
स्पेनिस ला लिगा अन्तर्गत भएराति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई फराकिलो अन्तरले पराजित गरेको छ। बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले ह्याट्रिक महत्वपूर्ण रह्यो। मेस्सीको ह्याट्रिकको सहायतामा बार्सिलोनाले मालोर्कामाथि ५–२ को गोल अन्तरले जित निकाल्न सफल भयो।
खेलको ७ औं मिनेटमै एन्टोनी ग्रिजम्यानको गोलबाट अग्रता बनाएको बार्सिलोनाले पहिलो हाफमै अरु ३ गोल थपेको थियो। खेलको १७ औं र ४१ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दा ४३ औं मिनेटमा लुइस स्वारेजले गोल थपे। यता मालोर्काका लागि ३५ औं मिनेटमा बुदिमिरले १ गोल गरेका थिए।
पहिलो हाफमा ४–१ ले पछि रहेको मालोर्काले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ६४ औं मिनेटमा बुदिमिरले नै अर्को गोल थपे। तर फेरि ८३ औं मिनेटमा मेस्सीले अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे।
जितसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
हिजै भएका अरु खेलहरुमा रियल मड्रिड, ग्रानडा र भ्यालेन्सियाले जित निकालेका छन्।
अंकतालिकामा समान ३४ अंकसहित बार्सिलोना र रियल मड्रिड पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै ३० अंक सहित सेभिल्ल तालिकाको तेस्रो स्थानमा छ।