PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

साग फुटबलमा बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुगे स्वर्णका लागि भुटानसँग भिडन्त



पहिलोपोस्ट

साग फुटबलमा बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुगे स्वर्णका लागि भुटानसँग भिडन्त
फाइल फोटो

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबल खेलमा माहोल अर्कै छ यसपटक। प्रतियोगितामा कमजोर मानिएको भुटानले फाइनल यात्रा तय गरिसकेको छ भने स्वर्ण पदकको मुख्य दाबेदार मानिएको माल्दिभ्स स्वर्णको होडबाटै बाहिरिइसकेको छ। यतिसम्म कि माल्दिभ्स फुटबल फेडेरेसनले प्रशिक्षक पिटर सेगार्टलाई प्रशिक्षकबाटै हिजै बर्खास्त गरिसकेको छ।

नेपालले हिजोको खेलमा माल्दिभ्सलाई हराउँदै केहीबेर तालिकाको शीर्ष स्थानमा रह्यो तर भुटानले श्रीलंकामाथि जित निकाल्दै पुनः आफ्नो नियमित स्थानमा कायम रह्यो।

नेपालले आज बंगलादेशसँग खेल्दैछ। लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गर्न नेपाललाई जित आवश्यक छ। बराबरी खेलेमा पनि शीर्ष दुईभित्र पर्दै नेपाल फाइनल पुग्नेछ। नेपाल वा बंगलादेश जो फाइनल पुगे पनि प्रतिद्वन्द्वी भुटान निश्चित छ।

यस अर्थमा नेपालले जित वा बराबरी खेलेमा भुटानसँग स्वर्णका लागि खेल्नेछ।

नेपालले जारी प्रतियोगितामा तीन खेल खेलेको छ। जसमा श्रीलंकासँग बराबरीबाहेक सबै खेल जितेको छ। पहिलो खेलमा भुटानलाई हराएको नेपालले दोस्रो खेलमा श्रीलंकासँग बराबरी गरेको थियो। त्यस्तै हिजो भएको खेलमा बलियो मानिएको माल्दिभ्सलाई हराएको थियो। अर्कोतर्फ बंगलादेश भुटानसँग पराजित भएको थियो भने माल्दिभ्ससँग बराबरी र श्रीलंकासँग हार ब्यहोरेको थियो।

यता फाइनलमा स्थान सुरक्षित गरिसकेको भुटान भने नेपाललाई फाइनलमा नभेट्न चाहन्छ। हिजोको खेलमा श्रीलंकामाथि शानदार जित दर्ता गरेपछि भुटानी फुटबलका प्रशिक्षक पेमा दोर्जीले आफूहरूले फाइनलमा नेपालसँग खेल्न नचाहेको बताए। यसको कारण थियो समर्थक।

फाइनलमा नेपाल नपरेको खण्डमा नेपाली समर्थकहरूले भुटानलाई समर्थन गर्ने लगभग निश्चित जस्तै हुन्छ।

एकपछि अर्को ऐतिहासिक जित निकाल्दै आएको भुटानलाई हिजोको खेलमा समर्थको साथ मिलेको दोर्जीले बताए। उनले ठट्टा गर्दै भने, ‘बंगलादेश फाइनलमा आयो भने हामीलाई नेपाली समर्थकको साथ रहन्छ।’

आजको खेल नेपालका लागि सेमिफाइनल जस्तै छ।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell