
लाहोर : चाइना-पाकिस्तान इकोनोमिक करिडर अन्तर्गत तयार भएको मेट्रो रेलवे सेवाको पाकिस्तानमा परीक्षण गरिएको छ। यो तीब्र गतिमा कुद्ने पाकिस्तानको पहिलो शहरी रेल हो।
पञ्जावका यातायात मन्त्री जहानजावी खानले परीक्षण प्रसारण सुरु गरेको यो रेलवे सेवाको नाम ओरेन्ज लाइन मेट्रो ट्रेन रहेको छ जुन लाहोरमा यसअघि दुई पटक परीक्षण गरिसकिएको छ। यस आयोजनालाई मन्त्री जहानजावीले चीन-पाकिस्तान सम्बन्धमा चिनियाँ उपहार भएको जनाएका छन्।
'यो आयोजनाले हजारौं गाडीबाट निस्कने धुँवा नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्नेछ,' उनले भने। साथै अर्थतन्त्र चलायमान गराउन पनि मेट्रो सेवाले सघाउ पुर्याउने उनले बताए।
रेलको 'टेस्ट रन' डेरा गुजरानबाट अली टाउनसम्म भएको हो। २५ किलोमिटर दुरीमा परीक्षण गरिएको थियो। यो रेल सेवाको २६ स्टेसन छ जसमा दुई अन्डरग्राउन्ड र २४ इलिभेटेड छन्।
चाइना-पाकिस्तान इकोनोमिक करिडर अन्तर्गत आयोजनामा एक्पोर्ट इम्पोर्ट बैंक अफ चाइनाले लगानी गरेको हो। चाइना रेलवे र चाइना नर्थ इन्ड्रस्टिज कर्पोरेसनको सहकार्यमा परियोजना तयार भएको हो।
८० किलोमिटर दुरी चल्ने यी रेल ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडने छन्। हरेक दिन २ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको मेट्रो पूर्ण रुपमा भने २०२० को मध्यबाट मात्र संचालनमा आउने छ। यो दुरीका लागि २७ वटा विद्युतीय रेल प्रयोगमा ल्याइने छ।