PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

के फेरि सभामुख बन्दैछन् सुवास नेम्वाङ?



कुञ्जरमणि भट्टराई

के फेरि सभामुख बन्दैछन् सुवास नेम्वाङ?

काठमाडौँः प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको साढे दुई महिना बितिसकेको छ। संसद् अधिवेशन नभएका कारण सभामुख चयनको प्रक्रिया अघि बढेको छैन। तत्कालीन सभामुख कृष्णबहादुर महराको राजीनामापछि दशैँ, तिहा, छठजस्ता पर्व र उपनिर्वाचन भएका कारण पनि सभामुख निर्वाचनको चर्चा राजनीतिक वृत्तमा कमै भयो। तर, संघीय संसद् अविधेशन आह्वानको तयारीसँगै नयाँ सभामुख चयनबारे राजनीतिक विमर्श हुन लागेको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सभामुख चयनको परामर्श सुरु गरेको छ।

उपनिर्वाचनको समीक्षा, पार्टीको सांगठानिक एकीकरणका बाँकी काम, स्थायी समिति तथा केन्द्रीय समिति बैठक, सभामुख चयनलगायतका विषयमा छलफल गर्न सोमबार नेकपा सचिवालय बैठक समेत आह्वान गरिएको छ।

सचिवालय बैठकअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग एजेण्डाबारे लामो परामर्श समेत गरेका छन्। उक्त परामर्शमा सभामुख चयनको विषयले समेत प्रवेश पाएको प्रचण्ड निकट स्रोतको दाबी छ।

सभामुख चयनमा नेकपाभित्र पूर्व माओवादी खेमाको पनि बलियो दाबेदारी छ। यसअघिका सभामुख महरा माओवादीकै कोटामा सभामुख भएकाले पूर्व माओवादीले सभामुख पद नछोड्न बलियो दबाब प्रचण्डलाई दिइरहेको छ।  

महराको राजीनामासँगै पूर्व माओवादीबाट ओनसरी घर्ती, लेखराज भट्ट, अग्नि सापकोटा, तथा  देवप्रसाद गुरुङको चर्चा गरिएको थियो। यसबीचमा भट्टले मन्त्रिपरिषदमा जिम्मेवारी पाइसकेका छन्। वर्षमान पुन मन्त्रीमा नै निरन्तर भएपछि ओनसरी घर्तीको सम्भावना कम रहेको उनी निकटहरुको विश्लेषण छ। गुरुङ र सापकोटा चर्चामै रहे पनि गुरुङको सम्भावना भने न्यून रहेको बताइँदै आइएको थियो। तर पछिल्लो समय प्रचण्ड सभामुख चयनबारे निकै लचक छन्।

कार्यकारी अधिकारपछि प्रचण्ड लचक

प्रधानमन्त्रीमै आलोपालो सहमति भएको दाबी गरिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै पार्टीमै कार्यकारी अधिकार पाएपछि सभामुख चयनलगायतका विषयमा प्रधानमन्त्रीसँग लचक बनेको स्रोत दाबी गर्छ।

आइतबार प्रधानमन्त्रीसँगको छलफलमा समेत सभामुख चयनका विषयमा प्रचण्ड ओलीबीच पूर्व सभामुख सुवास नेम्वाङबारे चर्चा भएको दाबी स्रोतको छ।

प्रधानमन्त्रीसँगको छलफलपछि पूर्व माओवादीका केही नेताहरुले प्रचण्ड सभामुखमा सुवास नेम्वाङप्रति सकारात्मक रहेको पाइएको बताए।

‘मुख्यगरी सरकारलाई समेत सहयोग गरेर अघि बढ्नुपर्ने र विश्वस्त व्यक्तिको खोजीमा दुई अध्यक्ष रहेको बुझिन्छ। संसदीय समितिको गतिविधिबाट दुबै अध्यक्ष त्यति सकारात्मक छैनन्।  सभाध्यक्ष विश्वस्त व्यक्ति हुँदा सरकारलाई पनि सहज हुन्छ। जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सक्ने अनुभवी व्यक्तिलाई सभामुख बनाउनुपर्छ भन्ने दुबै अध्यक्षको मत छ। यसो गर्दा सुवास नेम्वाङ बलियो उम्मेदवार हुन्।

पछिल्लो समयमा नेम्वाङ र प्रचण्डबीच निकट दुरीमा सम्बन्ध छ। प्रधानमन्त्री विरामी परेपछि उपनिर्वाचन र पार्टीका कार्यक्रममा सँगै देखिन्छन्।

उपनिर्वाचनमा धरान जान जोड गरिरहेका नेम्वाङ प्रचण्डकै आग्रहपछि पोखराको सभामा पुगेका थिए। इलाम, पोखरा, भक्तपुरलगायतका क्षेत्रमा पार्टी अध्यक्ष प्रचण्ड र नेम्वाङ सँगै थिए।

शिवमायाको दाबी कायमै

संवैधानिक व्यवस्थाअनुसार सभामुख फरक पार्टी र लिंगको हुनु पर्नेछ। हाल उपसभामुख नेकपाबाट शिवमाया तुम्बाहाङ्फे छिन्।

उनले पनि सभामुखमा दाबी गरिरहेका छिन्। केही समय आफू किन सभामुख नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेकी उनी अहिले खासै प्रतिक्रिया जनाइरहेका छैनन्।

सभामुखमा उम्मेदवारी दिन नेकपाले शिवमायालाई राजीनामाको तयारी समेत गरेको छ। संसद् अधिवेशन आह्वानसँगै उनको राजीनामा हुने नेकपा स्रोतको दाबी छ। तर, तुम्बाहाङ्फेको व्यवस्थापनबारे कुनै निर्णय भने भइसकेको छैन।

नेम्वाङ फेर्दैछन् मुड

कृष्णबहादुर महराले राजीनामा दिएपछि निकै आक्रमक टिप्पणी गरिरहेका थिए नेम्वाङ। महराले सभामुखबाट मात्र राजीनामा दिएपछि पार्टीको निर्देशन सांसद्बाट समेत राजीनामा दिनुपर्ने भनेर अभिव्यक्ति पनि नेम्वाङले दिइरहे। तर, पछिल्लो समय सभामुखबारे नेम्वाङले कुनै प्रतिक्रिया सार्वजनिक रुपमा दिएका छैनन्।

महराको राजीनामापछि नेम्वाङले सभामुखमा नयाँ व्यक्तिलाई चयन गर्नुपर्ने सार्वजनिक रुपमै बताउँदै आएका पनि थिए। तर, केही समयपछि आफू निकटहरुसँग सभामुखबारे अभिव्यक्ति नदिन दुई अध्यक्षकै निर्देशन भएका बताएका थिए।

‘सभामुखबारे उपयुक्त समयमा निर्णय हुन्छ। तपाईँ अहिले प्रतिक्रिया नदिनुस् भन्नुभएको छ’, दुई अध्यक्षको निर्देशनबारे आफू निकटसँग नेम्वाङले भनेका थिए।

कुनै पनि प्रतिक्रिया नदिएका नेम्वाङ पछिल्लो समयमा भने सभामुखप्रति आशावादी समेत देखिएका छन्। शीर्ष नेताहरु नेम्वाङप्रति सकारात्मक बन्दा सभामुखमा उनको सम्भावना बढेको नेकपा नेताहरु बताउँछन्। हाल सभामुखको चर्चामा रहेकाहरुलाई भने मन्त्रीका रुपमा देख्न सकिने नेकपा स्रोतको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell