PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पर्सा क्षेत्र नम्बर ३ को ६ करोड वजेट खर्च नहुने!



राधेश्याम पटेल

पर्सा क्षेत्र नम्बर ३ को ६ करोड वजेट खर्च नहुने!

वीरगंज : पर्सा क्षेत्र नम्बर ३ मा चालू आर्थिक वर्षमा संसदीय कोषको ६ करोड रुपैयाँ खर्च नहुने देखिएको छ। क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार निलम्बनमा परेपछि उनको भागको ६ करोड खर्च नहुने सम्भावना देखिएको जिल्ला सम्वन्य समिति पर्साले जनाएको छ।

पप्पु कन्स्ट्रक्सनका तत्कालिन सञ्चालक रौनियारमाथि अदालतमा मुद्दा दर्ता भएसँगै गतवर्ष उनी सांसद पदबाट निलम्बन भएका थिए। तर गतवर्ष उनको बजेटको केही रकम खर्च भए पनि पूर्ण रुपमा खर्च नभएको पर्साका निमित्त समन्वय अधिकारी देवनाथ यादवले बताए। उनका अनुसार गतवर्षको नीति नियम र यस वर्षको नीति नियममा धेरै परिवर्तन आइसकेकोले क्षेत्र नम्बर ३ को बजेट यस वर्ष खर्च नहुने सम्भावना देखिएको हो।

‘गतवर्षको संसदीय कोष अर्थात स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको कार्यविधिमा प्रत्यक्ष सांसद निलम्बनमा परेको हुँदा सो क्षेत्रका समानुपातिकका ज्येष्ठ सांसदको संयोजकत्वमा समिति गठन गरी योजना छनौट तथा बजेट विनियोजन गर्न भनेको थियो, तर यसवर्षको कार्यविधिले संघीय सांसद निलम्बन परेको बेला ६ करोड कसरी खर्च गर्ने बारेमा केही बोलेको छैन्,’ उनले भने।

४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नम्बर १ ,२ र ४ को संसदीय कोषको बजेट बाँडफाँड भइसकेको र ६ करोड मध्ये ३ करोडको १० लाख माथिका योजना र ३ करोडको टेण्डरमार्फत काम गर्ने योजना स्वीकृत गरिएको छ। टेण्डरमार्फत गरिने काम ५० लाख भन्दा माथिको छ भने उपभोक्ता समितिमार्फत गरिने कामको योजना न्युनतम १० लाख माथिको राख्ने निर्देशन अनुसार नै गरिएको छ।

संसदीय कोषको बजेट विनियोजन गर्न सम्बन्धित क्षेत्रका प्रतिनिधि सभा सदस्य संयोजक, जिल्ला समन्वय अधिकारी सदस्य सचिव तथा सदस्यहरुमा जिल्ला समन्वय समितिका सभापति तथा उपसभापति, सम्बन्धित पालिकाका प्रमुखहरु रहने व्यवस्था छ। तर योजना स्वीकृतिमा संघीय सांसदको भूमिका मुख्य मानिन्छ। यसरी हेर्ने हो भने एउटा क्षेत्रमा उपभोक्ता समितिमार्फत गरिने लगभग ३५ वटा योजना पास भएको छ।

पर्सा क्षेत्र नम्बर १ मा समाजवादी प्रदिप यादव, सोही पार्टीका विमल प्रसाद श्रीवास्तव २ मा, राजपा नेपालका लक्ष्मणलाल कर्ण ४ मा प्रत्यक्ष चुनावमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell