PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बक्‍सिङ रिङमा भारतीय खेलाडीलाई हराउँदै पहिलो पटक स्वर्ण : मीनु गुरुङको लक्ष्य अब ओलम्पिक



मुकुन्द घिमिरे

बक्‍सिङ रिङमा भारतीय खेलाडीलाई हराउँदै पहिलो पटक स्वर्ण : मीनु गुरुङको लक्ष्य अब ओलम्पिक

काठमाडौं : भारतमा भएको १२ औं सागमा मीनु गुरुङ श्रीलंकाली खेलाडीसँग पराजित हुँदै कास्य पदकमा सीमित भइन्। उनको लक्ष्य थियो फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने र स्वर्ण जित्ने। तर, ४ वर्षअघि आफ्नो लक्ष्यमा चुकेपछि लगातार प्रशिक्षणमा रहेकी मिनुले यसपटक कीर्तिमान बनाएकी छिन्, पूरानो टार्गेट पूरा गर्दै।

उनले यो लक्ष्य हासिल गर्दा नेपाली बक्सिङ इतिहासमा नै पहिलो पटक महिलाले स्वर्ण पदक मुलुकका लागि भित्र्याएकी हुन्।

होम ग्राउन्डमा भएको प्रतियोगितामा मीनुले स्वर्ण पदक जितिन्। वर्षौंको मेहनतलाई स्वर्णमा परिणत गरेरै छाडिन् उनले।

मीनुले राष्ट्रिय गानबीच स्वर्ण पदक लगाइरहँदा १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बक्सिङको महिलातर्फ नेपालले स्वर्ण यात्रा सुरु गरेको छ। ५४ केजी तौलमुनि भएको प्रतिस्पर्धामा भारतीय खेलाडीलाई पराजित गर्दै गुरुङले स्वर्ण जितेकी हुन्।

१३ औं साग नेपालमा नै हुने भएपछि आफू कास्यलाई स्वर्णमा नै रुपान्तरण गर्न लागिपरेको सुनाउँदै भनिन्, 'यो जितेको पदक मेरो आमाबुबा र राष्ट्रलाई अर्पण गर्छु। भारतलाई नै हराउँदै स्वर्ण जित्दा धेरै खुशी छु।'

घरबाट खेलाडीका रुपमा संघर्ष गर्न निकै सहयोग भएकाले आफूमा थप उर्जा थपिएको उनको भनाइ छ। विशेष गरी आफ्नी आमा र दाजुको 'सपोर्ट' कै कारण स्वर्ण जित्ने सपना पूरा भएको मीनुले जितपछि बताइन्।

चितवनकी मीनुलाई घर परिवारको सहयोगले सेनामा भर्ती हुन सघायो जसले उनको खेल जीवनलाई नयाँ गोरेटो दियो। २०६९मा सेनामा भर्ना भएकी हुन् उनी।

महिला खेलाडीलाई समाजमा हेर्ने दृष्टिकोण र खेलमा प्रेसर बीच स्वर्ण जितेकी मीनु उनका संघर्ष दिन सम्झिँदै भन्छिन, 'आमालाई धेरै सम्झिरहेको छु। उनलाई आंगालोमा बाँध्न चाहन्छु।'

एसियन गेम्समा पनि सहभागी भइसकेकी मीनु सागमा अब्बल ठहर हुँदै गर्दा रिङमा केही बेर आत्तिएकी थिइन्।

'खेलको समयमा केही डर पनि लाग्यो। तर रिङको अर्को भागमा रहेको भारतलाई पराजित गर्ने दृढता थियो,' उनले भनिन्, 'भारतलाई पराजित गर्छु भन्ने लागेकै थियो। रेफ्रीले हातमाथि उचालेर मलाई विजेता घोषित गर्दा निकै गर्व लाग्यो।'

जितका लागि आफ्नो गुरु र प्रशिक्षकहरुले पनि धेरै मेहनत गरेको बताउँदै उनले खेलाडीहरुलाई प्रोत्सहन गर्दै गए खेलकुदमा नेपालले थप कीर्तिमान कायम गर्न सक्ने बताइन्।

प्रशिक्षक पनि उनको जितसँगै खुशी छन्। आर्मीमा भर्ना भएदेखि प्रशिक्षण गराउँदै आएका प्रवीण तुलाधरले भने, 'सानो खेलबाट सुरु गर्दै उनले स्वर्ण जितेकी छिन्। उनले जित्नु भनेको उनको मेहनतले सफलता पाउनु हो।'

मीनु पनि आफ्नो खेलसँग सन्तुष्ट छन्। गुरु, परिवार र घरेलु समर्थकको हुटिङको तारिफ गर्दै उनी अबको यात्राबारे भनिन्, 'ओलम्पिकमा स्वर्ण जित्न लक्ष्य छ। त्यसैका लागि मेहनत गर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell