PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पत्रकार सुमन चापागाईँमाथि डिएसपीको आक्रमणले सागको सफलतामा लाग्यो ढुङ्गा



मुकुन्द घिमिरे

पत्रकार सुमन चापागाईँमाथि डिएसपीको आक्रमणले सागको सफलतामा लाग्यो ढुङ्गा

काठमाडौं : खेलकुद पत्रकारहरुले 'कालो दिवस' मनाउने तयारी गरेपछि सफल रुपमा सम्पन्न हुन गइरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग नराम्ररी विवादमा तानिएको छ। राष्ट्रिय खेलकुद परिषदको परिसरभित्रै पत्रकार सुमन चापागाईँमाथि प्रहरीले कुटपिट गरेको विषयलाई लिएर खेलकुद पत्रकारहरुले 'कालो दिवस' मनाउन लागेका हुन्।

पत्रकार चापागाईँलाई डिएसपी सन्तोष राठोरले कुटपिट गरेका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरमा कार्यरत राठोरले पत्रकारको पहिचान हुँदाहुँदै पनि उनीमाथि आक्रण गरेका थिए। खेलकुद परिसरभित्रै प्रहरीको दुर्व्यवहार भोगेपछि पत्रकारहरु सबै विरोधमा उत्रिएका छन्।

टिकटको पैसा काटिँदा पनि टिकट हात नलागेपछि विरोधमा उत्रिएका एउटा समुहलाई प्रहरीले कुटपिट गरेको थियो। महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले निर्ममतापूर्वक दर्शकलाई कुटपिट गर्दै गरेको फोटो पत्रकार चापागाईँले खिचेका थिए। त्यो देखेपछि डिएसपी राठोरले उनीमाथि आक्रमण गरेका थिए।

चापागाईँको टाउकोमा चोट लागेको छ। उनको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको ज्यादतीविरुद्ध जुटेका पत्रकारहरुले सागको एक्रेडिसन कार्ड नै जलाउने, सागको रिपोर्टिङ बहिस्कार गर्ने र घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेपछि राष्ट्रिय खेलकुद परिषदले सक्रियता बढाएको छ। राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले प्रहरीको शैलीप्रति कडा आलोचना गरेका छन्।

आजै अन्तर्राष्ट्रिय मानव अधिकार दिवस परेको सन्दर्भमा खेल हेर्न पुगेका दर्शक र पत्रकारमाथि नै प्रहरीले ज्यादती गरेको भन्दै त्यहाँ रहेका खेल पत्रकारहरुले घटनाको अन्तर्राष्ट्रियकरण गर्ने र विभिन्न मानव अधिकारवादी संस्थाहरुलाई यसको जानकारी गराउने तयारी गरेका छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालसमेत पत्रकारमाथि भएको दुर्व्यवहारको विषयलाई लिएर विरोध गरिरहेका पत्रकारहरु रहेको स्थानमा आउँदैछन्। पत्रकारहरुले ज्यादतीको निन्दा गर्दै दोषीमाथि कारवाही हुनुपर्ने माग राखिरहेका छन्।

सफल रुपमा सम्पन्न हुनै लागेको सागको अन्तिम दिनमा भएको दुर्व्यवहारले आयोजनाको सफलतामाथि नै प्रश्न चिन्ह खडा गराएको छ। त्यसविरुद्ध पत्रकारहरु एक स्वरमा उत्रिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell