
हेटौँडा : मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति भएका सवारी दुर्घटना दुई जनाको मृत्यु भएको छ। ति दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका-४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीय ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरीको नियन्त्रणमा छ।
त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको सनाखत हुनसकेको छैन।
सो दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका-१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन्। घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ। ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको छ।