PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फुटबलमा स्वर्ण उचालेपछि अभिशेक रिजालकी आमा दंग,  ‘छोराको पास्नीमा पनि फुटबल गिफ्ट’



मुकुन्द घिमिरे

फुटबलमा स्वर्ण उचालेपछि अभिशेक रिजालकी आमा दंग,  ‘छोराको पास्नीमा पनि फुटबल गिफ्ट’

काठमाडौं : नेपाली फुटबल टोलीले आज दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको छ। लगातार दोस्रो स्वर्ण। खेलाडी अफिसियलको त कुरै छोडौं। देश नै हर्षित भएको छ। 

नेपालको जित निस्कनुमा नेपाली टिमको टिमवर्कको भुमिका अहम् रह्यो। त्यसमा पनि एक महत्वपूर्ण सदस्य थिए अभिशेक रिजाल। उनले फाइनल खेलमा पनि गोल गर्दै टिमलाई अग्रता दिलाए। 

खेलाडीले खेलेर जित पनि हासिल गरेपछि के सोच्ला? पक्कै त्यो खुशी उसले शब्दमा व्यक्त गर्न सक्दैन्। यस्तै अवस्थामा भेटिए स्ट्राइकर अभिशेक। 
उनी खुशी यति थिएकी केही बोल्न सकिरहेका थिएनन्। खेल सकिएपछि आमा र बहिनीहरुसँग खुशी साट्दै थिए।
 
‘सागमा स्वर्ण आयो कस्तो अनुभव भइरहेको छ त?’ मैले प्रश्न तेर्साइहालेँ। 

‘नेपालमै खेल जितिएको छ। एकदमै प्राउड फिल भइरको छ। कति भन्न सक्ने अवस्थै छैन,’ रिजालले एकै सासमा भने।
विस्तारै उनी आजको खेलबारे खुल्दै गए। 

‘भुटान पहिलो खेलभन्दा धेरै इम्प्रुभ भइसकेको थियो। यही मैदानमा खेल्दा खेल्दै उसको खेल धेरै राम्रो भइसकेको थियो,’ रिजालले सुनाए।
यो जितले उनमा उर्जा थपेको छ। अझै माथि केही गर्ने उनको सपना रहेछ। ‘यो सुरुवात मात्र हो। धेरै माथि जानु छ। धेरै गर्नु छ,’ भविष्यबारे पनि प्रस्टाए उनले।

उनीसँगै उनकी आमा पनि थिइन। मुस्कुराइरहेकी। उनी छोरा भन्दा धेरै खुशी देखिन्थिन्। 
उनले अभिशेकले फुटबलसँगको लगाब सानैदेखि भएको बताइन्। ‘उसको त पास्नीमा पनि बल गिफ्ट आएको थियो,’ उनले भनिन्,  ‘सानैदेखि फुटबल फुटबल भनेर हिड्थ्यो। अरु त तेस्तै हो मलाई चाहीँ उसको पढाइ बिग्रन्छ भन्ने चिन्ता थियो।’

उनी अभिशेकले गरेको मेहनतलाई सम्झिन्छिन्। ‘साह्रै मेहनत गरेको थियो। त्यसको फल पायो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell