PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सागको फाइनलमा नेपाल र भुटान : बंगलादेशका प्रशिक्षक भन्छन्, 'फाइनल टफ हुन्छ'



मुकुन्द घिमिरे

सागको फाइनलमा नेपाल र भुटान : बंगलादेशका प्रशिक्षक भन्छन्, 'फाइनल टफ हुन्छ'

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा टफ कम्पिटिसन हुने बंगलादेशका प्रशिक्षक जेम्मी डेले बताएका छन्। नेपाल र बंगलादेशको खेलपछि 'पोस्टम्याच कन्फ्रेन्स'मा बोल्दै प्रशिक्षक डेले फाइनलमा पुगेका दुवै टोलीले  जारी प्रतियोगितामा उत्कृष्ट खेल्दै आएकाले  फाइनल प्रतिस्पर्धात्मक हुने बताए।

आजको  खेलबारे टिप्पणी गर्दै उनले आफूहरुले आजको खेल जित्न चाहे पनि असफल भएको स्वीकारे।

‘हामी यो खेल जित्न चाहन्थ्यौं। दुर्भाग्यबस शुरुमै गोल लाग्यो,’ इङ्ल्यान्डका नागरिक डेले भने, ‘हामीले पाएका अवसर सदुपयोग गर्न सकेनौं। हामी गोल्ड जित्न चाहन्थ्यौं।’

खेलमा विशेषगरी पछिल्लो समय तनावपूर्ण बनेको थियो। दुवै टिमका खेलाडीहरु रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिन्थे। तर, बंगलादेशका खेलाडीहरु भने अलि बढी नै आक्रामक देखिए। खेलको इन्ज्युरी समयको पनि अन्तिम मिनेटमा रेफ्रीसँग घम्साघम्सी पर्दा बंगलादेशका एक खेलाडी रेडकार्ड खाँदै बाहिरिनु समेत परेको थियो।

खेलाडी अनुशासनको विषयमा प्रशिक्षक डेले केही गलत भए पनि रेफ्रीको अपरिपक्व निर्णयहरुको परिणाम भएको भन्दै पन्छिए।

‘इमानदार हुने हो भने खेलका केही कुराहरु गलत थिए। केही निर्णयहरु अप्रत्यासित थिए,’ डेले भने।

प्रशिक्षक डेले रेफ्रीको भूमिकामा प्रश्न उठाए। र यसमा खरो पनि उत्रिए। उनले केही दिनै नमिल्ने कर्नर दिएको तर्फ पनि सङकेत गरे।

बंगलादेश जारी प्रतियोगितामा भुटान र नेपालसँग मात्र पराजित भएको टिम हो। उनले यस अर्थमा भुटानसँगको नेपालको फाइनल खेल टफ हुने बताए।

डे भन्छन्, ‘भुटानसँग राम्रा स्कोररहरु छन्। फाइनलमा बलिया टिम पुगेका छन्।’

यता नेपालका प्रशिक्षक बालगोपाल महर्जनले रेस्ट बिनै खेल्न परेकाले खेल खस्किएको बताए।

महर्जनको स्वर पुरै सुकिसकेको थियो। लगातार खेल परेकाले उनी पनि असन्तुष्ट नै थिए। अघिल्लो पटक कुराकानी गर्दा लगातारको खेलबारे खुलेर ‘कमेन्ट’ नगरेका महर्जनले आज भने खुलेरै आलोचना गरे।

प्रशिक्षक महर्जनले भने, ‘६/७ दिनमा ४ वटा खेल खेल्यौं। लगातारको खेलहरुले खेलाडी थाकेका छन्। हिजो पनि टफ म्याच खेलियो। आज पनि।’

उनले सेकेन्ड हाफमा इन्ज्युरीका बावजुत खेलेको बताउँदै आज खेलाडीलाई खेल्न कठीन भएको पुष्टी गर्न चाहे।

‘घाइते खेलाडीहरुको रिकभरी भइनसकेकाले भएकाले बल पोजिजनमा समस्या देखिएको हो,’ उनले भने।

खेलको क्रममा कप्तान सुजल श्रेष्ठ, सुनिल बललगायतका खेलाडीहरु पटकपटक घाइते भएका थिए। कप्तान श्रेष्ठ त घाइते भएकै कारण मैदान बाहिरिए।

‘मैले उसलाई भेटेको त छुइन। तर सामान्य घाइते मात्र भएको हो भन्ने लाग्छ। कप्तान हो, इच्छाशक्तीले पनि उसलाई उठाउछ,’ प्रशिक्षक महर्जनले कप्तान श्रेष्ठको बारे बताउँदै भने।

नेपालको एकमात्र निर्णायक गोललाई एसिस्ट गरेका सुजल श्रेष्ठ पटकपटक गोल स्कोरको नजिक पुगेका थिए। उनले प्रहार गरेको बल एकपटक पोस्टमा ठोकिएर फर्किएको थियो भने केही प्रहार गोलकिपरले रोकेका थिए।

प्रशिक्षक महर्जनले सँधै झै आज पनि आफ्नो खेल नीति बारे कुरा गर्न छुटाएनन्।

‘क्वालिफाइ हुनै पर्ने रणनीतिमा थियौं हामी। खेलाडीहरुले त्यसै अनुरुप खेले। जारी सागमा नेपालको टिममात्र अपराजित हुँदै फाइनलसम्म पुग्ने टोली बन्यो। अब भुटानसँगको फाइनल खेल जितेर स्वर्ण हात पार्छौं,’ महर्जनले गौरवान्वित हुँदै भने।

खेलका क्रममा बंगलादेशको पास उत्कृष्ट थियो। यद्यपि फिनिसिङका लागि मुभहरु बनाउन नसक्दा बंगलादेशले गोल गर्ने सकेन। यता नेपाली टिम भने डिफेन्सिभ खेलेर काउन्टर अट्याक गर्ने रणनीतिमा देखिन्थे।

यसक्रममा केही खेलाडी सेल्फिस पनि देखिएका थिए। प्रशिक्षक महर्जनले यसको दोष लिगहरुलाई दिएर पन्छिए।

‘नेपालमा लिगहरुको कमी भएकाले खेलाडीहरु प्रोफेसनल हुन नसकेका हुन्। अनुभवको कमीका कारण यस्तो देखिएको हो। हाम्रा खेलाडीले सीमित खेल मात्र खेलेकाले अनुभवको अभावका कारण यस्तो भएको हो,’ प्रशिक्षक महर्जनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell