PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'पिपिएल' मंसिर २८ देखि पुस १२ गतेसम्म, खेल तालिका सार्वजनिक



रासस

'पिपिएल' मंसिर २८ देखि पुस १२ गतेसम्म, खेल तालिका सार्वजनिक

कास्की : दोस्रो संस्करणको 'नमस्ते पोखरा प्रिमियर लिग' (पिपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आगामी मंसिर २८ देखि पुस १२ गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो।

प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज गरी छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। मंसिर २८ गते उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुनेछ। मंसिर २९ गते विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा काठमाडौं गोल्डेन्स र बुटवल ब्लास्टर्स बीच दुई खेल हुनेछ।

मंसिर ३० गते पोखरा पल्टन र चितवन राइनोज प्रतिस्पर्धामा उत्रिनेछन् भने पुस १ गते काठमाडौं गोल्डेन्स र धनगढी ब्लुज तथा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने खेल तालिकामा उल्लेख छ। पुस २ गते बुटवल ब्लास्टर र चितवन राइनोज तथा पुस ३ गते पोखरा पल्टन र बुटवल ब्लास्टर तथा धनगढी ब्लुज र चितवन राइनोज भिड्ने छन्।

पुस ४ गते विराटनगर टाइटन्स र काठमाडौं गोल्डेन्स आमनेसामने हुनेछन्। पुस ५ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोहि दिन दिउँसो बुटवल ब्लास्टर र धनगढी ब्लुज प्रतिस्पर्धामा उत्रिनेछन्। पुस ६ गते धनगढी ब्लुज र पोखरा पल्टन खेल्नेछन्। पुस ७ गते चितवन राइनोज र काठमाडौं गोल्डेन्स तथा पुस ८ गते बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीच स्पर्धा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।

पुस १० गते समूहमा दोस्रो र तेस्रोका बीचमा फाइनल प्रवेशका लागि ‘इलिमिनेटर’ खेल हुनेछ। सो खेलको विजेता र समूह विजेताबीच पुस १२ गते प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

गत वर्षको विजेता पोखरा पल्टनले ट्रफीसहित नगद २७ लाख रुपैयाँ तथा उपविजेता चितवन राइनोजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको थियो। आयोजकले यस संस्करणको पुरस्कार राशी सार्वजनिक गरिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell