
डोटी : शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो।
उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाएका छन्। हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए।
उनले भने, 'घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफ्नो काम थाल्ने छ।'
शरीरमा आगो लागेपछि गत मंसिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुर्याइएको थियो। उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई पहिले सेती प्रादेशिक अस्पताल कैलाली र पछि भारतको बरेली लगिएको थियो। बरेली अस्पतालले उनको स्वास्थ्यावस्थामा सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उनको मृत्यु भएको थियो।
भावना र शर्माबीच दुई वर्षअघि मात्रै विवाह भएको उनको घरपरिवारले जनाएको छ।