दिनभर श्रीमान अफिस जाने, बच्चाहरु स्कुल। फुर्सदिलो समय खेर नफाल्न भान्छामा अचार बनाउन थालिन् हजुरी विष्टले। २५ वर्षअघि उनले भान्छाबाट थालेको अचारको व्यवसाय हाल करोडौंको उद्योगका रुपमा स्थापित भइसकेको छ। एफविन सहकारीमार्फत बिक्री हुने नवरस ब्राण्ड र हजुरी खाद्य उद्योगको आफ्नै ब्राण्ड किचेन रेसिपीले लामो समयदेखि नेपालमा एकछत्र राज गरिरहेका विदेशी अचारको मोनोपोली तोड्न सफल भएको छ।
वार्षिक २ करोडभन्दामाथिको कारोबार हुने किचेन रेसिपी र नवरसका अचारहरु हाल नेपालमा मात्र नभइ जापान, अष्ट्रेलिया र मध्यपूर्वी देशहरूमा निर्यात समेत हुन्छ। निधारमा सिग्नेचर ठूलो रातो टिका र अनुहारमा हरदम झल्किइरहने मुस्कानका साथ 'हजुरी दिदी' कहिले अचार बनाउन भिडिरहेकी हुन्छिन् त कहिले महिला उद्यमीहरुका बिभिन्न सभा सम्मेलनमा सक्रिय भएर दौडिरहेकी हुन्छिन्।
६४ वर्षमा पनि हजुरीको काममा लगन उस्तै छ जुन लगन उनले २५ वर्ष अघि भान्छामा अचार बनाउन सुरु गर्दा ताका थियो। महिला उद्यमी महासंघ नेपाल एफविनकी निवर्तमान अध्यक्ष हजुरी बिष्टलाई भेट्ने जो कोहीले पनि महसुस गर्न सक्ने सकारात्मक उर्जा नै उनको उद्यमी बन्ने आधार हो। यही उर्जा नै उनको त्यस बखतदेखिको साथी हो जुन दिनदेखि उनले भान्छामा बनाएको अचार झोलामा पोको पारेर बेच्न धोबिघाटस्थित घरबाट बाहिर निस्किइन्।
काठमाडौंको पकनाजोलमा जन्मिएकी हजुरीका बुवा इन्जिनियर थिए हजुरबुवा आर्मीका मेजर। ५ दिदीबहिनी र २ दाजुभाई। हजुरबुवाका दाजुभाईका छोराछोरीहरु समेत रहेको ३०/३५ जनाको ठूलो संयुक्त परिवारमा हजुरबुवाको कडा पारिवारिक अनुशासनमा उनी हुर्किन्। तिनताक महिलाहरू पढ्ने बेस्ट स्कुल थियो क्षेत्रपाटीको कन्या मन्दिर हाइ स्कुल। त्यहीबाट २०२७ सालमा हजुरीले एसएलसी पास गरिन्। रत्नराज्यमा कमर्स पढ्दा-पढ्दै फाइनल इयरमा उनको पाटनको बिष्ट परिवारमा बिहे भयो। त्यसबेलाको समाजमा छोरीलाई छिट्टै बिहे गरेर पठाउने चलन। १७ वर्षको केटाकेटी उमेरमै हजुरी नयाँ घर प्रवेश गरिन्।
बिहे भएर गएको घर घरानियाँ बिष्ट परिवार । शिक्षामा पनि उम्दा। चर्चित मानवशास्त्री डोरबहादुर बिष्टकी जेठी बुहारी भएर पकनाजोलबाट पाटन पुगेको भोलिपल्टैदेखि उनी कलेज जान थालिन्। किनभने डोरबहादुर बिष्टले बुहारी भित्र्याएकै दिन आशिर्वाद दिँदै भनेका थिए रे- 'यो घरमा तिमी बुहारी होइन छोरी हौं। पढाइ नछोड्नु। सँधै अघि बढ्नु!'
ससुराको समाजमा ठूलो मान प्रतिष्ठा। पढाई लेखाइ र अनुसन्धानमा उस्तै बिद्वता। उनले यसरी पढ्नुपर्छ भन्दै हजुरीलाई सिकाउँथे रे। आफूप्रति ससुराले पहिलो दिनदेखि नै गरेको व्यवहारले उनलाई कहिल्यै ससुरासँग डर र धक लागेन। बरु उनी चित्त नबुझेका कति कुराहरु ससुरासामु राख्न थालिन् रे। सासु घरेलु थिइन्। ससुरा अध्ययन अनुसन्धानमा सँधै बाहिर हिँड्ने भएकाले सासुले सिंगो परिवार सम्हालेकी थिइन्। दुवैको छाप र प्रभाव हजुरीमा पर्यो। दुवैबाट सकारात्मक र सहयोगी भाव सिकेको उनी बताउँछिन्।
बिहेको केही समयमै श्रीमान हिक्मत बिष्ट पीएचडी गर्न फ्रान्स जाने अवसर पाए। हजुरी पनि श्रीमानकै पछि लागिन्। श्रीमानको साथ नछोड्दा फाइनल इयरको जाँच छुट्यो। हजुरी यताको पढाईलाई विश्राम दिएर फ्रान्स उडिन् । ८ वर्षपछि फर्कदा श्रीमानसँग समाजशास्त्रमा पीएचडीको डिग्री थियो भने हजुरीसँग फ्रेन्च भाषामा डिप्लोमा। दुई बच्चाहरू त्यसै अन्तरालमा जन्मिए।
नेपाल फर्किएपछि दुई बच्चा हुर्काउने र घर व्यवहार सम्हाल्ने जिम्मा हजुरीले लिइन्। श्रीमान काममा लागे। घर व्यवस्थित गर्दै गर्दा हजुरीको केही वर्ष त्यसैमा बित्यो।
अखबारले मोडिदिएको पाइला
बिदेश बसेर फर्किएकाले पनि होला उनमा घरेलु कामदार नराखी आफैं सबै काम गर्नुपर्छ भन्ने सोच थियो। बच्चा स्कुल गएपछि उनी बगैंचा गोडमेल र करेसामा तरकारी लगाउन थाल्थिन्। ६ महिना उनलाई बारीकै तरकारीले पुग्थ्यो रे। पछि बच्चा ठूला हुँदै गएपछि काम घट्दै गयो। दिउँसोको समय उनलाई अझ बढी लाग्न थाल्यो।
'३८/३९वर्षको उमेर न यता न उता। अब मैले केही त गर्नेपर्छ भन्ने लाग्यो।'- फ्याक्ट्रीमा कामदारलाई अह्राउँदै हजुरीले पुराना दिन सम्झिन् - 'पहिले त कहाँ अचार बनाएँ र ! दूध डेरी खोलियो। बगैंचामा रूचि भएकाले नर्सरी खोल्छु भन्ने पनि लाग्यो।'
बच्चाको खाना र होमवर्कको बढी चिन्ता लिन नपर्ने भएपछि साझेदारीमा उनीहरुले लेलेमा जग्गा लिएर गाई फार्म खोले। सेड बनाएर २२ वटा गाई ल्याएर काम सुरु भयो। दुध संकलन गरेर बिक्री गर्ने काम हजुरीको भागमा पर्यो। उनी राती २ बजे उठ्थिन्, ८/९ वटा साइकल ब्वाइहरूलाई साथ लिएर टेलिफोनबाट अर्डर लिँदै धोबिघाटदेखि कुपण्डोलसम्मका ग्राहकलाई घर-घरमा दूध पुर्याउन थालिन्। काम थालेको २ वर्षमा उनले त्यस क्षेत्रमा सयजना ग्राहक बनाइसकेकी थिइन्।
तर २ वर्षको मेहनतपछि हजुरीलाई त्यो कामबाट भनेजस्तो सन्तुष्टी मिलेनछ। त्यसपछि उनले साझेदारलाई नै त्यो डेरी सुम्पिएर विकल्प खोज्न थालिछन्। बोटबिरुवामा रूचि भएकाले उनलाई नर्सरी चलाउन मन लागेछ। उनी दिनभर काठमाडौंका नर्सरी चाहार्न थालिन्।
गमलाहरू टन्नै किनेर ल्याइन्, र बोटबिरुवा संकलन गर्न थालिन्। कुनै पनि काम थाल्नुअघि त्यसलाई अघि बढाउन ज्ञान र सीप दुवै चाहिन्छ भन्ने हजुरीको मन्त्र हो। उनले नर्सरीबारे किताब संकलन गर्न थालिन्। व्यवसायका रूपमा अघि बढाउनका लागि सीप सिक्ने ठाउँ खोजिन् । तर नर्सरीबारे व्यावसायिक रूपमै सिक्ने ठाउँ उनलाई नर्सरीमा जम्न सक्छु भन्ने आत्मविश्वास पलाएन।
एक बिहान चियाको चुस्कीसँगै पढ्ने गरेको अखबारले हजुरीलाई नसोचेको खुशी ल्याइदियो। एफविनले तीन हप्ताको खाद्यान्न प्रशोधन र संरक्षण बारे तालिम खुलाएको रहेछ। अमेरिकाबाट फुड टेक्नोलोजिष्ट आएका रहेछन्, जसले खानालाई लामो समयसम्म संरक्षण गरेर राख्ने प्रक्रियाबारे तालिम दिए। त्यसै तालिमले हजुरीको उद्देश्यलाई लिस्नो हालिदियो। अब उनी लामो समयसम्म टिकाउन सकिने अचार बनाउने बारे सोच्न थालिन्।
उद्यमी बन्ने संघर्षको त्यो तीन वर्ष
तालिम लिएकाहरुलाई विन कोअपरेटिभले 'अचार तपाइहरू बनाउनुस् हामी मार्केटिङ गर्छौ' भन्यो। हजुरी अचारको बजार बुझ्न निस्किइन्। नेपालमा किनेर खाने चलन त रैछ तर बजारमा सबै अचार भारतबाट आउने। उनले बजारमा नेपाली स्वादको अचार पाइनन्। अब भने उनलाई पक्का विश्वास भयो नेपाली स्वादको अचार बनायो भने बजारमा बिक्छ।
श्रीमानलाई अफिस र बच्चाहरुलाई स्कुल पठाएपछि भान्छा पुछपाछ गरेर हजुरीले अचार पकाउन थाल्थिन्। उनले सँगै तालिम लिएका दुई साथीहरुलाई पनि यसमा साथ लिइन्, तर एकजनाले तीन महिनामै काम छोडिन्। उनका अर्का साथी थिए सातदोबाटोका केशर श्रेष्ठ, जो सँधै पढाउन कालीमाटी पुग्थे। उनी स्कुलबाट फर्कदा कालीमाटीबाट कच्चा पदार्थ किनेर ल्याउँथे। हजुरीले दिउँसोभरी त्यो अचार पकाउँथिन्। कवाडीखानामा पुगेर शिशा किन्थिन्।
घरमा ल्याएर आफैं ति शिशाहरु माझ्थिन्। तीन वर्षसम्म लगातार यो काम चलिरह्यो। उनी एफविनका हरेक तालिममा जान थालिन्। जता जाँदा पनि अचारको शिशी साथैमा हुन्थ्यो। घर छेउमै सानो महोत्सव छ भने पनि अचार बोकेर हिँडिहाल्थिन्। विदेश जाँदा समेत अचार बोकेर जान थालिन्। सन् १९९४ देखि १९९७ सम्मको त्यो तीन वर्षमा हजुरीले उद्यमी बन्ने सबै कला सिकिन् । क्यान्सरले नगलाएसम्म केशरले अचार व्यवसायमा हजुरीलाई सघाइरहे।
अचार राख्न शिशाका बोतल त्यसबेला सजिलै नपाइने। उनी फोहोरका थुप्रामाथि टेक्दै टेकु दोभानका कवाडखानामा शिशा खोज्न पुग्थिन्। एक शनिवार उनी सानेपाको एउटा कवाडखानामा पुगिन्। मास्टर नामको कवाडीको गल्लामा पुगेर उनले सयवटा शिशी मागिन् । 'हतार छ अलि छिटो बोरामा हालिदिनुस् न,' हजुरीको आग्रह थियो। मास्टरले भित्रबाट श्रीमतीलाई सघाउन बोलाए। उनी शनिबार दिउँसो टेलिभिजनमा आउने फिल्म हेरेर कोठाभित्र बसेकी रहिछन्।
'मास्टरकी श्रीमती आउँदा म कवाडखानाको सानो स्टुल थकाइले चुर भएर बसेकी थिएँ। उनलाई देखेपछि म छक्कै परें। सुनका गहनाले झरिझुट्ट मास्टरकी श्रीमतीको पहिरन उस्तै फेन्सी रहेछ। उनलाई हेर्दै आफूतिर यसो नियालें,' लामो हाँसोपछि हजुरीले भनिन्, 'म धुलै-फुस्रै फोहोर फोहोर दौडिएर त्यहाँ पुगेकी, उसकी श्रीमती त धपक्कै बलेर टिभी हेरेर बसेकी। अनि सोचेँ, कवाडीको उद्यममा कति पैसा रैछ त ! अनि म पक्का भए जुनसुकै काम पनि गर्दा हुन्छ, उद्यमका रूपमा गर्नुपर्छ।' अचार बनाउने कामलाई निरन्तरता दिने अठोट बलियो भयो ।
अचारको कमाई
अचार बनाउने अरु साथीहरु घरपरिवारले हेय भावले हेरेको, साथ नदिएको गुनासो गर्दै एफविनमा आएर रुन्थे। 'तर मलाई कहिल्यै रून आएन,' उनले भनिन्, 'म गेटबाट झोला बोकेर बाहिर निस्कँदा छरछिमेकले अचेल कता हराउनुभयो भनेर सोध्थे । म सिधै झोलाबाट अचारको शिशी निकालेर अचारकै बखान गर्न थाल्थें। अरूले कुरा काट्लान् वा के भन्छन् भन्ने मैले कहिल्यै सोचिँन। काम गरिरहेको छु भन्ने सकारात्मक सोच मात्र राखिरहें।' २५ वर्ष अघिको त्यो समयलाई फर्किएर हेर्दा हजुरीलाई आफ्नो धैर्यता नै सफलता हो जस्तो लाग्छ।
तीन वर्ष काम गर्दा कति खर्च भयो हजुरीले हिसाब राखिनन्। तीन वर्ष निरन्तर अचार बनाउँदा एफविनले उनलाई ३६ हजार रूपैयाँको चेक थमायो। यो अचारबाट उनको पहिलो कमाई थियो। भान्छाबाट निस्केर फ्याक्ट्रीमा आउन उनलाई बिउ पुँजीका रूपमा श्रीमानले २ लाख दिए। त्यसबाट उनले बेग्लै टहरा बनाइन्। तीन पटकसम्म लगाएर उनले टहरा बिस्तार गरिन्। अचार उद्योगका लागि आवश्यक मेशिन लगाइन्। अहिले उही उद्योगमा उनको लगानी करोडौं भइसकेको छ। धोबिघाटस्थित घरकै कम्पाउण्डमा उनले अचारको उद्योग सेट गरेकी छन्। १६ जनालाई रोजगारी दिएकी छन्।
अहिले उनको अचारको वार्षिक कारोबार २ करोडभन्दा माथि पुग्छ। बोतलको हिसाबले भन्ने हो भने कम्तीमा पनि ६० हजार बोतल बिक्छ। उनले बनाएका अचार देशभित्र मात्र होइन बेलायत, मध्यपूर्वी देशहरू, अष्ट्रेलिया र जापानमा निर्यात हुन्छ । विदेशमा पिरो गुलियो अचारको बढी माग छ भने स्थानीयले मासुका अचार र सिजनल अचार बढी रूचाउँछन्। उनले नवरस ब्राण्डका लागि २२ थरीको अचार पठाउँछिन् भने हजुरी खाद्य उद्योगको किचेन रेसिपी ब्राण्डमा उनले १८ थरी अचार बजारमा पठाइरहेकी छन्।
किचेन रेसिपीलाई अझ नयाँ किसिमले अघि बढाउन छोराछोरीको पहलले उनलाई अझ उर्जा मिलेको रहेछ। बजार बिस्तारमा छोराले सहयोग गर्न थालेका छन्। छोरी ज्वाइँले अचार घर रेष्टुरा खोलेर किचेन रेसिपीको अचारलाई प्रवर्द्धन गरिरहेका छन्। किचेन रेसिपीको १८ थरी अचार झम्सिखेलको अचार घर रेष्टुराबाटै बिक्री हुन्छ।
कहिलेसम्म अचार बनाइरहने ? ६४ वर्षकी हजुरीले लामो सास फेर्दै उनले भनिन्, ' खै म त बाँचुन्जेल अचारै मात्र बनाउँछु कि जस्तो पो लाग्छ। कुनै दिन विश्राम लिन्छु जस्तो लागेकै छैन। नयाँ सोच र टेक्नोलोजीका साथ परिवारले साथ दिन्छु भनेपछि अचेल त झन् उर्जा थपिएको छ।'
प्रविधि र प्रतिस्पर्धाको बजार
अहिले बजारमा अवसर र प्रतिस्पर्धा दुवै बढेको उनी बताउँछिन्। टिक्ने नटिक्ने त आफ्नो काममा निर्भर रहन्छ तर विदेशी अचारलाई बिस्थापित गर्न पनि धेरै महिलाहरु यस उद्योगमा आउनुपर्छ भन्छिन् उनी। अचार बेच्दा लाज हुन्छ भन्ने सोच्नु आफ्नै दिमागको नकारात्मक उपज हो। कुनै पनि पेशालाई हेय भावले हेर्ने दृष्टिकोण उनी गलत ठान्छिन्।
हजुरीको पालामा सिक्ने थलो पाउन गाह्रो थियो। अहिले त काम सुरू गर्दागर्दै तालिम र पुँजीका लागि फाइनान्सको सुविधा छ। प्रविधि यति अघि बढिसकेको छ कि दुरदराजका गाउँसम्म मानिसका हातमा मोबाइल छ। मोबाइलको सही प्रयोग गरे मात्र पनि कति कुरा सिक्न सकिन्छ। चाहेको उद्यम गर्न सकिन्छ। सरकारले उद्यम गर्न महिलालाई विशेष अनुदान पनि दिन्छ। हजुरी भन्छिन्, ' सबै किसिमका अवसरहरू भएपनि अन्तिम अस्त्र भने आफैं खट्नु र धैर्य गर्न जान्नु नै हो।'
केही दिनअघि अनुभव बाँड्नका लागि एउटा फोरममा पुगेकी थिइन । रिटायर्ड हुने बेला भएका एक अधबैंसे पुरूष उनी नजिकै आएर धन्यवाद दिए र भने, 'म त रिटायर्ड लाइफमा के गर्ने होला भनेर सोच्दै थिएँ, तपाईलाई देखेर ठूलो साहस आयो।'
उनलाई नयाँ पिंढीका युवाहरुले पनि ध्यान दिएर सुन्छन्। सकारात्मक सोचमात्र राख्ने हजुरी सबैलाई उत्साहित बनाउने कुरा मात्र गर्छिन्। हरेस नखान सुझाउँछिन्। उद्यम गर्न मन लाग्दा हचुवाको भरमा होइन त्यसबारे अध्ययन गरेर केही ज्ञान लिएर मात्र थाल्नुपर्छ भन्छिन्।
'अचार जसले पनि बनाउँछ, तर बिज्ञको ज्ञान लिएर बनाएपछि धेरै अन्तर पर्छ। बनाउँदै गर्दा अचारले नै व्यक्तिलाई बिज्ञ बनाउँछ। अहिले त म फुड टेक्नोलोजिष्टलाई पनि माथ दिन्छु जस्तो लाग्छ,' हजुरीले जे भनिन् त्यसको मिठास नै छुट्टै छ किनकी यो निरन्तर २५ वर्षको खटाइ र अनुभवले खारिएको बोली हो।