
काठमाडौं : राष्ट्रिय खेलकुद परिषदको परिसरभित्रै पत्रकार सुमन चापागाईँमाथि भएको कुटपिटमा संलग्न प्रहरी अधिकृतमाथि अनुसन्धान गरी कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले प्रतिवद्धता जाहेर गरेका छन्।
उनले कुटपिट गरेको भिडियो हेरेर प्रहरीमाथि कारबाही गर्ने बताएका हुन्। मंगलवार घटनापछि दशरथ रंगशाला पुगेका डिआइजीले दोषी देखिए प्रहरीलाई कारबाही गर्ने आवश्वासन दिएका हुन्।
'कसैले कसैलाई कुट्न पाइँदैन। भिडियो हेरेर संलग्न प्रहरीमाथि कारबाही हुन्छ। छानविनको दायरभित्र ल्याउँछौं,' डिआइजी थापाले भने।
मंगलवार बिहान समचार संकलन गर्ने गएका पत्रकार चापागाईँलाई डिएसपी सन्तोष राठोरले कुटपिट गरेका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरमा कार्यरत राठोरले पत्रकार भन्ने पहिचान हुँदा हुँदै पनि उनीमाथि आक्रण गरेका थिए।
प्रहरीको ज्यादतीविरुद्ध जुटेका पत्रकारहरुले सागको एक्रेडिसन कार्ड नै जलाउने, सागको रिपोर्टिङ बहिस्कार गर्ने र घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेपछि राष्ट्रिय खेलकुद परिषदले सक्रियता बढाएको छ।
टिकेटको पैसा काटिँदा पनि टिकट हात नलागेपछि विरोधमा उत्रिएका एउटा समुहलाई प्रहरीले कुटपिट गरेको थियो। महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले निर्ममतापूर्वक दर्शकलाई कुटपिट गर्दै गरेको फोट पत्रकार चापागाईँले खिचेका थिए। त्यो देखेपछि डिएसपी राठोरले उनीमाथि आक्रमण गरेका थिए।