PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इमाडोलमा बेहोस फेला परेका गाडी चालकको मृत्यु : के हो दुर्घटना वा हत्या ?



पहिलोपोस्ट

इमाडोलमा बेहोस फेला परेका गाडी चालकको मृत्यु : के हो दुर्घटना वा हत्या ?

काठमाडौं : ललितपुरको इमाडोलमा आइतवार राति बेहोस अवस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ। दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर १ का विनोद खत्रीको उपचारको क्रममा मृत्यु भएको हो।

आइतवार राति करिब साढे ९ बजे सडकमा बेहोस अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी प्रभाग इमाडोलको टोलीले खत्रीलाई राति नै पाटन अस्पताल पुर्‍याएको थियो। तर, त्यहाँ उपचार सम्भवन नभएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। खत्रीको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो।

गाडीका चालक समेत रहेका खत्रीको शरीरमा कुनै चोट देखिएको छैन। दुर्घटना वा हत्या केही खुल्न नसकेको प्रहरीले जानकरी दिएको छ।

'हामी पुग्दा स्थानीयले ट्याक्सीमा राखिसकेका थिए। शरीरमा कुनै चोट छैन। सडकमा दुर्घटनाको संकेत गर्ने कुनै रगत पनि देखिएन,' महागनरीय प्रहरी प्रभाग इमाडोलमा प्रहरी निरीक्षक राजु कार्कीले भने।

तर, स्थानीयले भने दुर्घटना जस्तो आवज आएको र एउटा मोटरसाइकल लुभुतिर भागेको प्रहरीलाई जानकारी दिएका छन्। त्यस्तै पीडित पक्षले हत्या भएको आशंका समेत गरेका छन्।

'अहिले घटना के भएको हो भन्ने यसै भन्न सकिएन। थप अनुसन्धान गरिरहेका छौं,' निरीक्षक कार्कीले भने।

प्रहरीले घटनाको अनुसन्धान गर्न वरपरको सीसी क्यामरा फुटेजसमेत संकलन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell