
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले आज माल्दिभ्समाथि २-१ गोल जित निकाल्यो। जितसँगै नेपालले फाइलन पुग्ने सम्भावनालाई कायमै राखेको छ।
खेलपछिको प्रेस कन्फ्रेन्समा बोल्दै माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले आफूहरुले अग्रता लिन सक्ने भए पनि चुकेको बताएका छन्। सेगर्टले खेलाडीहरुको सीप अझै विकास गर्नुपर्ने बताए।
'हामीले खेलमा अग्रता लिन सक्थ्यौं, लियौं पनि तर पछि त्यसलाई कायम गर्न सकेनौं,' उनले भने।
यसो त उनले नियमित खेल्न परेको गुनासो गर्न पनि पछि परेनन्।
उनले भने, 'हामी एउटा तयारी गरेर आएका थियौं, तर अर्कै खेल खेल्न पर्यो। सबै थोक परिवर्तन भयो।'
प्रतियोगिता अघिदेखि नै सेगर्ट खेल तालिकाप्रति असन्तुष्ट थिए। उनी खेल चलिरहँदा पनि आक्रामक देखिन्थे।
यता नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन प्रेसर लिएर नै खेलेको बताए।
महर्जनले भने, 'आज जुन रणनीति लिएका थियौं, हामी फाइनलमा पुगिरहँदा प्रेसर लिएरै खेलेका थियौं। सानो गल्ती गरेका थियौं। आपसी समझदारी नहुँदा गोल खान पुग्यौं।'
घरेलु लिगका कारण माल्दिभ्सको खेलस्तर उकासिएको उनको भनाई थियो।
त्यस्तै नेपाली टोलीका गोलकिपर विकेश कुथुले जितबाट महत्वपूर्ण अंक पाएको उल्लेख गर्दै आजको जितले यसपछिको खेलमा त्यति धेरै दवाब नपर्ने बताए।
'आज जितेर प्रेसर रिलिज भएको जस्तो फिल भएको छ। यसअघिको खेलमा ड्र हुँदा केहि प्रेसर परेको थियो। अब यसरी नै खेलियो भने हामीले प्रतियोगिता जित्छौं,' उनले भने।
खेलमा दर्शकको समर्थन देख्दा फुटबलमा नेपाल फर्किएको जस्तो महसुस भएको उनले बताए। खेल हेर्नको लागि रंगशालामा दर्शकको उल्लेखनिय उपस्थिति थियो। प्यारापिट दर्शकले भरिएका थिए।