PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दृष्टिविहीन विद्यार्थीका दु:ख : सरले भटाभट भन्नुहुन्छ, अरुले लेखिसक्दा हाम्रा त छुट्छन्



पी बी खड्का

दृष्टिविहीन विद्यार्थीका दु:ख : सरले भटाभट भन्नुहुन्छ, अरुले लेखिसक्दा हाम्रा त छुट्छन्

सुर्खेत : दैलेखको भगवतीमाई गाउँपालिकाको कट्टिबाट पढ्नकै लागि सुर्खेतस्थित शिखर मावि रामघाटमा आए विष्णुप्रसाद दाहाल। आयस्तर कम भएका परिवारका उनी कक्षा ९ मा अध्ययनरत छन्। माध्यामिक शिक्षा जसरी नि पार गर्ने हुटहुटी छ दाहाललाई। अध्ययनकै क्रममा उनले विद्यालयमा कम्ता आरोहअवरोह छिचोल्नु परेको छैन।

जन्मँदै दृष्टि गुमाएका उनलाई विद्यालयमा अन्य विद्यार्थीसँगै एउटै कक्षामा पढ्नुपर्छ। यसैले निकै असहज छ उनलाई। कक्षा कोठामा शिक्षक आएर कालोपाटी वा सेतोपाटीमा लेखेको त्यति बेला थाहा हुन्छ जतिबेला शिक्षक बोल्छन्। शिक्षकले नबोलेर कालोपाटीमा लेख्दा कक्षा कोठामा के भएको छ भन्नेसमेत उनलाई थाहा हुँदैन। कालोपाटीमा लेखेको आफैसँग बसेका अन्य विद्यार्थीहरुले सार्ने गरे पनि शिक्षकले नबताउँदासम्म लेख्न नसकिने दाहाल बताउँछन्। ‘सबै विद्यार्थी साथीसँग बस्दा एक हिसावले राम्रो पनि लाग्छ। एक हिसाबले अलि गाह्रो हुन्छ,’ उनले भने, ‘सर कक्षामा आएर लेख्न थाल्नुहुन्छ। हामीलाई थाहै हुदैँन के लेख्नु हुन्छ के लेख्नुहुन्छ। सरले भनेपछि र साथीहरुलाई सोधेपछि मात्रै थाहा हुन्छ।’

शिक्षकले बोलेर लेखाउँदा लेखाउँदै पनि छुट्ने उनीहरुको गुनासो छ। ‘हामीले खोपेर लेख्नुपर्ने हुन्छ। अरु साथीहरुले लेख्दा सजिलै र छिटो हुन्छ। सरले छिटोछिटो भन्नुहुन्छ। हामी लेख्दा लेख्दै ढिला हुन्छ कतिपय त छुट्छन्।’ उनले भने,’दृष्टिविहिन विद्यार्थीका लागि दृष्टिविहिनमैत्री संरचना र छुट्टै कक्षा कोठा भए हामीलाई सजिलो हुने थियो। अहिले कक्षा कोठा र शौचालय जानुपर्‍यो भने साथीहरुले लैजानुपर्ने अवस्था छ।’

कर्णाली प्रदेशमा अध्ययनरत दृष्टिविहिन र अन्य विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पठनपाठन गराउँदा दृष्टिविहिन विद्यार्थीले समस्या भोग्नुपरेको छ। दृष्टि विहिन विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री  र छुट्टै कक्षा कोठाको व्यवस्था हुन नसक्दा अध्ययन गर्न समस्या हुने गरेको छ। ‘दृष्टिविहिन विद्यार्थीलाई पढ्नै गाह्रो। हामीले प्रयोग गर्ने शैक्षिक सामग्री पनि जहाँकही पाइँदैन।’ कक्षा ११ मा अध्ययनरत लालबहादुर बोगटीले भने,‘विद्यार्थीका लागि एक जना स्रोत शिक्षकको व्यवस्था त छ। तर, जति विद्यार्थीका लागि समय दिनुपर्थ्यो त्यत्ति दिनुहुदैँन। हामीले आफैँ शैक्षिक सामग्री ल्याउन सक्ने कुरा भएन। सबै व्यवस्था स्रोत शिक्षकले गर्नुपर्ने हो तर, त्यो हुन सकेको छैन।’

कर्णालीमा सकस र सास्ती झेल्दै आएका दृष्टिविहिन यी विद्यार्थी प्रतिनिधिमूलक मात्रै हुन्। कर्णाली प्रदेशका दश जिल्लामा साधारण विद्यालयमा अध्ययन गर्ने  दृष्टिविहिन विद्यार्थीका समस्या यस्तै छन्। प्रदेशमा  सुर्खेत, जुम्लालगायत जिल्लामा अध्ययन गर्ने झण्डै एक सय ८१ जना दृष्टिविहिन विद्यार्थीहरुले दैनिक समस्या भोग्नुपर्ने बाध्यता छ।

विद्यार्थीलाई अध्ययन गर्नमात्र नभइ दृष्टिविहिन शिक्षकले अध्यापन गराउनसमेत समस्या भोग्नु परेको छ। शिखर मावि रामघाटमा एक दशक अघिदेखि अध्यापन गराउँदै आएका दृष्टिविहिन शिक्षक चन्द्रमणि पोखरेलले पनि विद्यार्थीको जस्तै समस्या भोग्दै आएका छन्।

‘दृष्टिविहिन विद्यार्थीलाई ब्रेल लिपिबाट पढाउनु पर्छ भने साधारण विद्यार्थीलाई कालोपाटीमा लेखाउनु पर्ने हुन्छ।’ उनले भने,‘आफु दृष्टिविहिन भएकाले ब्रेललिपीको प्रयोग गर्ने हुदाँ दृष्टिविहिन विद्यार्थीलाई पढाउन सजिलो हुन्छ। अन्य साधारण विद्यार्थीलाई अलि गाह्रो हुन्छ।’

यता, विद्यालय प्रशासनले भने दृष्टिविहिन विद्यार्थीलाई कुनै समस्या नहुने गरी आफुहरुले व्यवस्थापन गरेको दावी छ। ‘एउटै कक्षा कोठामा भए पनि खासै समस्या हुने गरी राखिएको छैन।’ विद्यालयका सहायक प्रधानाध्यापक दलबहादुर शाहीले भने,‘हामीले दृष्टिविहिन विद्यार्थीको हकमा एकजना सहयोगी विद्यार्थीलाई भनिराखेका हुन्छौँ। दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरिदिनु भनेर। सरहरुले लेखाउँदा होस् या अन्य कुनै क्रियाकलाप गर्दा होस् कुनै अप्ठ्यारो नहुने गरी हामीले व्यवस्था मिलाएका हुन्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell