PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१३ औं सागमा पदक जित्ने खेलाडीलाई उपराष्ट्रपति पुनले दिए बधाई



पहिलोपोस्ट

१३ औं सागमा पदक जित्ने खेलाडीलाई उपराष्ट्रपति पुनले दिए बधाई
फाइल फोटो।

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १३ औं दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनले नेपालको तर्फबाट पदक जित्ने खेलाडीहरुलाई बधाई समेत दिएका छन्।

उपराष्ट्रपति पुनले भने, ‘मंसिर १५ गते दशरथ रंगशालामा भव्य समारोहबीच औपचारिक समुद्घाटन भएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) पुरुष फुटबलमा भुटानलाई पराजित गरेर नेपालले स्वर्ण पदक जितेसँगै समापन भएको छ। दक्षिण एशियाको सबैभन्दा ठूलो खेलकूद प्रतियोगिता सागको १३ औं संस्करण भव्य रुपमा सम्पन्न भएकोमा अत्यन्त हर्षित छु।’

उनले दक्षिण एशिया र विश्व जगतमा नेपालको शीर उचो हुने गरी सागको १३ औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, सुरक्षा निकाय, कर्मचारी, खेलकूद पदाधिकारीलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

१३ औं सागमा नेपालले ५१ स्वर्ण पदकसहित किर्तिमानी सफलता हासिल गरेको उनको भनाई छ।

‘सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कूल दुई सय छ पदक जितेर नेपाल राष्ट्रको शीर उचो पार्नुहुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल सम्बद्ध पदाधिकारीहरुमा बधाईसहित धन्यवाद व्यक्त गर्दछु। नेपालको तर्फबाट छनौट भएर देशको झण्डा फहराउँदै प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीहरुमा पनि बधाईसहित धन्यवाद व्यक्त गर्दछु,’ उनले भने।

पाकिस्तानमा हुने सागको आगामी संस्करणमा नयाँ किर्तिमानी सफलता हासिल गर्ने लक्ष्यका साथ नेपाल सरकार र सम्बन्धित निकाय तयारीमा जुट्ने अपेक्षा समेत लिएको उनले बताए। सागमा पदक बिजेता खेलाडीहरुलाई सरकारले उचित सम्मान गर्ने उनले विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell