PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लहलहैमा बक्सिङमा छिरेका भुपेन्द्रको भारतीय खेलाडीलाई हराउने त्यो कमिटमेन्ट...



मुकुन्द घिमिरे

लहलहैमा बक्सिङमा छिरेका भुपेन्द्रको भारतीय खेलाडीलाई हराउने त्यो कमिटमेन्ट...

काठमाडौं : खेलाडीको सबैभन्दा ठूलो लक्ष्य के हो?

पक्कै पनि पदक ल्याएर देशको नाम उचो पार्ने। आज बक्सिङको पुरुषतर्फ भुपेन्द्र थापाले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक हात पार्दै देशलाई पदक दिलाए। देशमात्र होइन उनको यो उपलब्धिले आठौं सागयता स्वर्ण जित्न नसकेको नेपाल बक्सिङ संघको समेत शिर उचो भएको छ।

‘भारतलाई हराएर स्वर्ण जित्ने सपना थियो। किनभने मैले भारतसँग जितिसकेको धेरै खेलहरु हारेको छु। भारतलाई हराउँछु भन्नेमा म ‘डिटरमाइन्ड’ थिएँ,’ स्वर्ण पद हात पारेपछि भुपेन्द्रले आफ्नो अनुभव सुनाउँदै भने।

उनले जितको श्रेय कोच गुरुहरु, आफन्त र शुभचिन्तकलाई दिन चाहेका बताए।

फाइनलमा आक्रामक खेलेर भारतका खेलाडीलाई हराएका उनले पहिलाबाटै भारतीय खेलाडीको खेल कौलश, स्टन्ड र तरिकाहरुलाई नियालिरहेका रहेछन्।

‘मैले प्रतिद्वन्द्वीको फाइटहरु सबै हेरिरहेको थिएँ। ऊ पनि मान्छे नै हो, हामी पनि मान्छे नै हो। उसले नि ट्रेनिङ गरेको हो, हामीले पनि ट्रेनिङ गरेको हो। उसले पनि चार हातले हान्दैन। दुई हातले नै हान्छ भन्ने सोचेको थिएँ,’ उनले ठट्टा गर्दै भने।

हौसेर बोलिरहेका उनी फेरि एक्कासी गम्भीर बने।

‘बक्सिङ खेल्न थालेपछि म कहिल्यै ब्याक भइन। डराउने हिच्किचाउने भन्ने कहिल्यै भएन,’ उनले थपे।

खेलबारे पनि उनले सम्झिन बिर्सएनन्। भारतका खेलाडीलाई टेक्निकमा हराउन कठिन हुने भएकाले पावर खेलेको उनले सुनाए।

‘एग्रेसिभ खेल्नु पर्थ्यो र खेलेँ। किनभने होम ग्राउन्डमा यति नगरे म जित्न सक्दिनँ। किनभने टेक्निकल्ली स्पीडमा उसको प्रदर्शन राम्रो थियो। उसलाई मैले पावरले नै पेल्ने हो भन्ने मलाई राम्रोसँग थाहा थियो। त्यो रणनीतिमा म खेलेको थिएँ,’ उनले भने।

र, उनी यो रणनीतिमा सफल पनि भए। स्वर्ण दिलाए, लामो खडेरीपछि।

त्यसपछि उनले आफ्नो तालिमलाई पनि सम्झिन भ्याए। क्लोज क्याम्पको क्रममा धेरै मेहेनत गरेको सम्झँदै उनले यसभन्दा ठूला अन्तर्राष्ट्रिय खेलहरुमा यतिको तालिम पदक ल्याउनका लागि पर्याप्त नहुने स्वीकारे। यसभन्दा ठूला खेलको तयारी गर्न १/२ महिना को क्लोज क्याम्पको तालिम पर्याप्त नहुने उनको तर्क थियो।

‘क्लोज क्याम्पमा राम्रो भएको थियो। थाइल्यान्डमा पनि राम्रो गरेका थियौं। दिन बिराएर स्पाइरिङ गरिरहेका थियौं। यसले अनुभवको विकास भयो। त्यसपछि हामी नेपाल आयौं। नेपाल आएपछि विदेशी कोच झिकाउनु भयो। उहाँको ट्रेनिङ प्लानमा हामीले पोखरा र काठमाडौंमा तालिम गर्‍यौं। यसमा सबैको लगानी छ। देन छ,’ उनले भने।

उनले बक्सिङ खेल्न थालेको २०६५ साल देखि हो। २०६८ देखि नेसनल च्याम्पियन पनि भए।

उनलाई नेसनलमा गेम्समा खासै समस्या हुन्छ जस्तो लाग्दैन। भने, ‘नेसनल च्याम्पियन हुन त्यति गाह्रो पनि छैन। खेलिरहेको हुनुपर्छ। अभ्यास गरे गाह्रो हुन्न। यहाँको ट्रेनिङले ठूला इन्टरनेसन लेभलमा चाहिँ भ्याउँदैन।’

अन्तिममा उनले कोचको मेहेनतलाई पनि सम्मान गर्न बिर्सिएनन्।

‘कोचहरुले जुन मेहेनत गर्नुभएको थियो। जुन रणनीतिहरु लिनुभएको थियो। त्यसैमा रहेर हामी अघि बढ्यौं र आजको सफलता देख्न सफल भयौं,’ उनले भने।

भुपेन्द्रको यो पहिलो साग गेम्स हो। र, पहिलो सागमै उनलाई हाता लाग्यो स्वर्ण। खडेरीमा पानी परेजस्तो दशक बितिसक्दा हात नपरेको स्वर्ण हात पारे थापाले। देश, संघ, परिवार र समर्थकलाई गौरवान्वित बनाउन कुनै कसर छाडेनन्, उनले।

थापाले यसअघि एसियन गेम्सचाहिँ खेलेका थिए।

आज हात पारेको मेडल आमालाई डेडिकेट गर्न चाहने यिनी नेपालमा अझै धेरै तालिमको आवश्यकता रहेको देख्छन्।

‘हामी सामान्य १ महिना २ महिनाको ट्रेनिङले अन्तर्राष्ट्रिय खेलहरु खेल्न जाने हो। तर, त्यति तालिमले पुग्दैन। अहिले होम गेममा धेरै च्यालेन्ज थियो, जित्नुपर्ने। साँझ बिहान खाइनखाइ भए पनि मेहनत गरिरहेका थियौं। त्यसैको प्रतिफल आज पायौं,’ उनले भने।

हाल उनी नेपाल पुलिसमा कार्यरत छन्।

आफूले हासिल गरेको मेडल आमालाई डेडिकेट गर्न चाहने थापाले सागमा स्वर्ण जित्दै गर्दा बक्सिङ सिक्न जाँदाको क्षणहरुलाई पनि सम्झिए। ती दिनहरुलाई सम्झँदा उनको मुहारमा बेग्लै चमक देखिएको थियो। उनले हाँस्दै भने, ‘बक्सिङमा चाहिँ म लहैलहैमा लागेर छिरेको हो। खास भन्नुपर्दा प्लस टू पढ्दा भलिबल खेल्थेँ। प्लस टू को एक्जाम सकिएपछि म फ्री थिए। भाइहरु बक्सिङ खेल्न जाँदा रहेछन्। त्यही लहैलहैमा लागेर म पनि बक्सिङमा हान्निएँ। खाली टाइमलाई सदुपयोग गर्न भनेर म बक्सिङमा आएको थिएँ।’

अहो! लहैलहैमा लागेर थालेको खेल। कति राम्रा लहैलहैमा लगाउने साथी पनि।

अन्तिममा उनले डिटरमाइन्ड हुँदै भने, ‘मेरो अर्को लक्ष्म भनेको ओलम्पिकमा क्वालिफाइ हुने नै हो। त्यसका लागि म तयारी अघि बढाउँछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell