
पोखरा : नेपालकी सञ्जु चौधरीले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलङ्काकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्।
पोखरा महानगरपालिका-१२ माटेपानीस्थित एसआर केसी ब्याङ्क्वेटमा बिहीवारदेखि शुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा कूलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जितेकी छिन्।
प्रतियोगितामा श्रीलङ्काली खेलाडी आरएमएनएस राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा ९० गरी १६० केजी भार बहन गर्दै कास्य पदक जिते। चार देशले भाग लिएकोे सो प्रतियोगितामा पाकिस्तानको पनि सहभागिता रहेको थियो।
एक वर्षअघि मात्र नेपाल प्रहरीमा प्रवेश गरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण पदक जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिइन्। आफूलाई निकै खुसी लागेको र सोचेजस्तो ‘लिफ्ट’ लिन सकेको उनको प्रतिक्रिया थियो।
साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो। दशौँ संस्करणको सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ।
यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो। उक्त समूहमा बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य पदक जित्न सफल भए। भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा १०५ सहित १८१ केजी भार बहन गर्दै स्वर्ण पदक र बंगलादेशकी फूलपोटी चक्माले १४८ तथा पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन्।
बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरेका थिए।
पुरुष भारोत्तोलनमा कास्य पदक
साग खेलकूद प्रतियोगिताअन्तर्गत नेपाल आर्मीका तुलाराम महतोले भारोत्तोलनमा कास्य पदक प्राप्त गरेका छन्। कम्तीमा रजत पदकको आशा गरिएकामा ५५ केजी तौल समूहमा उनी कास्यमा सीमित भएका हुन्। सागको यो पहिलो सहभागितामा उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९८ गरी कुल १७८ केजी भार बहन गरे।
नेपालसहित श्रीलंका र बंगलादेशले मात्र भाग लिएको ५५ केजी तौल समूहमा श्रीलंकाका वाइडिआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत पदक जित्न सफल भए।
कुमाराले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० गरी २३५ किलो भार बहन गर्दै स्वर्ण जितेका हुन् भने रायले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०४ गरी कुल १८४ बहन गरेका हुन्।
त्यसैगरी ६१ केजी तौल समूहमा भारतीय खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन्। सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १४९ गरी २६४ किलो भार बहन गर्दै मात्र १ किलो तौल समूहले श्रीलंकाली खेलाडीलाई पछि पारेका हुन्।
श्रीलंकाका पालुगासिङ्घेले स्क्याचमा ११८ र क्लीन एण्ड जर्कमा १४५ सहित कुल २६३ किलो भार बहन गरेका थिए। बंगलादेशका मोस्टाइन बेलाले कुल २३५ केजी लिफ्ट लिँदै कास्य पदक हात पारे। उनले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० केजी भार बहन गरेका थिए।
संगीताको राष्ट्रिय कीर्तिमान
यसैबीच नेपालकी संगीता राईले १३ साग अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन्। उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरिन्।
यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए।