
चितवन : मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीवार साँझ एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक घाइते भएका छन्।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भरतपुरबाट रामपुरतर्फ गइरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४ प ६६५० नम्मबरको मोटरसाइकल भरतपुर महानगरपालिका-१५ रामपुरमा साँझ ५ः४५ बजे एकापसमा ठोक्किएको हो। प्रहरीका अनुसार ना ४० प ७३१३ नम्बरको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
सोही दुर्घटनामा परी लु ४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२० का २५ वर्षीय मानबहादुर मस्याङ्गीे घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा एकको मृत्यु
बनेपा-काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीवार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नमेबर ३-०२-००५ प ९७८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका-७ का ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो।
दुघर्टनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षीय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै श्रीमान्/श्रीमती रहेको र दोलखा माइती गई फर्कने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।