कैलाली : कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका-२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरूलाई बुधवार बिहान जंगली हात्तीले आक्रमण गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार वैद्दले जानकारी दिए।
हात्तीको आक्रमणमा परी महाकाली नगरपालिका-२ चाँदनीकी ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको मृत्यु भएको छ। जंगली हात्तीको बथानको आक्रमणमा परी दुवै जना महिलाको ज्यान गएको प्रजिअ वैद्दले बताए।
हात्तीको बथानको आक्रमणमा परी अन्य ५ जना घाइते भएका छन्। घाइते ३ जनाको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि भारतको खटिमा रिफर गरिएको छ।
घाइते हुनेमा महाकाली नगरपालिका-२ चाँदनीकी २२ वर्षीया सरस्वती ओझा, २० वर्षीया उमादेवी साउद, ३२ वर्षीया गोमती भट्ट, सुनिता बिष्ट र ललिता बोहरा रहेका छन्।
उक्त जंगल क्षेत्रमा हात्ती धपाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।