
पोखरा : १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत यहाँ सञ्चालित भारोत्तोलनमा अहिलेसम्म नेपालले दुई स्वर्णसहित १४ पदक जित्न सफल भएको छ। पोखरा महानगरपालिका–१२ माटेपानीस्थित एसआर केसी बैंकेटमा आयोजित प्रतियोगिताको आज भएको खेलमा नेपाली खेलाडी महिला तथा पुरुषतर्फ दुई रजत र चार कास्य पदक जित्न सफल भएका हुन्।
पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान कास्य जितेका छन्। बीस स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले अझै पुरुषतर्फ टु वेट क्याटेगोरीमा अन्तिम दिन आइतवार खेल्दैछ।
पोखरामा आज भएको प्रतियोगितामा नेपालका अस्मिता राई (८७ प्लस) र विशालसिंह विष्ट (९६ केजी) ले तौल समूहमा रजत पदक जितेका हुन्। पुरुष ९६ केजी तौल समूहमा बंगलादेशका जाइरुल इस्लामले स्वर्ण जिते। उनले स्न्याचतर्फ १२० र क्लिन एण्ड जर्कमा १४२ गरी कूल २६२ भार उठाउँदै स्वर्ण पदक जितेका हुन्।
रजत दिलाउने नेपाली खेलाडी विष्टले स्न्याचमा १०७ र क्लिन एण्ड जर्कमा १४० गरी कूल २४७ भार बहन गरे। १९ वर्षे विष्ट कञ्चनपुरका हुन्। चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उनले रजत दिलाउन सकेकामा खुशी लागेको प्रतिक्रिया दिए। यस्तै भारोत्तोलनमा पहिलो सहभागिता जनाएको भुटान सो इभेन्टमा पहिलो कास्य जित्न सफल भयो। प्रतियोगितामा किन्ले ग्याल्सेनले कास्य पदक जितेका हुन्। उनी स्न्याचमा ८० र क्लिन एण्ड जर्कमा ९० सहित कूल १७० भार उठाउन सफल भए।
आजै भएको महिला ८७ प्लस तौल समूहमा श्रीलंकाकी तिमाली हापुथेनाले स्वर्ण जितिन्। उनले स्न्याचमा ८० र क्लिन एण्ड जर्कमा १०० गरी कूल १८० तौल उठाइन्। नेपालका तर्फबाट नेपाली सेनाकी अस्मिता राईले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ६५ गरी कूल १२५ तौल भारवहन गर्दै रजत दिलाउन सफल भइन्। सो इभेन्टमा पाकिस्तानकी फेरोज परविन स्न्याचमा ५५ र क्लिन एण्ड जर्कमा ६० गरी कूल ११५ तौल उठाउँदै कास्य पदकमा सीमित भइन्।
यस्तै महिला ८७ तौल समूहमा भारतले स्वर्ण, पाकिस्तानले रजत र नेपालले कास्य जित्यो। भारतकी अनुराधा पभुन्नराजले स्न्याचमा ९० र क्लिन एण्ड जर्कमा ११० गरी कूल २००, पाकिस्तानकी रब्बिया राजाकले ६३, ७८ र १४१ तथा नेपालकी मनकुमारी कुमालले ६०, ७६ गरी कूल १३६ तौल उठाउँदै क्रमशः स्वर्ण, रजत र कास्य जिते। तनहुँकी कुमालले आठौँ राष्ट्रिय खेलकूदमा रजत जितेकी थिइन्।
पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते। प्रतियोगितामा पाकिस्तानी उस्मान अम्जाद राठोरले स्वर्ण र बंगलादेशका जियारुल इस्लामले रजत पदक जिते। पाकिस्तानले स्न्याचमा १५० र क्लिन एण्ड जर्कमा १८० गरी कूल ३३० तौल उठाउँदै स्वर्ण जितेका हुन्।
प्रतियोगितामा बंगलादेशका इस्लामले स्न्याचमा १०८ र क्लिन एण्ड जर्कमा १४२ गरी कूल २५० भारबहन गरी रजत र नेपालका सन्देशले स्न्याचमा १०० र क्लिन एण्ड जर्कमा १३५ सहित कूल २३५ उठाउँदै कास्य पदक दिलाएका हुन्। चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध छन्। उनी आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिताका स्वर्णधारी खेलाडी हुन्।
नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्य पदक जिते। महिला ७६ केजी तौल समूहमा बंगलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लिन एण्ड जर्कमा १०५ गरी कूल १८५ तौल उठाउँदै स्वर्ण जितिन्। त्यस्तै श्रीलंकाकी बिसी प्रियन्थीले स्न्याचमा ८३ र क्लिन एण्ड जर्कमा १०१ गरी कूल १८४ किलो तौल बहन गरी रजत पदक जितिन्। १२ औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लिन एण्ड जर्कमा ९७ गरी कूल १७२ तौल उठाएकी थिइन्।
प्रतियोगिताको ७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लिन एण्ड जर्कमा १०८ गरी कूल १९० भार गरी स्वर्ण र बंगलादेशकी जुहोरा खातोन निशाले कूल १६८ किलो तौल उठाउँदै रजत जित्न सफल भए। तीन देश मात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वन स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८० गरी कूल १४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन्।
प्रतियोगिताको पुरुषतर्फ ८९ केजी तौल समूहमा विकास थापाले २६९ केजी र महिलातर्फ ५९ केजी समूहमा सञ्जु चौधरीले १७१ केजी तौल उठाएर नेपाललाई स्वर्ण पदक दिलाएका थिए।