
काठमाडौं : नेपालकी प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ।
उपन्यासकार कार्कीका शब्दमा 'कारा' एउटा बन्धनको कथा हो। 'महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ,’ कार्कीले भनिन्।
निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि रहेको किताब पब्लिसर्सले जनाएको छ। बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरुले भोगेको यातनाको गाथा हो- कारा।
‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनेँ। देखें। त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो,’ कार्कीले बताइन्।
पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे–भोगेका महिलाहरुका पीडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको किताब पब्लिसर्सले जनाएको छ। अघिल्लो वर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका कृतिहरुमध्येमा पर्छ।
‘हामीले यो उपन्यासमार्फत् सुशीला कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएका छौं,' किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले भनिन्, 'यसले पाठकहरुलाई फरक स्वाद दिने हाम्रो अपेक्षा छ।’