१३ औं दक्षिण एसियाली खेलकुद यस्तो भएको थियो भन्न अब बुधवारसम्म कुर्नुपर्ने हुन्छ। साग सकियो, लगभग। खेल सकिँदै आए। केही फाइनल खेललाई छाडेर अब समापनमात्र बाँकी छ। त्यसपछि प्रतीक्षा रहने छ, चौधौं सागको - पाकिस्तानमा। भारत पाकिस्तानबीचको द्वन्द्व अहिलेकै अवस्था कायम रहेसम्म अर्को सागको निश्चिततामाथि कालो बादल मडारिरहने नै छ। आशा गरौं, बादल हट्छ, आकाश खुल्छ।
यता सागको माहोल सेलाउँदै गर्दा आज कीर्तिपुरमा क्रिकेटबाहेक बिहानै हतार गरेर कुद्नु पर्न अवस्था थिएन। धेरै पछि फुर्सदले खाना खाएर निस्किएँ आज। पहिला सातदोबाटो नै पुगेँ। बास्केटबलमा सहकर्मीहरु जाने कुरा थियो।
त्यहाँ पुगेर क्रिकेट लगायत अरु केही खेलका समाचार बनाएर पठाएँ। पोखरामा हुने महिला फुटबल फाइनलको ‘कर्टेन रेजर’ बिहानै पठाइसकेको थिएँ। अरु खासै पठाइहाल्नुपर्ने समाचार थिएन।
एक बजे ओलम्पिक कमिटी पुगेँ, प्रेस मिट थियो त्यहाँ। हामी त्यहाँ पुग्दा एकजना पत्रकार साथी बाहेक कोही पनि थिएन। हामी पनि केहीबेर बाहिरै बस्यौं, टेनिस हेर्दै। केही पर एन्फाको मैदानमा अभ्यास म्याच पनि चलिरहेको थियो। खोइ कस कसको हो मतलब भएन। अनुमानमात्र लगाउन सक्थ्यौं हामी- ए डिभिजन क्लबहरु थिए सायद्।
केहीबेरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत ओलम्पिक कमिटीका अधिकारीहरु त्यहाँ आए। हामी फेरि तलै झर्यौं।
त्यहाँ अर्को साग पाकिस्तानमा हुनेदेखि पाकिस्तानबाट आएका उच्चस्तरीय प्रतिनिधिबारे समेत चर्चा चलिरहेको थियो। म सुनि नै रहेको थिएँ।
फेरि पाकिस्तानमा साग आयोजना होला या सार्क सम्मेलन जस्तै होला? जिज्ञासा सबैसँग थियो। उत्तर कोहीसँग थिएन। उही बदली भएर पानी झर्ने र आकाश खुल्ने कुराजस्तै अनुमानका खेतीहरु कायम थियो।
‘चुनावको माहोल तात्दा मात्र हो, यस पटक साग नरोकिएला,’ सबैको बोली बन्द हुँदै गर्दा कसैको बोली फुट्यो।
हुन पनि सार्क दक्षिण एसियाका दुइ शक्ति राष्ट्रको पेलानमा छ। बिचरो अध्यक्ष नेपाल। आफै मिले ठीकै छ, नमिले प्रयास गरेजस्तो गर्नै पर्या पनि छ।
ग्रीक मिथमा हो - एउटा ‘सिसिपस’ भन्ने क्यारेक्टरले ढुङ्गा ठेल्छ। ठेलेर पहाडको माथि लैजान्छ। अलि माथि पुगेर ऊ थाक्छ र ढुंगा फेरि तल झर्छ। ऊ फेरि ढुंगा माथि लैजान्छ। ढुंगा फेरि तल झर्छ। यो शृङ्खला चलिरहन्छ।
सार्कमा नेपालको प्रयास यस्तै नै हो। प्रयास गरेजस्तो गर्ने, नभए नहोला। सागको अवस्था त्यस्तै चाहिँ नहोस्। हाम्रो ‘कन्सर्न’ चाहिँ त्यहीमात्र हो।
अँ। अनि शुरु भयो प्रेस मिट। के के बनाउने, सागलाई स्मरणमा राख्न भन्दै थिए। मैले सोचेजस्तो कार्यक्रम होइन रहेछ। कार्यक्रम राम्ररी नसकिइ हिँडे बक्सिङ हेर्न। बरु त्यता केही होला भन्ने लाग्यो।
साँच्चै ठीक गरेछु। म पुग्दा त बक्सिङमा स्वर्ण पदक नै पो आयो। ऐतिहासिक स्वर्ण। बक्सिङमा लामो खडेरी पछिको वर्षा भए झै थियो – स्वर्ण पदक।
स्वर्ण ल्याउने खेलाडी थिइन्, मीनु गुरुङ। निकै संघर्ष गरेर आएकी खेलाडी भए पनि परिवारले राम्रो सपोर्ट गरेको रहेछ उनलाई। उनी यति खुशी देखिन्थिन् कि उनका कुरा शब्दबाट भन्दा भावबाट बढी छचल्किन्थ्यो।
उनको कुरा सुनेँ। सुनेको कुरा सहकर्मी सहयोगलाई पठाएँ। अनि लागेँ जुडोतिर।
बक्सिङमा सहकर्मी प्रवीण भएकाले छुट्ने केही थिएन। फेरि यता पौडी पनि उसैले ‘कभर गर्छु’ भनेकाले ढुक्कै। यत्तिको साथी कहाँ पाउनु? म लागेँ जुडोतिर।
जुडो मलाई शुरुबाटै गज्जब लागेको खेल। छोटो, मीठो। एकछिन हेरेँ। नेपालको रजत पदक आयो। त्यसपछि स्वर्ण पनि। तर, खेलाडीसँग कुरा गर्न नपाउँदै खेलकुद परिषदतिर हान्निएँ।
साँझ पाँच बजे प्रेस मिट थियो। सदस्य सचिव सिलवाल अलि ढिला गरी आए।
‘म डेढ घन्टा ढिला आएको चाहिँ नछाप्नु है,’ आउने बित्तिक्कै उनले ठट्टा गर्न भ्याइहाले।
अनि चर्चा भयो साग समापनको। ओहो! साग त सकियो। झङ्ङग भएँ।
सदस्य सचिवले अनुमान गरेको स्वर्ण पदकको संख्या पुग्न १ बाँकी छ। ४९ पुगिसकेको छ। गौरिकाले स्वर्ण पदक हासिल गरिन् आज पनि।
‘सागमा पौडी अझै २/३ दिन हुँदो हो त के होला है?’ सँगै बसेका एकजना फोटोपत्रकारले रमाइलो पारामा भने। म फिस्स हाँसेमात्र।
एकछिन पछि सदस्य सचिवको कुरा सुनियो। हप्तादिन अघिसम्म धेरै तनावमा देखिने सदस्य सचिव मख्ख पर्नु स्वभाविक थियो। कतिलाई चित्त बुझ्यो, कतिलाई बुझेन। साग त सम्पन्न भयो नै। हुँदैन भन्दाभन्दै भयो। त्यो ठूलो कुरा लाग्छ मलाई।
भोलि प्रधानमन्त्रीले भिडियोबाट संबोधन गर्नेदेखि उपप्रधानमन्त्री इश्वर पोख्रेलले खेलाडीलाई सम्वोधन गरेर विशेष प्याकेजको घोषणा गर्नेसम्म ब्रिफिङ गरे सिलवालले।
नेपालीमा एउटा टुक्का छ- ‘हात्ती आयो हात्ती आयो फुस्सा’ खेलकुदमा विशेष प्याकेज भन्दा यही टुक्कालाई सम्झन्छु म।
साग शुरु हुनै लागेको थियो। खेलाडीका लागि प्रधानमन्त्री केपी शर्माा ओलीले विशेष सम्वोधन गर्ने तथा विशेष प्याकेज घोषणा गर्ने भनेर देशका विभिन्न स्थानमा अभ्यास गरिरहेका खेलाडीहरुलाई काठमाडौं बोलाइयो, प्रज्ञा प्रतिष्ठानमा भेला पारियो।
तर, दुर्भाग्य प्रधानमन्त्री केपी शर्मा ओली त्यही दिन विरामी भएर अस्पताल भर्ना हुनुपर्यो। ,तर प्रधानमन्त्रीले आफ्नो सट्टामा अर्थमन्त्री युवराज खतिवडालाई पठाए। माहोल रमाइलै भइरहेको थियो। सिलवालले अर्थमन्त्री खतिवडाले सम्बोधनका लागि बोलाउँदा समेत विशेष प्याकेजको विषयमा सम्झाउन खोजे।
जस्तो अपेक्षा थियो, त्यतिखेर त्यस्तो भएन। अर्थमन्त्री खतिवडाले पदक हात पारेका खेलाडीहरुको उपलब्धीमा सरकारको तर्फबाट दिइँदै आएको सेवा सुविधामा थप गर्ने त बताए तर यति उति भन्न सकेनन्। उनले युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गर्न आग्रह गर्दै पन्छिए। आफ्नै मन्त्रालयसँग जोडिएका निजी क्षेत्रलाई त सम्बोधन नगर्ने अर्थमन्त्रीले खेलकुदको विषयमा के बोल्थे? उनले भित्री मनदेखि बोल्न परेको भए, भन्दिन्थे होलान् – यो अनुत्पादक क्षेत्रमा लगानी गर्नु हुन्न।
त्यो दिन अपेक्षा सहित आएका खेलाडी तथा प्रशिक्षकहरु अलमल्लमा देखिन्थे।
‘खोइ त प्याकेज?’
आजको प्रेस मिटमा प्याकेजको कुरा आउँदै मैले चाहिँ त्यही दिनको विशेष प्याकेज सम्झिएँ।
साँझ धेरै छिप्पसकेको थियो। राखेप परिसर अगाडि भोलिको फुटबल के होला भनेर केही युवाहरु कुरा गर्दै रहेछन्।
‘साच्चै है के होला?’
मलाई पनि त्यस्तै लाग्यो। एकापट्टी घरेलु टिम नेपाल। अर्को पट्टी सुधारिएको भुटान।
ऊ बेलाको राजनीतिका धार जस्तो।
‘जित्ला नेपालले’ मनमनै अड्डी कसेँ। अनि रंगशालातिर हेरे। ड्रोन उडिरहेको थियो। भोलिका लागि केही तयारी होला। अनि भोलिका बारे केहीबेर सोचेँ।
अहो! साग सकिनै लागेछ, भोलिबाट। दैनिकी पर्सिबाट चाहिँ सामान्य होला। तर, विशेष चासो चाहिँ भोलि कतिबेला पस्ने भन्ने हुने भयो।
बिहान खेलहरु होला सायद्। त्यता जान पर्ला। अलि ढिला रंगशाला पुगिएला। अस्तिका डिएसपी भेटिएलान्। पस्न नपाइएला! मनमा कुरा चाहिँ खेल्दा रहेछन्। आखिर दाँता लागेको ढुङ्गाको झस्को लामै समय रहन्छ।
जे होस् भोलि चाहिँ बेलैमा रंगशाला पुग्ने हो। अनि एउटा अब्बल खेल इतिहासको साक्षी बन्ने हो।