काठमाडौं : दक्षिण एसियाली खेलकुदको १४ औं संस्करण पाकिस्तानमा हुने भएको छ। पाकिस्तानमा हुने सागका लागि आज दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले झन्डा हस्तान्तरण गरे। उनले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष स्यद आरिफ हसनलाई झन्डा हस्तान्तरण गरेका हुन्।
आज १३ औं सागको समापन सत्र चलिरहँदा श्रेष्ठले झन्डा हस्तान्तरण गरेका हुन्। समापन समारोहमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले मन्तब्य राखेका थिए। सबैको आसय १३ साग सफल भएको नै थियो।
१३ औं साग ग्रान्ड सक्सेस : ओलम्पिक कमिटी अध्यक्ष श्रेष्ठ
दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औ दक्षिण एसियाली खेलकुदको ‘ग्रान्ड सक्सेस’ भएको बताएका छन्। आज सागको समापन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो दाबी गरे। उनले विभिन्न शहरहरुमा सफलतापूर्वक साग सम्पन्न गर्न पाउँदा खुशी लागेको बताए। यसले दक्षिण एसियामा एउटा पुलको काम गरेको बताए।
लगत्तै मन्तव्य राखेका राखेप सदस्यसचिव रमेशकुमार सिलवालले सागको सफलता असफलताबारे दर्शकहरुले मूल्याङ्कन गर्ने बताए। सागले जनताको मन जित्न सकेको भन्दै आफूहरुले नेपालीमा खुशी ल्याउन सफल भएको दाबी गरे।
‘यो अन्तिम होइन,’ सिलवालले थपे, ‘अब चौधौं साग, एसियन गेम्स र ओलम्पिकको तयारी थाल्छौं।’
उनले आफूले ५० स्वर्ण नेपालले ल्याउँछ भन्दा हाँसेर उडाउनेहरुलाई गतिलो जवाफ दिएको समेत बताए। उनले खेलाडी र संघलाई सफलताका लागि धन्यबाद दिए।
भोलि प्रधानमन्त्री केपीशर्मा ओलीले विजेता खेलाडी तथा अफिसियल र संघको पदाधिकारीसँग भेट्ने कार्यक्रम रहेको समेत उनले बताए।