आज दक्षिण एसियाली खेलकुद (साग)मा सुरुमै खेल तालिका जुधेर यता न उताको भइयो। खेलहरु कि ९ बजे शुरु हुने तालिका थियो। कि ३ बजेकै हाराहरीमा। सहकर्मी प्रविन आज पनि साइक्लिङतिर लागिहाले। साइक्लिङतिर उसको मोह बुझिनसक्नु छ। अभ्यासदेखि लगातारको जितसम्म पछ्याएकै छ उसले। नपच्छ्यावस पनि किन, साइक्लिङका दुई प्रतिस्पर्धामा भाग लिने सबै नेपाली खेलाडीले पदक कब्जा गरे। डाउन हिल र क्रस कन्ट्रीमा पदकजति सबै नेपालकै कब्जा। ऊ साइक्लिङको प्रतिस्पर्धातिर लागेपछि रह्यौं समर्थ र म। समर्थ एथ्लेटिक्सतिर म उसुतिर।
उसुमा हिजोबाट तातेको असन्तुष्टिको माहोल अझै सेलाएको थिएन। आज पनि नेपालले १ स्वर्ण शुरुमै हात पार्यो। नेपालका लागि नीमा घर्ती मगरले स्वर्ण ल्याएसँगै आजको दिनको स्वर्णको उद्घाटन भयो। उनको जित त्यसै पनि महत्वपूर्ण थियो किनभने उनले २ वटा सागमा रेगुलर स्वर्ण जितेकी थिइन्।
उनको पछि पालो आयो मीना गलानको। मीना आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण ल्याएकी मेहनती खेलाडी। पहिल्यै पनि उनको बारेमा लेखिसकेको हुनाले उनको खेल कौशलबारे जानकारी थियो नै। उसुको प्वाइन्ट आउने धेरै गहिरो गरी जानकारी नभए पनि समग्रमा अंक आउने न्युनतम आधारहरु बुझे पनि उनको प्रदर्शनले स्वर्ण ल्याउन नसक्दा रमाइलो लागेन।
उनले प्रदर्शन गरिरहँदा म्युजिकमा समेत समस्या देखा परेको थियो। किन र कसरी चाहिँ थाहा भएन। मीनाले रजत पदकमा चित्त बुझाउनुपर्यो। स्वर्ण जितिन श्रीलंकन् गुण सकेराले। मैले देख्दादेख्दै गलान प्रशिक्षक मोहनविक्रम पाण्डेकहाँ पुगेर रोइन्। गाठी कुरा मैले बुझ्न सकिरहेको थिइन। यो असन्तुष्टि आजकै मात्र पनि थिएन। हिजो पनि श्रीलंकालाई बढी अंक दिएको भन्दै समर्थकहरुले पानीको बोतल नै हानेका थिउ। नेपाल र भारतका अफिसियलले खुला रुपमै विरोधमा उत्रिएका थिए, रेफ्रीको निर्णयलाई लिएर। एकजना धर्नामा बसेका अफिसियललाई त प्रहरी लगाएरै हटाउनु समेत परेको थियो।
उनी प्रशिक्षककहाँ पुगेर रोएको देखेपछि मलाई चासो लाग्नु स्वभाविक थियो। मैले प्रशिक्षक मोहन विक्रम पाण्डेलाई नै भेटेँ। मीनाको खेलमा के कमजोरी भयो र हारिन् जान्न चाहेँ।
प्रशिक्षक पान्डे त आक्रोशित देखिए। उनले रेफ्रीलाई आर्थिक प्रलोभनमा पारेर खेल नतिजा तलमाथि गरेको संगीन आरोपै पो लगाए त।
'मीनाले जितेकै हो। श्रीलंकाको टेक्निकल कमिटीको चेयरम्यानले पैसा खुवाएर मेडल दिलाएकै हो। यस विरुद्ध हामी अपील गर्दैछौं,' एकैछिनमा रेफ्रीको निर्णय विरुद्ध अपील गर्ने कुरा सुनाएर प्रशिक्षक पाण्डे कभर्ड हल छिरे।
त्यस्तै मीना भन्दा अघि स्वर्ण जितेकी नीमा पनि मीनाको नतिजाबाट असन्तुष्ट देखिन्थिन्। ‘खै के भ’को हो यसपटक। हिजो नि यस्तै भ’को थियो। आज पनि उस्तै भयो,’ आफूले स्वर्ण जिते पनि समग्र उसुमा आइरहेको नतिजाप्रति उनको असन्तुष्टि प्रकट भइरहेको थियो।
+++
अरु खेल ४ बजेपछि मात्र हुने जानकारी पाएकाले लागियो सातदोबाटोतिर। पौडी र तेक्वान्दोको रिपोर्टिङ गर्न त्यहाँ पुग्दा पौडीको पहिलो सेसन सकिइसकेको रहेछ। फाइनलका खेलहरु ४ बजेपछि मात्र हुने। त्यसैले तेक्वान्दोमा जान खोजेँ। त्यहाँ पनि २ बजेपछि मात्र सेमिफाइनल र फाइनलका खेल तय रहेछ। बास्केटबल पनि ३ बजे थियो, त्रिपुरेश्वरमा।
‘ओहो! कस्तो सेड्युल जुधेको।’ एक्लै भुतभुताउँदै थिएँ। रीस उठेछ क्यार, पारा देख्दा। अनि लागेँ मिडिया सेन्टरतिर।
दिउँसो त्यस्तै साढे १ बजेतिर यसो गन्ती गर्दा नेपालले ३२ स्वर्ण पुर्याएछ। ओहो! इतिहास। झसङ्ग भएँ। नेपालले १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदमा बनाएको सर्वाधिक ३१ स्वर्णको रेकर्ड त तोडेछ। अफिसमा हेमलाई जानकारी दिएँ। त्यसपछि साथिहरुसँग केही बेर गफगाफ। त्यसपछि लागियो तेक्वान्दोतिर।
सेमिफाइनलमा राम्रो खेलेको थियो नेपालले। तर, फाइनलमा आएर भकाभक पराजित हुन थाले खेलाडीहरु। नेपाल स्वर्णमा उत्साहजनक रुपमा उपलब्धि हात पारिरहँदा आज अन्तिम खेलमा तेक्वान्दोमा रजत ल्याउन पुग्यो, थोरै अंकको फरकमा।
आज पनि मिडियाका लागि छुट्याइएको ठाउँ र पाकिस्तानका खेलाडी बस्ने ठाउँ सँगै थियो। मिडियालाई तोकेको ठाउँ ४ जना बसेपछि भरिहाल्ने! म पुगेँ पाकिस्तानी खेलाडीका छेउमा।
सँगै हेर्न बसेका पाकिस्तानी युवक बकर। हिजो पनि मेरै छेउमा थिए उनी। हिजो सामान्य कुराकानी मात्र भए पनि आज भने गफगाफ राम्रै भयो। इस्लामाबादका ती खेलाडी इस्लामाबाद भन्दा काठमाडौंमा बढी तापक्रम भएको बताउँदै थिए।
फेरि कुराकानी क्रिकेट हुँदै सांस्कृतिक पक्षसम्म पनि पुगेको थियो। उनी भन्दै थिए भारत र नेपालमा सबै कुरा एकै खालको हो भनेर। मैले पनि नेपाल र भारतको सांस्कृतिक कुराहरुमा समानता र असमानताको कुरा बुझेजति सुनाएँ। मैले नेपाललमा धेरै संस्कृति भए पनि सबै एक भएर बसेको सुनाएँ। उनले मेरो कुरामा चासो दिइरहेका थिए। ध्यान खेल तिर त छँदै थियो।
‘गौरिकाले स्वर्ण जितिन् रे!’ म भन्दा पछि बस्ने साथीले सुनाए। तेक्वान्दोमा नेपालको एउटा फाइनल खेल बाँकी नै थियो तर हामी निस्कियौं पौडीको प्रतिस्पर्धा भएकोतर्फ।
गौरिकाले स्वर्ण जितेकी थिइन्। हेर्नेको भिड भएकाले सोझै हामीलाई सुरक्षाकर्मीले छिर्न दिएनन्। त्यही भएर मेडल दिने ठाउँमै गयौं, पछाडिबाट। पौडीमा यो ऐतिहासिक दिन थियो। नेपालको हातमा स्वर्ण थियो। र, विजेता थिइन् गौरिका सिंह।
फोटो खिचेर हतारहतार समाचार पठाएपछि फेरि अगाडिबाट मिडियाको ठाउँमा गयौं। यसपटक प्रहरीले पनि रोकेन। सिधै माथि मिडियाको स्थानमा पुग्यौं। अनि केहीबेर पौडीको प्रतिस्पर्धा हेरियो।
त्यस्तै ३ वटा इभेन्ट सकिएर चौथो इभन्ट शुरु हुनै लागेको हुनुपर्छ, झ्याप्प बत्ती गयो।
‘तोइट! बेइजत’ छेउमै बसेको कसैले भन्यो।
कसले बोल्यो चिन्ने अवस्था थिएन। पूरै अध्यारो। एकैछिन सन्नाटा छायो। र, त्यतिकैमा बत्ती पनि आयो। अगाडि खाली भएकाले एकपटक फेरि हिटिङ स्विमिङ पुलमा नियालेँ।
‘साग हुन यति दिन बाँकी हिटिङ स्विमिङपुल बन्ने अत्तोपत्तो छैन’ यस्तै चर्चाहरु मैले सुनेको थिएँ। खासमा म पनि स्वीमिङ पुलको रिपोर्टिङ गर्न साग अघि चाहेको थिए तर खै किन किन मौका मिलेको थिएन। र, नमिलेको नमिल्यै प्रतियोगित सुरु भइहाल्यो। स्वीमिङमा नेपालका लागि स्वर्ण आएसँगै माहोल अर्कै बनेको थियो। अरु पदकहरु आए पनि हामी स्वर्णमा केन्द्रित थियौं। र, स्वर्ण ल्याउने गौरिकाको अनुभव सुन्ने प्रतीक्षामा।
साँझ परिसकेको थियो। ६ बजेदेखि हामी गौरिकाको कुरा सुन्नै भनेर पर्खिएका थियौं। झन्डै १ घन्टा नै कुर्न पर्यो। उनले स्वर्ण जित्दै गर्दा ओलम्पिकमै स्वर्ण जितेको जस्तै महसुस भएको अनुभव सुनाइन्।
‘तिमी बाहिर बस्छौ। तिमी नेपाली नै होइन भनेजस्तो गर्छन्। त्यसो होइन। म नेपाली नै हो। यो मेडल नेपाललाई नै हो,’ उनले मनको बह पोख्दै भनिन्।
अलि अफ्ठेरो सुनिने गरी नेपाली बोल्ने गौरिकाले अरु इभेन्टहरुमा पनि राम्रो गर्न चाहेको बताइन्।
सबै कुरा सकिसकेर ‘थ्याङ्क्यू’ समेत भनिसकेपछि गौरिकाले केही थप आफ्नो कुरा भन्न चाहिन्। बीचबिचको रेसमा अलि फोकस चाहिने भएकाले बीचबीचमा मिडियासँग कुरा गर्न अलि गाह्रो हुने सुनाइन्।
लामो समयसम्म प्रतीक्षा गरेर कुरा गरेकाले होला गौरिकाको अन्तिमको कुरा एकछिन त पटक्कै मन परेन। एकछिनबाट ठीकै त हो भने जस्तो पनि लाग्यो। मन बुझाएँ अनि फर्किएँ।