सागको अन्तिम दिन। हिजो बेलुकै लागेको थियो रंगशाला पस्न समस्या हुन्छ भनेर। त्यही भएर छिटोछिटै रंगशाला पुगेँ। मुख्य गेटबाट पसे पनि भित्र पस्न पाइएन। भित्र या त मिडिया सेन्टर जानुपर्ने हुन्थ्यो या त प्यारापिटमा। मलाई जता गए पनि हुने थियो। संसद ११ र कर्मचारी ११ बीचको खेल हुने थियो, न्युज बनाउन पाए हुन्थ्यो भन्ने लागेको।
तर, ब्यक्तिगत रुपमा चाहिँ मलाई चटक जस्तो लागेको थियो। त्यत्रो इभेन्टको फाइनल हुने दिन के हतारो थियो। भोलि खेल्दा के जान्थ्यो? मिडिया सेन्टरमा बसिरहेको थिएँ त्यो खेल हेर्न अल्छी लागेर।
खेल पत्रकार सुमन चापागाईँलाई प्रहरीले कुटेको भन्ने खबर आयो। खेलकुद परिषदभित्रै प्रहरीले निर्मम तरिकाले हातपात गरेको रहेछ। राखेपकै मेडिकल सेन्टरमा राखेर उपचार भयो। एकछिन पछि अस्पताल लैजान पर्यो।
कुरा बुझ्दै गर्दा केही दर्शकले फुटबलको फाइनलको टिकट काटेर पनि रंगशाला प्रवेश गर्न पाएका रहेनछन्। प्रहरीले तिनीहरुमाथि आक्रामक भएर निस्कियो। चापागाईँले त्यही भिडियो खिच्न खोज्दा प्रहरीले उनलाई पनि छाडेनछ।
त्यसपछि हामी पनि बस्यौं धर्नामा। नेपाल र भुटानको खेल चलिरहेको थियो। हामीले एलइडीमै खेल हेर्यौं। दोस्रो हाफ शुरु भएपछि राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले आएर दोषीलाई कार्वाही र पीडितलाई उपचारको आश्वासन दिएपछि हामी स्टेडियम छिर्यौं। खेल सकिन २ मिनेट बाँकी थियो। राम्ररी त इन्ज्युरी समयको खेल मात्र हेर्न पाइयो।
जे होस हेरियो, समापन। १३ औं साग सकियो। जुन जोसमा आएको थियो त्यही जोसमा सकियो।
नेपाल र भुटानको खेल आज गज्जब रह्यो। नेपालले पहिलो खेलमा जस्तो भुटानमाथि हैकम जमाएर बसिरहन सकेन। भुटानले टक्कर दियो, कडा टक्कर।
खेल नेपालको पक्षमा आयो। नेपाल २–१ ले जित्यो। तर, यसपटक भुटान फाइनलमा हारे पनि नेपालीको मन चाहिँ जितेको थियो। भुटानको खेललाई यस पटक नेपालीले धेरै रुचाए। साँच्चै फाइनलमा भुटानको प्रतिस्पर्धी नेपाल नभएर कुनै अर्को टिम हुँदो हो त नेपालीको समर्थन पक्कै भुटानलाई जाने थियो।
जे होस् खेल आफ्नो पक्षमा आयो। १२ औं र १३औं सागको फुटबलमा च्याम्पियन बन्यो नेपाल।
फुटबलको चर्चा गरेर फेरि अरु खेललाई छायाँमा पार्न पनि मिल्दैन। नेपालले ५० स्वर्णको लक्ष लिएको थियो। र, पूरा पनि भयो। कराँते, स्वीमिङ र तेक्वान्दो अलि धेरै नै चर्चामा आए। पदक संख्या धेरै भएर पनि होला।
तर, व्यवस्थापन पक्ष चाहिँ फितलो नै हो। कहिले मिडिया बक्समा सुरक्षाकर्मी भेटिन्छन्, कहिले स्वयम् सेवक। प्यारापिटमा जान पत्रकारलाई त यस्तो रुखो व्यवाहार हुन्छ। सर्वसाधारणलाई भएको व्यवाहार त चर्चै नगरुम। तर, पनि दर्शकहरु उत्साहित नै देखिए। खेल र खेलाडीलाई माया नै गरिरहे।
आजकै कुरा हो, नेपाली खेलकुदका एक सफल खेलाडी रंगशाला बाहिर एलइडीमा फुटबल हेरिरहेका भेटिए। उनीसँग खेलाडीको पास त थियो नै। नेपाली खेलकुदमा ठूलो योगदान पुर्याइसकेका ती कीर्तिमानी खेलाडीसँग एकैछिन कुर गरियो।
‘भित्र पस्यो भने किन पसेको भनेर निकाल्लान् भनेर नपेसको नि,’ उनले व्यङ्ग्य गर्दै भने। उनले यति भन्दा व्यवस्थापन कस्तो भइरहेको छ भन्ने छर्लङ्गै भइहाल्छ।
खैर, समापन राम्रो भयो। समापनमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग ‘ग्रान्ड सक्सेस’ भएको ठोकुवा गरे। यसले दक्षिण एसियाका मुलुकहरुलाई जोड्न अझ मद्धत मिलेको बताए। यद्यपि, कति मिल्यो कति मिलेन भन्ने कुरा आउँदो सार्क सम्मेलन र १४ औं दक्षिण एसियाली खेलकुदले देखाउने छ नै।
अँ, १४ औं दक्षिण एसियाली खेलकुद भन्दा पाकिस्तानले दक्षिण एसियाली खेलकुदको झन्डा लियो। अर्को साग पाकिस्तानमा आयोजना गराउने प्रतिबद्धतासहित। १४ औं सागले सार्क सम्मेलनको भाका टिपेन भने राम्रो हुने थियो।
कार्यक्रमको समापनमा राखेप सदस्यसचिव सिलवालले मन्तव्य राखेका थिए। उनले ५० स्वर्णबारे छुटाउँदैनन् भन्ने थाहा थियो। छुटाएनन् पनि। साग सफलताको साथ सम्पन्न गरेको श्रेय लिए घुमाउरो पाराले। जनताले मूल्याङ्कन गर्नेछन् भन्दै १३ औं साग आयोजना गरेर सफल भइसकेको पुष्टि गर्न चाहे उनले।
त्यस्तै, विशेष सम्वोधन गर्ने भनिए पनि उपप्रधानमन्त्री इश्वर पोखरलले केही विशेष प्याकेजको घोषणा गरेनन्। उही भाषणबाजी भन्दा धेरै केही लागेन मलाई चाहिँ।
विशेष प्याकेजको कुरा भोलिलाई सरेको छ भनिएको छ। पहिला प्रज्ञा प्रतिष्ठानामा प्रधानमन्त्रीले दिने भनेको विशेष प्याकेज अर्थमन्त्रीले दिन सकेका थिएनन्।
सोमबार रमेशकुमार सिलवालले भोलि स्पेसल प्याकेज आउँछ भनेका थिए आज पनि आएन।
स्पेसल प्याकेज आज चाहिँ भोलिलाई सरेको छ। भोलि प्रधानमन्त्री केपीशर्मा ओलीले पदक जित्न सफल खेलाडी अफिसियल र खेलसंघका पदाधिकारीलाई भेट्ने कार्यक्रम भएको सदस्यसचिव सिलवालले आज बताए।
प्रर्थना गरौं तेस्रो पटक चाहिँ खेलाडीलाई हात्ती आयो हात्ती आयो फुस्सा बनाएर खेल प्याकेज नसरोस्। नआउने रहेछ भने आउँदैन भनियोस्। उसै पनि प्रधानमन्त्री केपी शर्मा ओली विरामी छन्। सागमा भिडियोमार्फत् सम्बोधन गरेलगत्तै उनलाई उपचारका लागि लगिएको छ। डायलासिसमात्र भए त ठीकै हो त्यसमाथि अरु केही थपिने भए भोलिका लागि भनिएको स्पेसल प्याकेज फेरि सर्न के बेर?
खैर, मलाई साग सुरु हुँदाको आतिशबाजी मन परेको थियो। साग सकिँदाको ड्रोनको प्रयोग गरेर देखाइको विभिन्न कलाहरु उत्तिकै रोमाञ्चक लाग्यो। भाषणबाजी सकिएपछि नेपाली सेनाले केही झाँकिहरु प्रस्तुत गरेको थियो। जसमा खुकुरी डान्सदेखि नेपालको गौरव गाथा झल्काउन नृत्य समेटिएका थिए। रमाइलो लागिरहेको थियो हेर्न।
उदघोषकहरु पटकपटक वाइफाइ नचलाउन आग्रह गरिरहेका थिए, ड्रोन उडाएर कलात्मक प्रस्तुती देखाउन भनेर।
ड्रोन उडाएर पनि कलात्मक प्रस्तुती हुन्छ? मलाई चाहिँ हावा कुरा लागिरहेको थियो।
एकैछिनको आतिशबाजी पछि त ड्रोन उडाइयो। आकाशमा कति राम्ररी नेपालको नक्सा बनाइएको, मन पर्यो। कालापानी पनि समेटेको नक्सा भएको भए अझ कति राम्रो हुन्थ्यो होला? मलाई लागेको कुरा।
त्यस्तै बुद्धको नक्सा, पशुपति, नेपालको झन्डा हुँदै थ्याङ्क्यू लेखियो।
साग सकियो। अब १३ औं साग इतिहास हुनेछ, भोलि बिहान उठदा।