PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फाइनलमा पाएको स्कोर फितलो रहेको फुटबलका कोच महर्जनको टिप्पणी, भने : भुटानको तयारी गजबको



मुकुन्द घिमिरे

फाइनलमा पाएको स्कोर फितलो रहेको फुटबलका कोच महर्जनको टिप्पणी, भने : भुटानको तयारी गजबको
प्रतिस्पर्धा नजिकबाट हेरिरहेका प्रशिक्षक महर्जन।

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले फाइनल खेलमा नेपालले जितका लागि निकालेको स्कोरप्रति असन्तुष्टि जनाएका छन्। 'फाइनलमा जुन स्कोर निस्कनु पर्थ्यो त्यो भन्दा कम स्कोर निस्कियो,' फुटबल फाइनलमा जित हासिल गरेपछि प्रतिक्रिया दिँदै उनले भने।

यद्यपि, जितबाट निक्कै उत्साही देखिएका प्रशिक्षक महर्जनले फुटबलको तयारीमा जुन मेहनत गरिएको थियो त्यसको फल पाएको प्रतिक्रिया दिए। 'यसको श्रेय खेलाडी अफिसियल लगायत खेलको माहोल बनाउने सबैमा जान्छ,' उनले भने, 'यो जित क्षणिक सोचेर हाँसिल गरेको होइन। यसमा धेरै मेहनत छ।'

उनका अनुसार जितका लागि खेलाडीलाई साइकोलोजिकल्ली मोटिभेट गरिएको थियौं। त्यही हिसाबले ट्रेनिङ पनि गराइएको थियो।

'आवश्यकता अनुसार सहज वातावरण तयार गरिदिन राखेप, तयारी समिति, एन्फालगायत सबैलाई धन्यबाद दिन चाहन्छु,' जितको श्रेय उनले सबै साझेदारसँग साटे।

आजको खेलमा प्रतिक्रिया दिँदै उनले कप्तान सुजलको कमी महसुस गरेको बताए। 'शुरुमा ऊ इन्ज्युरी हुँदाहुँदै रिस्क लिएकै हो। म खेलाडी हुँदा पनि यस्तो भएको थियो,' उनले भने।

भुटानले एकदमै राम्रो खेलेको प्रतिक्रिया दिएका महर्जनले दीर्घकालीन सोच राखेर उनीहरुले पूर्वाधारदेखि ग्रासरुटसम्म लगानी गरिरहेको जनाए। 'त्यसैले त स्तर उकासेर यो अवस्थासम्म आइपुगे। यो त्यतिकै भएको सुधार होइन। ठूलो सोचले यो अवस्था ल्याएको हो,' उनले भने।

नेपालमा पनि झारा टार्ने हिसाबले १/२ महिने लिग भन्दा स्तरीय लिग हुनुपर्ने सुझाव उनले दिए। 'लामो लिग हुनु पर्‍यो,' उनले भने, 'अगाडि पनि म फुटबलमा नै रहने छु। मलाई जुन जिम्वेवारी दिए पनि बहन गर्न तयार छु।'

हिजो महिलातर्फको फुटबल फाइनलमा नेपाल पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell