PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

लगातार दोस्रो पटक स्वर्ण जित्ने होडमा नेपाल, हराउला भुटानलाई?



पहिलोपोस्ट

लगातार दोस्रो पटक स्वर्ण जित्ने होडमा नेपाल, हराउला भुटानलाई?
फाइल फोटो

दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छन्।

नेपाल भर्सेस भुटान। साग हुनुअघि कमैले सोचेको फाइनल टिम। ‘अन्डर डग’ मानिएको भुटानले एकपछि अर्को जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो। माल्दिभ्स जस्तो स्वर्णको दाबेदार मानिएको दक्षिण एसियाको शक्तिशाली टिममाथि कुनै पनि स्तरमा पहिलोपटक हरायो। नेपाललाई हम्मेहम्मे पारेर बराबरीमा रोकेको श्रीलंककालाई पनि भुटानले सहजै हरायो। त्यस्तै बंगलादेश जस्तो राम्रो टिमलाई पनि हरायो। भुटान फाइनलमा पहिलोपटक पुग्यो।

फाइनल यात्रा तय गर्दै गर्दा भुटान एउटा टिमसँग मात्र पराजित भयो। त्यो हो नेपाल।

नेपालको फाइनल यात्रामा संयोग छ। पहिलो खेलमा भुटानलाई हराएको नेपाल स्वर्णका लागि भुटानसँगै खेल्दैछ। दोस्रो खेलमा श्रीलंकासँगै बराबरी खेलेको नेपालले बाँकी अरु खेलमा माल्दिभ्स र बंगलादेशलाई हराएको थियो। र, तलिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो।

साग उद्घाटन हुने दिन प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो लक्ष्य स्वर्ण पदक भएको बताएका थिए। साविक विजेतासमेत रहेको नेपाल इतिहास दोहोर्‍याउन चाहन्छ। त्यसका लागि घरेलु मैदान र समर्थक नेपालका लागि प्लस प्वाइन्ट पक्कै हुनेछन्।

त्यही प्रिम्याच कन्फ्रेन्समा भुटानका प्रशिक्षक पेमा दोर्जीले छोटो मिठो कुरा गरेका थिए। ‘हामी कडा प्रतिस्पर्धा गर्नेछौं। त्यसका लागि हामी तयार छौं।’

उनले पदकको चर्चा गरेका थिएनन्। जुन अरु सबै टिमका प्रशिक्षकले गरेका थिए। त्यस्तै फाइनल पुग्ने निश्चित भएपछि उनले बंगलादेशसँग खेल्न पाए नेपाली समर्थकको साथ रहने आशयको कुरा गरेका थिए। भइदियो उल्टो। नेपाल फाइनल आइपुग्यो।

नेपाल फाइनलमा मनोवैज्ञानिकक रुपमा फिट देखिन्छ। नेपालले पहिलो खेलमा सहज जित निकालेकोले। र, इतिहासमा पनि जित निकाल्दै आएकाले।

‘भुटानसँग राम्रा स्कोररहरु छन्। फाइनलमा बलिया टिमहरु पुगेका छन्। म यति भन्न सक्छु, कि फाइनल खेल टफ हुनेछ’ नेपालसँग पराजित भएपछि बंगलादेशका प्रशिक्षक जिम्म डेले भनेका थिए।

जारी सागमा बंगलादेश नेपाल र भुटानसँग पराजित भएको टोली हुनाले जिम्मीले दुवै टिमको खेल नजिकबाट नियालेका थिए।

नेपालले फिफा वरीयताका आधारमा भुटानलाई कमोजोर आँक्नु गल्ती हुन सक्छ। जारी प्रतियोगितामा भुटानले देखाएको प्रदर्शनको स्तरले त्यही देखाउँछ।

राष्ट्रिय खेलकुद परिषदका मुख्य फुटबल प्रशिक्षक मिलन हाडा भुटानको खेल एकपछि अर्कोमा सुधारिँदै गएको देख्छन्। त्यस्तै मिल्दोजुल्दो वातावरणले पनि भुटानलाई साथ दिएको उनको बुझाइ छ। नेपाली टिमले पनि राम्रो प्रदर्शन गरिररहेको हुनाले फाइनल खेलमा यसै हुन्छ भनेर भन्न सकिहाल्ने अवस्था नरहेको उनले सुनाए।

दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालको इतिहास लामो छ। काठमाडौंमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदबाट सहभागिता जनाउन थालेको नेपालले त्यसयता निरन्तर सहभागिता जनाउँदै आएको छ।

सागमा नेपाली फुटबलको उपस्थिति पनि राम्रो रहँदै आएको छ। नेपालले सन् १९८४, १९९३ र २०१६ को सागमा स्वर्ण पदक जितेको थियो भने सन् १९८७ र १९९९ मा रजत पदक जितेको थियो। त्यस्तै सन् १९८५ र २००९ मा कांस्य पदकमा चित्त बुझाएको थियो।

महिला फुटबलमा भने सन् २०१० मा ढाकामा सम्पन्न ११औँ सागबाट नेपालले सहभागिता जनाउँदै आएको छ। नेपालले सन् २०१० र २०१६ मा रजत पदक हात पारेको थियो। यसपटक पनि रजत पदकमै चित्त बुझायो नेपालले।

नेपाललाई मौका छ इतिहास बनाउने। भुटानको त झन फाइनल पुग्नु नै इतिहास भइसकेको छ। उ अझ ठूलो इतिहास बनाउने दाउमा हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell