
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ।
सोमवारदेखि लैनचौरस्थित टिटी हलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य, पुरुष सिंगल्समा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका हुन्।
भारतीय खेलाडीसँग पराजित भएका नेपाली खेलाडी स्यान्टु र पुरुषोत्तमले टेबलटेनिसको साग इतिहासमा सिगल्सतर्फ पहिलो पटक पदक जितेका हुन्।
शुक्रबार बिहान भएको सेमिफाइनलमा युवा स्टार स्यान्टु श्रेष्ठ भारतीय खेलाडी अमलराज एन्थोनिसँग ४–० को सेटमा पराजित भए। उनी एन्थोनीसँग ११–४, १२–१०, ११–८, ११–२ को सेटमा पराजित भए।
यता अर्को सेमिफाइनलमा भारतीय खेलाडी हर्मित देशाईसँग अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्य ४–० को सेटमै पराजित भए। उनी ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भए।
काठमाडौंमा भएको सागमा टेनिसको सिंगल्सतर्फ नेपालले दुई कास्य जितेको छ।
सागमा नेपाल टेबलटेनिसले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बन्यो। शिव सुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टिममा रहेको नेपाल पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थियो।
टेबलटेनिसमा चौथो पदक महिला टिम इभेन्ट्समा नेपालले कास्य जितेको थियो। नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवाल टोलीमा रहेको टिमले कास्य जितेको थियो।
महिलातर्फ सिंगल्समा भारतले स्वर्ण र रजत जितेको छ भने श्रीलंकाले दुई कास्य जितेको हो।
पुरुषतर्फ कास्य नेपालले जितेपनि स्वर्ण र रजत भारतले जितेको छ।