PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ह्याण्डबलको फाइनलमा नेपाली महिला टोली भारतसँग भिड्ने



रासस

ह्याण्डबलको फाइनलमा नेपाली महिला टोली भारतसँग भिड्ने
फोटो : रासस।

चिप्लेढुंगा : दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गर्दै नेपाली महिला टोलीले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो। टोलीले उपाधिका लागि आइतवार भारतसँग भिड्नेछ। खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोल गरिन्।

आजै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ। भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले समान ६ गोल गरे। बंगलादेश र पाकिस्तान आइतवार कास्य पदकका लागि खेल्नेछन्। १२ औँ संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण पदक विजेता र बंगलादेश रजत पदक विजेता हो।

पुरुष ह्याण्डबलमा भारत र पाकिस्तान फाइनलमा

साग अन्तर्गत पुरुष ह्याण्डबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन्। भारतले श्रीलंकालाई र पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनल पुगेका हुन्। आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३९–३२ गोलले हराउँदै फाइनल पुगेको हो। भारतका लागि सर्वाधिक दीपक र नवीन सिंहले समान सात गोल गरे।

दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशमाथि २७–१७ गोल जित निकाल्दै फाइनल पुगेको हो। मोहम्मद उजिर आतिफले सर्वाधिक सात गोल गरे। आइतवार भारत र पाकिस्तान स्वर्णका लागि फाइनल खेल्नेछन्। त्यस्तै, कास्य पदकका लागि श्रीलङ्का र बंगलादेश खेल्नेछ।

सागको ११ औँ संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो। जसमा ११ औँ संस्करणमा पाकिस्तान स्वर्ण विजेता र भारत रजत पदक विजेता बनेको थियो। १२ औँ संस्करणमा भारत स्वर्ण विजेता र पाकिस्तान रजत पदक विजेता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell