PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सागको समाचारका लागि गएका साथीलाई जब डिएसपीले घचेडे … {साग ब्लग ७}



मुकुन्द घिमिरे

सागको समाचारका लागि गएका साथीलाई जब डिएसपीले घचेडे … {साग ब्लग ७}

आज शनिवार। त्यसो त विदाको दिन। तर, सागको महाकुम्भमा विदामा बस्नु कसरी? ढिलाढिला गरेर भए पनि पुगेँ रंगशाला। त्यतिखेर म्याराथनमा नेपालले स्वर्ण जितिसकेको थियो।

किरणसिंह बोगटीले स्वर्ण पदक हात पारिसकेका थिए भने पुष्पा भण्डारीले रजत। त्यस्तै पोखरामा महिला क्रिकेटमा नेपाल र माल्दिभ्सको खेल चल्दै थियो, कीर्तिपुरमा पुरुष क्रिकेट। म मिडिया सेन्टरमा बसेर क्रिकेट लाइभ हेर्दै अपडेट गर्न थालेँ।

साढे १ बजे दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच खेल हुने निर्धारित थियो। करिव १ बज्दा हामी निस्कियौं। मिडिया सेन्टरको अगाडिबाटै भित्र पस्न खोज्दा सुरक्षाकर्मीहरुले त्यहाँबाट नभएर त्रिपुरेश्वरतर्फबाट जान सुझाए। हामी त्यतै लाग्यौं। खास सधैं स्टेडियम पस्ने बाटो त्यतै थियो।

भिआइपी प्यारापिटमा जाने दर्शकहरुको लाइन पनि त्यतैबाट लागेको। हामी पनि त्यही गेटबाट सधैँ भित्र छिर्ने गर्थ्यौं। सधैं पो सजिलै छिर्न, पाउँथ्यौं त, आज चाहिँ पाएनौं।

खेल पत्रकारहरुलाई खेल स्थल प्रवेशका लागि नेपाल ओलम्पिक कमिटीले प्रेस पासको व्यवस्था गरेको छ। हामीसँग प्रेसपास साथमा थियो। आजसम्मको दिनमा यही प्रेसपासले हामी भित्र छिरिरहेका थियौं। र, समाचार सङकलन गरिरहेका थियौं।

हामी सँधैजस्तो गेटबाट छिर्न खोज्यौं। मलाई शुरुमै त्यहाँ खटिएका एकजना प्रहरीले यो कार्डले भित्र पस्न पाइँदैन भनेर छिर्न दिएनन्। अर्का साथी खेल पत्रकार सन्तोषराज पाण्डे अलि भित्र पुगेका मात्र के थिए ‘यो कार्डमा फुटबल कहाँ लेखेको छ?’ भन्ने प्रश्न तेर्साउँदै त्यहाँ खटिएका डिएसपीले धकाल्दै उनलाई बाहिर निकाले।

पासमा फुटबल त के कुनै खेलको नाम पनि लेखिएको थिएन। खेलको सूची नभएर प्रेस पास थियो, सबैतिर कभर गर्नका लागि। त्यसपछि अरु पत्रकारहरु पनि थपिँदै गए। ती डिएसपीले ‘फुटबल’ लेखिएको छैन भन्ने कुतर्क राख्दै कसैलाई छिर्नै दिएनन्। एकछिनमा त्यहाँ अगाडि नउभिन उर्दी जारी गर्नसमेत भ्याए तिनले।

त्यतिन्जेलसम्म धेरै पत्रकार त्यहाँ भेला भइसकेका थियौं। त्यहाँ खटिएका इन्स्पेक्टरले भने शिष्ट भाषामा माथि कुरा गरेर मिलाउने भनिरहे। तर डिएसपीको पारा भने वितण्डै मच्चाउने पाराको।

त्यतिकैमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा भित्रबाट आए। उनले डिएसपीलाई पत्रकारहरुलाई रंगशालामा प्रवेशका लागि नरोक्न भने।

तर, ती डिएसपी कसैको कुरा सुन्ने पक्षमा थिएनन्। हामी कुरिरहेकै थियौं, भित्र पस्नका लागि।

एन्फा अध्यक्षले सम्वन्धित तहमै फोन गरेर जानकारी गराए सायद्। उनी दोस्रो पटक गेटमा आइपुग्दा डिएसपी फोनमा कुरा गरेजस्तो गर्दै त्यहाँबाट पन्छिए। अध्यक्ष शेर्पाले पत्रकारहरुलाई भित्र पस्न आग्रह गरे। हामी छिर्‍यौ पनि। यसपटक कसैले अवरोध गरेन।

‘फुटबल’ लेखेको कार्ड पनि चाहिएन।

हामी प्यारापिटमा पुग्दा फुटबल शुरु हुनै लागेको थियो। पुग्दा पुग्दै राष्ट्रिय गान बजिहाल्यो।

***

दशरथ रंगशाला। नयाँ रंग पाएको रंगशाला। त्यहाँ हुने नेपालको खेल। त्यही पनि शनिवारको दिन।

दर्शकको उपस्थिति अनुमान लगाउन यो भन्दा बढी के कारण देखाउनु पर्ला र?

आज सायद् साग उद्घाटनको दिनभन्दा धेरै दर्शक थिए। यो चाहिँ पक्का हो। सबैतिरका प्यारापिटमा मान्छे नै मान्छे।

तिनै मान्छे र हुटिङ गर्न कि खेल हेर्न? बढो दुविधा थियो।

समर्थकहरु हातको लाइन मिलाएर ओल्लो छेउदेखि पल्लो छेउसम्म एउटा राम्रो मोसन बनाइरहेको थिए। हेर्दै रमाइलो।

गोल!!!

१८ ‌औं मिनेटमा मालदिभ्सले गोल लगायो। समर्थकहरु हात हल्लाएर बनाएको मोसनको रमाइलो हेर्दा हेर्दै गोल पो लागेछ। कसले गर्‍यो? कसरी गर्‍यो? केही थाहा पत्तो भएन। सहकर्मी सहयोग गोलको समाचार भ्याइसकेका रहेछन्। समर्थले फोटो पनि पठाइसकेका।

समर्थकको हुटिङ र खेलबाहेको अर्को हेर्न मज्जा आइरहेको थियो मालदिभ्सका प्रशिक्षकको क्रियाकलाप। उनी कतिबेला धेरै नै आक्रोशित हुन्थे त कतिबेला मख्ख परिरहेका हुन्थे। साग फुटबलको प्रिम्याच कन्फ्रेन्समा उनले खेल तालिका लगातार परेको र अनावश्यक हेरफेर गरिएको भन्दै आलोचान गरेयता मैले उनलाई नोटिस गरिरहेको थिएँ।

प्रस्ट व्यक्तित्व रहेछ उनको। चित्त नबुझेको कुरा प्याट्टै भन्दिहाल्ने।

फेरि ध्यान खेलमा नै केन्द्रित गरेँ।

गोल!!!

अभिषेक रिजालले गोल गर्दै खेल बराबरीम ल्याए। हाफ टाइम भयो। म चाहिँ पारीपट्टीको प्यारापिटका समर्थकहरु हेर्दै बसेँ। दोस्रो हाफमा चाहिँ पूरै खेलमै केन्द्रीत भयो ध्यान। नेपालका लागि अनन्त तामाङले गोल थपेयता नेपालले खेल स्लो गर्‍यो। अगाडि जस्तै खेलेकै भए पनि नेपालले हार्थ्यो भन्ने चाहिँ कम्तिमा लागेन। यतिका समर्थकबीच अझ १ गोल थप्न सकेको भए हेर्न जानेहरु कति खुशी हुँदा हुन्।

खेल सकियो। म्याच पछिको कन्फ्रेन्सका लागि तल कन्फ्रेन्स हलमा हामी भेला भयौं। सात दोबाटोमा पौडी हुने भएकाले सहकर्मी समर्थ सिधै उता हान्निए। म चाहिँ प्रशिक्षकका कुरा सुन्न बसेँ। पहिला माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले आफूहरु अग्रता लिन सक्षम भएको बताउँदै पुरानै कुरा दोहोर्‍‍याए। उनी शुरुकै दिनबाट लगातार खेल भएको भन्दै आयोजकको आलोचनामा लागेका थिए। यद्पि, हिजो ‘रेस्ट डे’ थियो।

त्यति समाचार सम्प्रेषण गरिनसक्दै पौडीमा गौरिका सिंहले रजत पदक जितेको खबर सहकर्मी समर्थले सुनाए। ओहो! एउटै सागमा चारवटा पदक। मिडिया सेन्टरमा चर्चा पनि चल्यो। उनले यसअघि पहिलो पदकको रुपमा स्विमिङतर्फ २०० मिटर फ्रिस्टाइलमा स्वर्ण, दोस्रो पदक टिम इभेन्ट्स ४०० मिटर रिलेमा कास्य तथा तेस्रो पदकको रुपमा २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।

त्यस्तै आजै कुस्तीमा पनि जनकपुरमा स्वर्ण जितेको थियो नेपालले। जनकपुरका सहकर्मीले समाचार पठाएपछि त्यसको पनि जनाकारी पाएँ। त्यस्तै माल्दिभ्सका प्रशिक्षक पनि बर्खास्त भएको सूचना पनि पाएँ।

बेलुकी भइसकेको थियो। साग शुरु भएयता बाहिरै खाना खाइरहेकाले आज आँफै बनाएर खान मन लागेको थियो। निस्कनु अघि नेपालको स्वर्ण पदक गन्न मन लाग्यो। ४३ पुगेछ।

सदस्यसचिवको अनुमान पुग्न ७ मेडल बाँकी रह्यो। केही दिन र खेल त बाँकी नै छ।

जे होला, हेरौंला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell