१४ औं दक्षिण एसियाली खेलकुदको समेत घोषणा भइसक्यो, १३ औं सकिएर। सागभर दैनिकी नै फेरिएकाले साग सकिएको भोलसपल्ट पनि यसकै झझल्को चाहिँ आइरहँदो रहेछ। एकपटक सागलाई सर्सर्ती सम्झिन मन लाग्यो।
डिसेम्बर १ मा सागको उद्घाटन भयो, सोचेभन्दा भव्य। त्यसदिन लागेको थियो, अरु दिन जे सुकै होस् उद्घाटन चै भव्य भएकै हो।
५० स्वर्णको लक्ष्य राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले राखेका थिए। तर, त्यति धेरै पदक आउला भनेर पत्याइहाल्ने अवस्था चाहिँ थिएन। जे होस् उनले नपत्याउनेलाई गलत सावित गरे, देशको प्रतिष्ठा बढ्यो।
उद्घाटन समारोह सकियो। विडम्वना त्यही साँझ सहकर्मी समर्थको हेलमेट चाहिँ हराएछ। मिडियाका लागि भनेर तोकिएकै ठाउँमा राखेको हेल्मेट चैट।
भोलिपल्ट अघिल्लो दिन हराएको हेल्मेटको चर्चा चलिरहेको थियो। त्यस्तैमा एकजनाले डिएसपीको पनि हेल्मेट राति नै हराएको चर्चा सुनाए साथीहरुले। एकछिन हाँसो पनि चल्यो। आधिकारिक हो या होइन थाहा भएन तर त्यसपछि संयोग नै मान्नुपर्छ सागमा पत्रकार र डिएसपी पटकपटक ठोक्किए। हेल्मेट प्रकरण त सुरुवात थियो।
सागको पहिलो दिन नै तेक्वान्दो र करातेबाट भटाभट पदक आउन थाल्यो। मन्डेकाजी श्रेष्ठको त ‘आफ्टरनुन’ नहुँदै दोहोरो स्वर्ण पदक आइसकेको थियो। पहिलो २ दिन राम्रै भएको सागका पछिल्ला दिनभने उतारचडावपूर्ण रहे। व्यस्तता त्यस्तै थियो। दोस्रो दिनपछि पदक आउने क्रम अलि ‘स्लो’ भयो। दिन बित्दै गर्दा रंगशालामा प्रवेश गर्न पनि प्रहरीले व्यवधान गर्न थालेको थियो। व्यवाहार एकदमै रुखो हुन थालेको थियो, प्रहरीको। सागको सातौं दिनमा त सँगै गएका साथीलाई गेटबाट पाससहित मिडिया सेन्टर जान खोज्दा सहकर्मीले प्रहरीको दुर्व्यवाहर खेप्नु परेको सम्म देख्नु पर्यो। रंगशााला प्रवेशका लागि दर्शकहरुलाई सहज थिएन।
एउटै गेटबाट पस्नुपर्ने। लाइन लामो समयसम्म बस्नुपर्ने। त्यसमाथि सुरक्षाकर्मीको रुखो व्यवाहार। अझ भलिबलको फाइनलको दिन त टिकट काटेका दर्शकले पनि कभर्ड हल पस्न पाएनन्। के आधारले टिकट काटिएको थियो? भित्र को गयो र टिकट बुक गरेका दर्शकहरु छिर्न पाएनन्? पक्कै समीक्षा होला, कुनै दिन। जे भए पनि भलिबलमा महिला खेलाडीहरुले मन जिते। फाइनल त यस्तो भएको थियो कि मैले क्रिकेटमा एकदिवसीय मान्यता पाउनु अघिको चरणमा क्यानडा विरुद्ध करण केसीले सन्दीप लामिछानेसँग अन्तिम विकेटका लागि गरेको साझेदारी सम्झिएँ। त्यतिबेला त नेपालले जितेको थियो। तर, भलिबलमा आफूभन्दा स्तरीय र अनुभवी टिमलाई दिएको त्यो टक्कर कुनै जित भन्दा कम थिएन।
व्यवस्थापन बिग्रँदो अवस्थामा भए पनि खेल रोचक बन्दै थियो। कहिले पौडीमा आएको सफलताले रोचक बनायो। कहिले सुटिङमा भएको अव्यवस्थाले लाजमर्दो। साग चली नै रह्यो। अझ फुटबल टोली फाइनल पुग्दासम्म नेपाली टिमको कुनै पनि खेलमा रंगशालाको सिट खाली देखिएन। यसले नेपालमा खेलप्रतिको लगाव छताछुल्ल पार्यो।
अर्कोतर्फ स्वर्ण पदकको खडेरीबाट गुज्रिरहेका बक्सिङ र पौडी संघले यसपटक पदकको गफ गर्न पाउने भए। गौरिका सिंह एक्लैले ४ स्वर्ण पदक जितिन्। उनले दक्षिण एसियाली खेलकुद इतिहासमा सफल नेपाली खेलाडीको पगरी पनि गुथिन्।
साइक्लिङमा नेपालले स्वर्णमय भयो। त्यस्तै जुडो, बक्सिङ, उसुलगायतका खेलले पनि स्वर्ण पदकहरु हात पारे। उसुमा भने शुरुबाटै असन्तुष्टिहरु पोखियो। नेपालका खेलाडी समर्थक अफिसियल त असन्तुष्ट थिए नै भारतीय अफिसियलहरु झन् असन्तुष्ट देखिए। भारतीय अफिसियलहरुले त मेडल लिन समेत अस्वीकार गरेका थिए।
४९ स्वर्ण पुगेको थियो, खेल समापन हुने अघिल्लो दिन। सदस्य सचिव रमेशकुमार सिलवालले पत्रकारहरुलाई डाके। समापन यस्तो हुन्छ, उस्तो हुन्छ भनेर सुनाए। अन्तिममा समापनको दिन उपप्रधानमन्त्री इश्वर पोखरेलले ‘स्पेसल प्याकेज’ दिने बताए।
सिलवालको ‘स्पेसल प्याकेज’ वीरबलको खिचडी जस्तै नै भयो। साग शुरु नहुँदैदेखि ‘स्पेसल प्याकेज’ को चर्चा सिलवालले गर्दै आएका थिए। पहिलो पटक साग आयोजनाको पूर्व सन्ध्यामा देशका विभिन्न स्थानमा अभ्यास गरिरहेको खेलाडीलाई बोलाएर कार्यक्रम हुने भयो। तर, दुर्भाग्य प्रधानमन्त्री बिरामी भएपछि उनको सट्टामा आएका अर्थमन्त्री युवराज खतिवडाले स्पेसल प्याकेजको कुरा गर्दै गरेनन्। खेलाडी, प्रशिक्षक हिस्स परे।
फेरि सागको समापनको पूर्व सन्ध्यमा सिलवालले यसको चर्चा चलाए। तर, अहँ न त उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सप्राइज प्याकेजको कुरा खोले न त प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समा यसको उल्लेख गरे। सिलवालको प्रयास फेरि तुहियो। आज नहुने भन्ने बुझेपछि सिलवालले भोलि प्रधानमन्त्रीले वालुवाटारमा पदक जितेका खेलाडी र अफिसियललाई भेटेर स्पेसल प्याकेज दिने भनेर फेरि ‘पोस्टपोन्ड’ गरे।
आज चाहिँ ‘वीरबलको खिचडी’ पाक्यो। प्रधानमन्त्रीले आखिरकार सप्राइज प्याकेज खोले।
बालुवाटारमा खेलाडी तथा अफिसियलहरुलाई भेटेर शुभकामना दिँदै स्वर्ण पदक विजेतालाई ९ लाख रुपैयाँ, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने घोषणा गरे। त्यस्तै एउटा भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाख दिने, यदि टिम भए पाँच लाख दिने बताए। तर, घोषणा धेरैबेर खुशीको साथ रहन सकेन।
पुरस्कार कसरी र कति पाउने भन्ने कन्डिसन राम्रो उल्लेख नहुँदा सम्वन्धित निकायबाटै नै फरक फरक कुरा आइरहेका छन्। घोषणा एकथोक, परिभाषित गर्ने अर्को थोक।
बल्लबल्ल मेडल जितेका खेलडी अलमल्लमा। के हो के होइन्? ‘स्पेसल प्याकेज’ केही बेरमै ‘सप्राइज प्याकेज’ बन्यो। यस्तो प्याकेज जो यही हो भन्न नसकिने।
सागमा यस बाहेक सम्झनै पर्ने कुरा समापनको दिन प्रहरीले सर्वसाधारण लगायत पत्रकारहरुमाथि निर्मम भएर गरेको हातपात पनि हो। त्यसका लागि अनुसन्धान गर्न समिति पनि बनिसकेको बुझियो। तर, अपुस्ट खबर। खुशीको कुरा आजै घाइते पत्रकार अस्पतालबाट घर फर्केका छन्।
त्यस्तै भुटानी फुटबल टिमले यसपटक धेरै राम्रो छाप छोडेर गयो। ‘अन्डर डग’ मानिने भुटान फाइनलमा पुग्यो। पराजित भयो। सम्मानजनक पराजय भोग्यो। खेल हार्यो, मन जित्यो।
फाइनल खेलमा समर्थकहरुले कि यो टिमलाई समर्थन गर्छन् कि त्यो टिमलाई। तर, दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपालीहरुले दुवै टिमको समर्थनमा देखिए। नेपालको पक्षमा समर्थक थिए तर भुटानको विपक्षमा थिएनन्। खेल सकिँदा नेपाल नेपाल भन्दै हुटिङ त लगाए तर भुटान भुटान भनेर उनीहरुलाई पनि समर्थकहरुले सम्मान गरे। घरेलु मैदानमा बाहिरको टिमले यति सम्मान र समर्थन पाउनु चानचुने विषय चाहिँ पक्कै होइन।
साग सकियो। आजबाट ब्लगको खेल शृङखला पनि सकियो। १३ औं सागको साक्षी हुन पाउँदा धेरै खुशी लाग्यो।
अब फर्किँदैछु सामान्य दैनिकीमा।