PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

लक्ष्यभन्दा ६३ अर्ब ७० करोड कम सरकारको आम्दानी!



खेमराज श्रेष्ठ

लक्ष्यभन्दा ६३ अर्ब ७० करोड कम सरकारको आम्दानी!

काठमाडौं : राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ। सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो।

यस अवधिमा २ खर्ब ३२ अर्ब २४ करोड राजस्व संकलन भएको छ। जसमा भन्सार कार्यालयहरूबाट १ खर्ब २२ अर्ब ७८ लाख राजस्व संकलन भएको छ। यो लक्ष्य भन्दा २७.८९ प्रतिशतले कम हो।

यसैगरी प्रथम चौमासिकमा आन्तरिक राजस्व कार्यालयहरूमा १ खर्ब ६ अर्ब १४ करोड ८५ लाख रूपैंयाँ राजस्व असुली भएको छ। जुन लक्ष्यभन्दा १९ अर्बले कम हो। आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार पहिलो चौमासिकमा आयकरबाट ३४ अर्ब २८ करोड १८ लाख ८३ हजार राजस्व असुल गरेको छ। यस्तै घरबहाल करबाट ८९ करोड ८५ लाख रूपैंयाँ असुल भएको छ।

यस्तै ब्याज करबाट ९ अर्ब ५७ करोड असुली भएको छ। यस्तै सबैभन्दा धेरै मूल्य अभिबृद्धि कर (भ्याट) तर्फ ३५ अर्ब ६४ करोड राजस्व असुली भएको छ। यो लक्ष्यभन्दा करिब ६ प्रतिशतले कम हो। यस्तै अन्तःशुल्क लक्ष्यभन्दा २७ प्रतिशत कम असुली भएको छ। प्रथम चौमासिकमा अन्तःशुल्क असुली २४ अर्ब ५३ करोड राजस्व संकलन भएको छ। स्वास्थ्य क्षेत्रबाट ९४ करोड १७ लाख र शिक्षा क्षेत्रबाट २७ करोड ९ लाख राजस्व असुली भएको छ।

समग्र राजस्वमा संकलनको अवस्था हेर्दा सबैभन्दा धेरै भ्याट ३३ प्रतिशत छ। यस्तै दोस्रोमा भन्सार महसुल २० प्रतिशत छ। आयकर र अन्तशुल्क समान १७ प्रतिशत असुल भएको छ। यस्तै गैरकर १० प्रतिशत संकलन हुँदा अन्य शीर्षकमा ३ प्रतिशत राजस्व असुल भएको छ।

आयकर संकलनमा सुधार

सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि आयकर संकलनमा वृद्धि भएको छ। चालु आवको प्रथम चौमिसकमा गत वर्षभन्दा २५.५ प्रतिशत बढी आयकर संकलन भएको छ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्षको असारसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ७२ हजार ३ सय ८३ थियो। चालू आवको प्रथम चौमासिकमा यो संख्या ३४.८ प्रतिशतले वृद्धि भएर करदाताको संख्या २९ लाख २७ हजार ८ सय ३६ पुगेको छ।

यी करदाताबाट सरकारले ४ महिनामा ३४ अर्ब २८ करोड १८ लाख ८३ हजार राजस्व संकलन गरेको छ। यो सरकारले लिएको चौमासिक लक्ष्यभन्दा १०.७ प्रतिशतले कम हो।

सरकारले बहाल कर ब्याजकर र आम्दानी करलाई एकै ठाउँमा राखेको छ। जसको हिस्सा चौमासिक असुलीको १७ प्रतिशत रहेको छ।

यस्तै प्रथम चौमासिकमा व्यवसायिक स्थायी नम्बर लिने करदाता संख्या १२ लाख ८४ हजार १७ पुगेका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ६ लाख ४१ हजार ६ सय ४४ पुगेका छन्।

चालु आवको पहिलो चौमासिकमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता को संख्या ६ लाख ४८ हजार ५ सय ६४ ले थप भएका छन्। यसैगरी मूल्य असभवृदि करमा दर्ता भएका करदाता २ लाख ७ हजार ६ सय ८५ पुगेका छन्। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा मात्र २३ हजार ९ सय १५ नयाँ करदाताहरू मूल्य अभिवृद्धि करमा दर्ता भएका छन्। यस्तै अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या ९१ हजार ८ सय ४६ पुगेको छ।

आयात कम हुँदा राजस्वमा असर

सरकारले राजस्व संकलनको लक्ष्यमा आयातले ठूलो प्रभाव पारेको जनाएको छ। अर्थ मन्त्रालयका अनुसार सिमेन्ट क्लिंकर, डिजेल-पेट्रोल र जुस लगायतको आयात घट्दा राजस्व संकलनमा प्रभाव देखिएको हो। आयात कम हुँदा डराउनु पर्ने स्थिति भने नरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए।

लक्ष्यभन्दा पनि गत वर्षको तुलनामा राजस्व संकलन २२ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व विभागका निर्देशक विनोद कुँवरले बताए।

'स्थायी लेखा नम्बर लिनेको संख्या बढेको छ,' उनले भने, 'हामीले लक्ष्यभन्दा पनि गत वर्षको तुलनामा राजस्वको दर बढाइरहेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell