सागको सेड्युल अलि खकुलिँदै गएको महसुस भयो आज एक्कासी। त्यसैले सबैतिर बुझ्दा साढे ९ बजेतिर रंगशाला पुग्दा हुने हिसाब लगाएँ। पहिला थियो बास्केटबलको प्रतिस्पर्धा।
बास्केटबल हेर्न थालेको केहीबेरमा सहकर्मी प्रविन त्यहाँ आइपुगे। र, त्यसको केहीबेरमा समर्थ। तीनै जना एकै ठाउँ बसेर पनि काम थिएन। लागियो लगनखेलतिर। जुडो चलिरहेको थियो। हामीले चाहेको कुरा त्यहाँ पाएनौं तर सेमिफाइनलका गज्जब खेलहरु हेर्न भने मिल्यो।
‘अब चार बजेसम्म ब्रेक भएर मात्र खेल फेरि शुरु हुन्छ रे,’ प्रविणले सुनाए।
के गरौं, गरौं भयो।
त्यतिकैमा साथी समर्थले म पौडी र बक्सिङ खिच्छु तिमीहरु बाँकी मिलाउ भने। बाँकी थियो जुडो र फुटबल।
जुडोमा फाइनल खेल। फुटबलमा फाइनलमा जाने खेल। एउटै समय।
पर्नु विस्मात पार्यो। ‘मेघा’ इभेन्ट यस्तै त हो भनेर साथी प्रविणलाई भ्याउन्जेल जुडो हेर्नु है भनेर म रंगशाला आएँ। त्यहाँ अरु खेल त थिएन। तर, त्यहाँ बसेर म अरु अपडेटहरु लिन सक्थेँ। र त्यही गरेँ।
म मिडिया सेन्टरमा थिएँ। ४ नबज्दै बाहिर फुटबलको माहोल बनिसकेको थियो। दर्शकहरु आउन थालिसकेका थिए। खेल पनि निकै महत्वपूर्ण थियो, नेपालका लागि।
जिते स्वर्णका लागि प्रतिस्पर्धा। हारे कास्यको काँधमा। बराबरी गरे पनि फाइनल खेल्न पाइने। एकप्रकारको सेमीफाइनल खेल नै थियो आज।
लगभग साढे ४ बजेको थियो म प्यारापिटमा जाँदा। आज बाहिरबाट आउने साथीहरुलाई डिएसपी सा’बले अवरोध गरे गरेनन् थाहा भएन। म पहिलाबाटै भित्रै थिएँ। पछि त्यस्तो चर्चा पनि केही सुनिएन। म माथि पुग्दा प्यारापिट भरिनै लागेको थियो।
नेपाल! नेपाल!!
समर्थकहरुले हुटिङ लगाउन थालिसकेका थिए। ‘अरे आज प्यारापिट नभरिएको?’ मलाई अचम्म लाग्यो हिजोको खेलमा त्यत्रो मान्छे आज प्यारापिट नै खाली खाली? अचम्म लाग्दै थियो।
मेरो ‘अचम्म’ धेरैबेर टिकेन। खेल शुरु हुन थालिसक्दा त मान्छे अघि भरिएछन्। कति छिटो।
‘जुडोमा स्वर्ण आयो रे! देविका खड्काले ५२ केजीमुनlको प्रतिस्पर्धामा स्वर्ण जितिन रे।’ मेरो पछाडl हल्ला चल्दै थियो। म अफिसमा म्यासेज गरेर कन्फर्म गराउन चहान्थे। नेट चल्दै चलेन। केही बेरपछि बिस्तारै म्यासेज गएछ।
नेट नचलेकाले थप कुरा थाहा पाइएन।
खेल चल्दै थियो। बंगलादेशले राम्रो पास खेल्दै थियो।
गोल!!!
हिजो समर्थकको हुटिङ हेर्ने भएर गोल हानेको हेर्न नपाएको मैले आज चाहिँ प्रस्ट गोल देख्न पाएँ।
‘जुडोमा अरु पदक पनि आयो।’
अड्किँदै चल्दै गरेको म्यासेन्जरबाट जानकारी पाएँ। इन्टरनेटको भर थिएन सहकर्मी सहयोगलाई फोन गरेर मलाई आएजति जानकारी दिएँ- एकोहोरो। दोहोरो कुरा त हल्लाले केही बुझ्न सक्ने अवस्था थिए। उनले बुझे बुझेनन्, उनै जानुन्।
खेल रमाइलो भइरहेको थियो। मलाई बंगलादेशको पास राम्रो लागिरहेको थियो भने नेपालको काउन्टर अट्याक। खेल जमेको थियो। बंगलादेशले राम्रो पास खेलेर पनि फिनिसिङ गर्न सकिरहेको थिएन। नेपालको चाहिँ बल होल्ड गर्न र पासमै पनि समस्या देखिइरहेको थियो। फ्र्याङ्कली भन्दा केही खेलाडीले सेल्फिस पाराले खेलेको हो कि जस्तो पनि लाग्ने।
पहिलो हाफ सकियो।
यसैबीच गौरिका सिंहले स्वर्ण जितेको खबर आयो। तेस्रो स्वर्ण। पाँचौं पदक। १३ सागमै। साथी समर्थ उतै भएकाले मलाई समस्या थिएन। अरु अरु न्युज आए पनि मैले खासै चासो दिइन। दोस्रो हाफ शुरु भइसकेको थियो।
दोस्रो हाफ जति प्रतिस्पर्धात्मक हुँदै थियो। त्यति नै रफ पनि। पहिलो हाफ खेल बढी भएको थियो। दोस्रो हाफमा चाहिँ लड्ने र लडाउने धेरै भएजस्तो लाग्यो। नेपालका कप्तान सुजल श्रेष्ठ र सुनिल बल त उभिनै नसक्ने अवस्थामा बाहिरिएका थिए। फर्वाड अभिषेक रिजाल पनि पटकपटक लडेका थिए। दोस्रो हाफको शुरुबाटै दुवै टिमका खेलाडीहरु रेफ्रीको निर्णयलाई चित्त बुझाइरहेका थिएनन्।
खेलको अन्तिममा त अझ राम्रै घम्साघम्सी पर्यो। रेफ्रीले रेड कार्डसम्म पनि दिनु पर्यो। त्यो पनि इन्ज्युरी समयको अन्तिम मिनेटमा। त्यसैले पनि खेल सकिँदासम्म बंगलादेशका खेलाडीको चित्त बुझिरहेको थिएन।
खेल सकियो। अब कसैको चित्त बुझ्नु या नबुझ्नुले केही अर्थ राख्नेवाला पनि थिएन।
नेपाली टिम फाइनलमा पुगेको थियो। प्रतिस्पर्धी निश्चित नै भुटान।
त्यसो त भुटान चाहँदैन थियो कि नेपाल फाइनलमा परोस्। यसको मुख्य कारण त भुटान नेपाली समर्थकको साथ चाहन्थ्यो फाइनलमा। जुन नेपालसँग खेल्दा सम्भव थिएन। त्यस्तै यही प्रतियोगितामै फराकिलो हार ब्यहोरिसकेको भुटानलाई ‘साइकोलोजिकल फ्याक्टर’ ले पनि असर गर्नेवाला थियो।
फाइनलमा प्रतिस्पर्धी कुरिरहेको भुटानले प्रतिस्पर्धी पायो नेपाल। साग फुटबलको साबिक बिजेता। घरेलु टिम।
नेपाल यता फाइनलमा पुग्दा म चाहिँ उता जुडोको फाइनल सम्झँदै थिएँ। दिउँसो हेर्न रमाइलो लागि रहेको थियो। फाइनल हेर्न मन थियो तर फुटबल छोड्न झन मन थिएन। मनमा यही विरोधाभासका वीच रंगशाला आइपुगेको थिएँ।
फुटबल सकियो। हामी पुग्यो पोष्ट म्याच कन्फ्रेन्समा। त्यहाँ बंगलादेशका प्रशिक्षक जेम्मी डे आइपुगे। उनी निराश देखिन्थे। स्वभाविक पनि थियो।
उनले त्यहाँ रेफ्रीको निर्णयहरु असान्दर्भिक रहेको टिप्पणी गरे। आफूहरु स्वर्ण जित्न आएको भए पनि त्यसमा असफल भएको स्वीकार गरे। नेपालले छिटै लिड गरेपछि बंगलादेश प्रेसरमा आएको उनको भनाइ थियो।
त्यस्तै नेपालका प्रशिक्षक बालगोपाल महर्जनले लगातार खेल्न परेकाले खेलाडीहरुले क्षमता अनुरुप प्रदर्शन गर्न नसकेको बताए। हुन पनि माल्दिभ्ससँग हिजो खेलेको नेपालले आजै बंगलादेशसँग खेल्दै थियो।
भुटानका प्रशिक्षक पेमा दोर्जीको भनाइलाई जस्ताको तस्तै सापट लिने मिल्न अवस्था थियो यहाँ।
‘खेलाडी गोरु त होइन। लौरो हानेर जोताउने कुरा भएन। रेगुलर खेल्दा त थाकिहाल्छ नि,’ नेपालका प्रशिक्षक महर्जनले भन्न चाहेको गाठ्ठी कुराचाहिँ यही नै थियो।
मिडिया सेन्टरमा गएर समाचार पठाएपछि यसो सोचेको साग त सेलाएछ। शुरु शुरुका दिनमा त बिहान देखि रातिसम्मै मेडल गन्न भ्याइनभ्याइ हुन्थ्यो। कता के कता के भनेजस्ता। अब चाहिँ प्रतियोगिता घट्दै गएकाले होला सागको प्रेसर घटेर गएको महसुस भयो।
प्रेसर पनि के को? इन्जोए। आफै हाँसो उठ्यो।
जय भोलि र पर्सि।