
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा आजबाट बक्सिङका खेल सुरु हुँदैछन्। कराते र तेक्वान्दोका खेल बिहीबारदेखि सकिएसँगै आजबाट बक्सिङका खेल हुन लागेको हो। खेल सातदोबाटोस्थित कभर्ड हलमा हुनेछन्।
सन् १९८४ देखि निरन्तर सागमा सहभागिता जनाउँदै आएको बक्सिङले पछिल्ला संस्करणमा खासै उपलब्धि हात पारेको छैन। १९८४ मा सहभागिता जनाउँदै दुई स्वर्ण, पाँच रजत र दुई कास्य हात पारेको बक्सिङले त्यसपछि कोलकतामा सम्पन्न तेस्रो र पाकिस्तानमा सम्पन्न चौथो संस्करणमा एक स्वर्ण पदक जितको थियो। त्यस यता सन् १९९९ मा काठमाडौँमै भएको ८औँ सागमात्र स्मरणयोग्य देखिन्छ। ८ औँ सागमा बक्सिङले २ स्वर्ण हात पारेको थियो।
अहिले साग नेपालमै आइपुगेको छ। र फेरि स्वर्ण हात पार्ने अवसर पनि अघि आएको छ। नेपालले यसपटक विदेशी प्रशिक्षक समेत ल्याएर राम्रो तयारी गरेको नेपाल बक्सिङ संघको दाबी छ।
तथापि अरू देशको तुलनामा नेपालको बक्सिङमा लगानी कम छ। सीमित स्रोत र साधनबीच खेलाडीको तयारी सम्पन्न भएको छ। खुला आकाशमुनि नै अभ्यास चलाइएको थियो।
विवादमा रहेर चर्चा भइरहने बक्सिङ संघले यसपटक आठौँ राष्ट्रिय खेलकुदमा पहिलो र दोस्रो हुने खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तालिम दिएको थियो। त्यसपछि नेपाली खेलाडीहरूले थाइल्यान्डमा प्रशिक्षण लिएका थिए।
सागमा स्वर्णको लामो खडेरीलाई चिर्दै बक्सिङबाट तीन पदकको अपेक्षा बक्सिङ संघले गरेको छ। संघका प्रतिनिधि श्याम अवालेले महिलातर्फ कम्तीमा एक र पुरुषतर्फ कम्तीमा २ स्वर्णको अपेक्षा रहेको बताए।