PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कालापानी मुद्दा अन्तर्राष्ट्रियकरण गर्न हतार नगरौं : प्रचण्ड



एम बम

कालापानी मुद्दा अन्तर्राष्ट्रियकरण गर्न हतार नगरौं : प्रचण्ड

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानीको विषयलाई सकेसम्म राजनीतिक र कूटनीतिक तवरबाट समाधान गर्नुपर्ने बताएका छन्।

सुदूरपश्चिममा आयोजना हुने वित्तीय सम्मेलनको उद्घाटनका लागि धनगढी आइपुगेका प्रचण्डले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

'मैले अन्य कुनै दृष्टिकोणले यस्तो भनेको होइन, यो मुद्दा अन्तरार्ष्ट्रियकरण भयो भने झन् समस्या हुन सक्छ भनेर भनेको हुँ,’प्रचण्डले भने, ‘सकेसम्म यो विषय राजनीतिक र कूटनीतिक तवरबाट समाधान हुनुपर्दछ। यसलाई अहिले नै अन्तर्राष्ट्रियकरण नगरौं।’

उनले सीमा विवाद टुङ्ग्याउन सरकार तदारुकताका साथ लागिपरेको पनि बताए। सरकारले सर्वदलीय बैठक डाकेर बैठकको निर्णय र जनभावना अनुसार अनुसार परराष्ट्र मन्त्रालय मार्फत् भारत सरकारलाई पत्र समेत पठाइसकेकाले सरकारले यसमा केही गरेकै छैन भन्न नमिल्ने बताए।

'सरकारले सर्बदलीय बैठक बोलाएर जन भावना अनुसार नै पत्र पठाएको छ। त्यो पत्र मैले पनि पढेको छु। त्यसकारण यसमा सरकारले केही पनि गरेको छैन भन्न मिल्दैन,’उनले भने।

सीमाकै समस्या समाधानका लागि सरकारको विशेष दूतका रूपमा माधवकुमार नेपाललाई भारत पठाउने विषयमा प्रधानमन्त्री र नेपालकाबीचमा छलफल भएको समेत दाहालले बताए। तर, त्यसका लागि आवश्यक प्रक्रिया, भारत सरकारसँगको हुनुपर्ने पत्राचार, उच्चस्तरको भेटघाटको सुनिश्चितता लगायतका काम भने बाँकी रहेको उनको भनाइ छ।

भारतीय विदेश सचिव श्याम शरण नेपाल आएर नै नेपालका राजनीतिक दलहरुले यो मुद्दालाई राजनीतिकरण गरे भने अलि गम्भीर हनसक्छ भन्नुलाई यहाँले कसरी लिनुभएको छ?

सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'पहिलो कुरा उहाँले कसरी भन्नुभयो भन्ने लागेको छ, एउटा आर्टिकल पनि आयो भन्ने छ। उहाँले ८० लाख नेपालीको कुरा पनि गर्नुभएको छ। त्यो कुरा विल्कुल जायज छैन। श्याम शरण एक कुटनीतिज्ञ मानिन्थे। त्यस्तो मान्छेले यस्तो भाषा प्रयोग गर्ने कुरा कतै शोभनीय छैन। हामीले अरु कुनै राजनीतिकरण गर्न खोजेको छैनौं। हामीले संवाद र राजनीतिका माध्यमबाट हल गर्ने प्रयास गरेका छौं। यसलाई राजनीतिकरण गर्न लागेको भन्ने उहाँले देख्नुभएको छ भने उहाँको दृष्टिदोष हो। नेपाल राष्ट्र एक छ कालापानीको सवालमा। मैले यो कुरा पहिले र पटकपटक भनेको छु। पहिले भएको वार्तामा पनि भारतले स्वीकारेको कुरा भनेको - सुस्ता र कालापानी क्षेत्रको समस्या समाधान भएको छैन। यो समाधान गर्नुपर्छ भन्ने कुरा भारतले पनि स्वीकारेको खण्डमा श्याम शरण जस्तो मान्छेले यसो भन्नु दुःखद् कुरा हो।’

दाहालले मन्त्रिमण्डल पुनर्गठन पछि सरकारका कामले थप गति लिने पनि बताए। नयाँ मन्त्रीहरूले जन भावना अनुसार काम गर्ने पार्टीले अपेक्षा गरेको दाहालको धारणा थियो।

पछिल्लो पटक बसेको सचिवालय बैठकका आधारमा पार्टी अघि बढेको भन्दै उनले उप–निर्वाचनको समीक्षा आउँदो २३ गते बस्ने बैठकबाट गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell