आज खेल तालिका त्यति धेरै जुधेको थिएन। साइक्लिङ, क्रिकेट, बक्सिङ, एथ्लेटिक्स, पौडी र टेबल टेनिसमा जाने योजना थियो। सहकर्मी प्रविण साइक्लिङतिर लागेपछि समर्थ र म एथ्लेटिक्स, बक्सिङ र पौडीतिर जाने योजना बनायौं। प्रविनले भ्याएसम्म टेबलटेनिस र क्रिकेट पनि कभर गर्ने योजना थियो।
बिहान ९:३० बजेतिर एथलेटिक्स हेर्न दशरथ रंगशाला पुगियो। समर्थ पहिल्यै त्यहाँ पुगिसकेका रहेछन्। म पुग्दा दौड चलिरहेको थियो। कस्तो दौड? को को सहभागी भएको दौड? मैले केही बुझ्न नपाउँदै दौड त सकियो। हुटिङ चल्दै थियो मैले मिडिया सेन्टरमा गएर दौड र सहभागीबारे डिटेल लिएँ।
गोपीचन्द्र पार्कीले पुरुषतर्फको ५ हजार मिटरमा स्वर्ण जितका रहेछन्। आफ्नो निकटतम प्रतिद्वन्द्वी रहेका भारतका खेलाडीलाई हराउँदै। त्यो रेसमा नेपालकै हरिकुमार रिमालले कास्य पदक जितेका थिए। ‘आहा! एउटै खेलमा २ पदक’ खुशी लाग्यो।
तर, केही ढिला पुगेकोमा पछुतो पनि। काठमाडौंको जामका अगाडि म बबुरोको के नै पो लाग्थ्यो र? तर पनि एक मिनेटमात्र अघि पुगेको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो। केही बिग्रिएको थिएन। दौडको समाचार बनाएर पठाएँ। पार्कीसँग स्वर्ण पाउँदाको अनुभवबारे कुरा गर्न त्यहाँ उपस्थित हामी पत्रकारहरु चाहिरहेका थियौं। तर, उनलाई कतै देखिरहेका थिएनौं।
फेरि अरु रेसहरु शुरु भयो। त्यही रेस हेर्न तिर लाग्यौं। त्यहाँ भएका रेसहरु मध्ये ५०० मिटर दौडमा श्रीलंकाकी खेलाडी उदा कुबरालागेले स्वर्ण पदक जितिन्। नेपाली खेलाडी सन्तोषी श्रेष्ठ पदक पाउनबाट चुक्दा दु:ख लागे पनि कुबरालागेको खेल प्रतिको डेडिकेसनले भने भावुक बनायो। दौडको क्रममा एकपटक तेस्रो स्थानमा थिइन् उनी। तर, अन्तिममा यसरी स्पीड बढाइन कि लाग्थ्यो कोही ‘माइकालाल’ले उनलाई भेटन सक्दैन। पाइलैपिच्छे उनको स्पिड बढेको बढ्यै।
त्यही स्पिडमा उनी फिनिसिङ लाइनमा आइपुगिन्। स्वर्ण सुरक्षित गरिन्। र, पुक्लुक्क ढलिन्।
कोलाहल मच्चियो। श्रीलंकाका अफिसियलहरु दौडेर उनलाई सम्हाल्न आइपुगे। उनी सास पनि फेर्न सकिरहेकी थिइनन्। एकैछिनमा पत्रकारहरुले उनलाई घेरिसकेका थिए तर उनलाई गाह्रो हुन्छ भन्ने बुझेपछि सबैले खुल्ला छाडिदिए।
उनलाई सास फेर्न कठीन भइरहेको थियो। हिक्लिक हिक्लिक गरिरहेकी थिइन्। अफिसियलहरु आत्तिएका थिए। त्यहाँ भएका स्वयम् सेवकसँग पानी माग्दै थिए।
अलिअलि गर्दै कुबारालागे ‘कम्फर्ट’ हुँदै थिइन्। उनी बौरिँदै गर्दा उनको मुहारमा गज्जबको मुस्कान थियो थियो। वरिपरि मुन्टो घुमाइन र टक्क एकजनामा अडिइन्। सायद, ती तिनका प्रशिक्षक थिए। दुवैको मुहारमा अर्कै चमक आइसकेको थियो।
नेपाली खेलाडीले पदक नल्याएको भए पनि कुबरालागेको प्रदर्शन उच्च लागेको थियो मलाई। श्रीलंकाका मिडियाले उनलाई घेरिहाले। अहो! झन् सजिलो हुने भयो भनेर छेवैमा गएँ। अनि यसो कुरा सुन्न थालेको श्रीलंकाको भाषामा के के भनिन् के के। नबुझे पनि रमाइलै लागिरहेको थियो।
‘गोपीचन्द्रको बाइट लिनुपर्छ। आउ त प्रशिक्षकसँग कुरा गरौं,’ कसैले मलाई उता बोलायो। गोपीचन्दलाई हामीले अझै देखिरहेका थिएनौं।
कुरा त गर्नै पर्यो। अनि प्रशिक्षक खोज्न गयौं।
फर्केर हेर्दा कुबरालागे श्रीलंकाको झन्डामा बेरिएर एक्लै हाँस्दै थिइन्। स्वर्णको सपना सत्य सावित भएकोले उनको मेहेनत र खेलप्रतिको लगाव झल्किरहेको थियो। र, उनको स्वर्ण अनुभव सोध्ने इच्छा इच्छामै रह्यो।
यता गोपीचन्द्रको कुरा सुन्नै थियो। उनी देखिएका थिएनन्। त्यही भएर म मिडिया सेन्टर पसेर कुबरालागेको समाचार पठाएँ।
बाहिर निस्कन्छु त कोही देख्दिन। एकछिन खोजेपछि पो रंगशालाको अर्को कुनामा साथीहरुले गोपीचन्द्रसँग कुरा गरिरहेको देखेँ।
‘अहो! म त छुटेँछु नि।’
कुरा बुझ्न नपाउँदै समर्थ र म त्यो कुनातर्फ दौडिहाल्यौं। र, छोटै भए पनि उनको कुरा सुन्यौं।
‘श्रीलंकनहरु बलिया थिए। दौड जित्ने हो, छिटो कुदेर हुँदैन भन्नेमा उनीहरु थिए। तर, मैले १४ वर्षदेखि पाँच हजार किलोमिटर जित्नु छ भनेर तयारी गरिरहेको थिएँ। उनीहरु अगाडि बढे भने भागेरै उनीहरुलाई जित्नु थियो। भारतका खेलाडीले गोल्ड जित्न मलाई धेरै रोक्ने प्रयास गरे। तर, मलाई अन्तिमसम्म जित्छु भन्ने नै थियो,’ पार्कीले सुनाउँदै थिए।
उनले एथलेटिक्सका लागि गरेको संघर्ष र हिँडेको बाटोबारे बताए।
‘दौडिन कै लागि म सशस्त्र प्रहरीमा लागेको थिएँ,’ उनले यसो भन्दा फिल्म भाग मिल्का भाग… को झल्को आइरहेको थियो। एथ्लेटिक्समा स्वर्णको खडेरी तोडेका उनले संघ र राष्ट्रका लागि मेडल ल्याउन पाउँदा खुशी भएको बताए। यसअघि डोपिङको कारण खोसिएको पदक फिर्ता ल्याउन सकेकामा गौरवान्वित पनि।
उनीसँगको कुराकानीबारे सहकर्मी सहयोगलाई जानकारी दिएपछि हामी लाग्यौं सातदोबाटोतर्फ। अरु खेल पनि थिएन त्यतिबेला। टेबलटेनिसमा रजत आएको भन्ने रंगशालामा हुँदै जानकारी आइसकेको थियो। बाँकी खेल थिए- पौडी, बक्सिङ र क्रिकेट। क्रिकेटमा प्रविन जाने कुरा भएकाले साढे १२ मै हामी हान्नियौं सातदोबाटो तर्फ।
सिधै बक्सिङ हुने कभर्डहल पुगियो। अस्तिसम्म कराँते भइरहेको उक्त कभर्ड हलमा बक्सिङको रिङ तयार थियो। अहो सीमित श्रोत र साधानको कति राम्ररी उपयोग गरेछन्! मन पर्यो। त्यहाँजस्तै भलिबल र बास्केटबल तथा फुटबल र एथ्लेटिक्स पनि त एकैठाउँमा भएको थियो।
यो त लेख्न पर्छ भन्ने लाग्यो। समर्थ र प्रविनसँग सहकार्य गरेर फोटो भेला पारेर समाचार बनाइहालेँ, मिडिया सेन्टरमा बसेर।
एकछिन पछि बक्सिङ हेर्न गएँ। बक्सिङमा समर्थको विशेष चासो थियो। एकछिन हेरेपछि थाहा भयो आज त गोल्डको छिनोफानो नहुने रहेछ। र, म निस्किँए पौडीतिर।
पौडी। हिजोमात्र गौरिका सिंहले ऐतिहासिक स्वर्ण जिताएकी थिइन्। आज के होला भनेर पुगेँ फेरि। भिड यस्तो थियो कि पस्न नै गाह्रो। बल्लतल्ल पसेर माथि गएर बसेँ। अनि पौडी हेर्न व्यस्त भएँ।
आज पनि गौरिकाको पालो आयो। हिजोमात्र स्वर्ण जितेको। ममात्र होइन त्यहाँ उपस्थित सबै नेपाली उत्साहित थिए।
पौडी शुरु भयो। अरु खेलाडीलाई पछि पारेकी गौरिकाको प्रतिस्पर्धा भारतकी मन्ना राजीव पटेलसँग चल्यो। सँगसँगै। कहिले पटेल अगाडि। कहिले सिंह। अन्तिममा भने गौरिकाले अझ स्पिड बढाइन्। र, २:१२:७३ मा रेस पूरा गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वीले २:२०:७१ मा रेस पूरा गरिन्। गौरिका नेपाली पौडीमा इतिहास बनाउन खरो उत्रिइन्। र, पौडीलाई दोस्रो स्वर्ण पनि आँफैले दिलाइन्।
दोहोरो स्वर्ण जितेकी खेलाडी। कस्तो भयो होला अनुभव? जान्ने चाहना त पक्कै थियो। तर, उनले नै हिजो सबै इभेन्ट नसकिइ बाहिर कुरा गर्न थाल्दा आफू ‘डिस्ट्रभ्ड’ हुने बताएकी थिइन्। त्यति भन्दा भन्दै फेरि उनलाई डिस्टर्भ गर्न कुरा पनि आएन। बेलुकी भइसकेको थियो। हामी निस्कियौं रंगशालातिर।
रंगशालामा मिडिया सेन्टरमा एकपटक केही नयाँ सूचना पो आएका छन् कि भनेर बुझि हेरेँ। केही समाचार पनि त्यही बसेर बनाएँ। र, निस्किएँ। रातको ८ बजिसकेको थियो।
फेरि एकपटक रंगशालातिर हेर्दा कुबरालागेले फिनिसिङ लाइन कटेर ढलेको याद आयो। यसो सोचेँ, ‘यदि उनको स्थानमा कुनै नेपाली खेलाडी त्यसरी स्वर्ण जितेर ढलेको भएको कति चर्चा हुन्थ्यो होला? उनी पनि खेलाडी नै त हुन्। श्रीलंकामा त राम्रै चर्चा भयो होला?’ यस्तै सोच्दै थिएँ।
बाइक स्टार्ट गरेँ। आफ्नै सोच सम्झिएर एकपटक हाँसे।
अन्तिममा लाग्यो- कुबरालागे, पार्की र सिंह। सबै खेलाडी। बिजेता। दे डिजर्भ रेस्पेक्ट।