सागको तयारीका क्रममा समेत धेरै चुनौती उनले सामना गर्नुपरेको थियो। उनलाई अभ्यासका क्रममा नयाँ साइकल आउने भनिएको थियो। प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन। राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएका अन्य स्पर्धीसँग उनी सन् २०१४ मोडलको पुरानै साइकल लिएर होमिन विवश भए। त्यतिमात्र होइन खेलमा लगाउने पोशाकसमेत उनले समयै पाएनन्। प्रतियोगिताको एकदुई दिनअघि आएको पोशाक उनको शरीरमा मिलेन।
'साथीको मागेर खेलमा भाग लिएँ। हाम्रो साइकल पाँच छ वर्ष पुरानो आल्मुनियमको हो। कार्बनको राम्रो साइकल भएकाहरुसँग स्पर्धा गर्न कठिन भए पनि आत्मबलकै कारणले जित हासिल भयो,' उनले भने।
उनी १४/१५ वर्षका उमेरदेखि नै खेलकूदमा सक्रिय रहे। दौड र कराँतेमा उनको विशेष लगाव।विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा पाँच र १० किमी दौडमा उनी भाग लिइरहन्थे। नेपाली सेनामा भर्ती भएपछि उनले खेल्ने वातावरण अझै अनुकूल पाए। नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सधैँ प्रेरित गरिरहे।
शुरुमा साइकल राम्रोसँग डोहोर्याउनसमेत नजान्ने उनलाई चन्दले नै साइकल चलाउन सिकाएका थिए।
'मैले जुन सफलता पाएको छु, त्यसमा मेजर राजीव चन्दको ठूलो योगदान छ। उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो। खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,' उनले भने।