- फूलमाया पुरी-
काठमाडौं : त्रिपुरेश्वर चोकबाट थापाथलीतिर लगभग एकसय मिटर अघि लागेपछि सानो प्रहरी बिट देखिन्छ। बिटसँगै दुई तले मन्दिरजस्तै घर छ।
’नेपाली लोकबाजा संग्रहालय’ लेखिएको बोर्ड टाँगिएको छ यही घरमा। संग्रहालय पस्न यहाँ ढोका छैन। प्रहरी बिटलाई दाहिने पार्दै जाँदा जस्तापाताले बेरिएको बार भएको ठाउँमा पुगिन्छ। बारकै बीचमा छ एउटा सानो ढोका।
भित्र पुग्नसाथ देखिन्छ त्रिपुरेश्वर महादेवको मन्दिर। कुनै समयको भव्य मन्दिर २०७२ को भूकम्पले क्षति पुर्यायो। अहिले पुनर्निर्माण भइरहेको छ।
मन्दिरसँगै एउटा दुई तले भवन छ। यही रहेछ लोकबाजा संग्रहालयको प्रवेशद्वार। संग्रहालयको ढोकामै भेटिए संस्थापक अध्यक्ष तथा सञ्चालक रामप्रसाद कँडेल।
उनीसँगै म पनि उक्लेँ संग्रहालय। काठको भर्याङ चढेर केहीबेरमै पुगियो बाजा राखिएको ठाउँ।
संग्रहालयभित्र सजिएका छन् पुराना तथा नयाँ लोकबाजाहरू। जहाँ तीनतारे वीणादेखि मन्दिरमा बिहान बेलुका पूजा गर्दा बजाइने नगरासम्म सजिएका छन्। त्यस्तै टुना, अष्टसुर, आठतारे वीणा जस्ता पौराणिक कालदेखि बजाउँदै आएका बाजा पनि छन्।
नेवार जातिको पूजामा बजाइने देउखी, तामाङ जातिको टुङ्ना पनि थियो। त्यतिमात्र होइन काठमाडौँका शाक्य जातिको प्रख्यात बाजा धा पनि रहेछ।
एकसय आठ जातिका नेपाली लोकबाजा राखेर सुरु गरिएको संग्रहालयमा अहिलेसम्म विभिन्न जातजातिका ६ सय ५६ थरीका बाजा राखिएको कँडेलले बताए। त्यतिमात्र हैन यहाँ ती बाजाका धुनहरू पनि संग्रहित छन्।
संग्रहालय प्रवेशका लागि शुल्क पनि तोकिएको छ। त्यही शुल्कबाट गुठी संस्थानलाई भाडा तिर्न र अध्ययन अनुसन्धानमा खर्च गर्दै आएको कँडेलले बताए।
उनले भने “यहाँ सजिएका बाजा हेर्न संग्रहालयले विद्यार्थीका लागि ५०, अन्य नेपालीका लागि एक सय र विदेशी नागरिकका लागि एक हजार प्रवेश शुल्क तोकेको छ।'
संग्रहालयमा लोक सांगीतिक यात्रा नामक कार्यक्रम पनि सञ्चालन गरिँदै आएको छ। उक्त कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबार हुने कँडेलले बताए। भने, 'यात्रामा ५० जनाभन्दा बढी लोकगीत गाउने र लोकभाका प्रेमीहरुको उपस्थिति हुन्छ।'
संग्रहालयको सुरुवाती समय
सुरु गर्दाको अवस्था कस्तो थियो? जवाफमा कँडेलले भने, '२०५२ मा यसको स्थापना गरिएको हो। संग्राहलय ऐन छुट्टै नभएकाले २०५४ साल जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सामाजिक संस्थाको रूपमा दर्ता गरी विधिवत् रूपमा काम सुरु भयो।'
काम सुरुवात गरेसँगै संस्थाले विभिन्न जिल्लामा लोकबाजाका विषयमा अध्ययन,अनुसन्धान र संकलन थाल्यो।
'सुरुवाती दिनमा नेपालमा कति प्रकारका बाजा छन् भन्ने थाहा थिएन,' कँडेल भन्छन्,'त्यसैले संग्रहालयको पहिलो र मुख्य काम भनेकै खोज अनुसन्धानबाट सुरु भयो।'
लोक बाजाको इतिहासलाई संरक्षण र प्रवर्द्धनमात्रै नभई त्यसको प्रदर्शन गर्ने उद्देश्य बोकेर नै संग्रहालय स्थापना गरिएको उनले बताए।
संकलन भएका सामग्रीलाई व्यवस्थापन र प्रदर्शन गर्न २०५८ सालमा भद्रकालीमा कोठा भाडामा लिएर सुरु भएको सो संग्रहालय २०६४ सालबाट त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी संस्थान अन्तर्गत पर्ने यही भवनमा आइपुग्यो।
अहिले संग्रहालय संरक्षणमा चासो कमैको मात्र छ। लोकबाजा संग्रहालयको भविष्य पनि संकटमा छ।
भूकम्पपछि गुठी संस्थान काठमाडौँ शाखाले जीर्ण भवन पुनर्निर्माण गर्ने भन्दै संग्रहालयलाई पत्र पठाएको थियो। उक्त पत्रमा भवन पुनर्निर्माण गर्नुपर्ने भएकोले खाली गर्न भनिएको थियो।
भवन मर्मत हुने भएपछि पहिला संग्रहालय सकारात्मक नै थियो। तर पछि भने गुठीप्रति उनीहरूको असन्तुष्टि बढ्दै गयो।
कारण- भवनको प्रयोग अरूलाई गर्न दिनु।
कहाँ लैजाने सयथरी बाजा?
गुठीको यो पत्रसँगै भवन पुनर्निर्माण गर्ने पक्षमा संग्रहालय रहे पनि उक्त भवन काठमाडौँ विश्वविद्यालयलाई संगीत विद्यालय सञ्चालनका लागि दिने निर्णयप्रति भने सग्रहालय सञ्चालक असन्तुष्ट छन्।
कँडेल भन्छन्, ’२०६२ सालमा संस्कृतिमन्त्री बुद्धिराज बज्राचार्यको रोहबरमा मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट जीर्णोद्वार गरेको यस भवनमा संग्रहालय रहन दिने निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा गुठी संस्थानसँग सम्झौतामा संग्रहालय रहँदै आएको छ। तर एक्कासी यहाँ अरूलाई नै राख्ने प्रयास भयो।’
तर, गुठी संस्थानले संग्रहालयसँग गरिएको सम्झौताको अवधि सकिसकेकोले नयाँ प्रक्रिया सुरु गरिएको दाबी गरेको छ। गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख शैलेन्द्र पाण्डे भन्छन् ’पाँच वर्षको सम्झौता सकिए पनि संग्रहालयले भवन खाली गरेको छैन। सम्झौतामा आवश्यक परेको खण्डमा गुठी संस्थानले जुनसुकै बेला भवन खाली गराउन सक्छ भनेर उल्लेख नै छ। फेरि हामीले त जीर्ण भवन पुनर्निर्माण गर्न लागेका हौँ।’
भूकम्पका कारण चर्किएको संग्रहालय रहेको भवन अहिलेसम्म जीर्ण अवस्थामा नै छ। जीर्ण भवनलाई बलियो बनाएर संगीत अध्ययन गराउने उद्देश्यका साथ पुनर्निर्माण सुरु गर्ने बताइए पनि विवादका कारण रोकिएको छ।
संग्रहालय सञ्चालकले उक्त भवन आफूले नै प्रयोग गर्न पाउनुपर्ने भन्दै गुठी र काठमाडौँ विश्वविद्यालयविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा गरेको थियो। तर फैसला संग्रहालयको पक्षमा आएन।
त्यसैले अदालतको फैसला आफ्नो पक्षमा नरहेपछि अब लोकबाजा संग्रहालय कहाँ कसरी व्यवस्थित हुने भन्नेमा अन्यौल देखिन्छन् कँडेल। गुठी संस्थान भने भवन खाली गराएर पुनर्निर्माण गर्ने पक्षमा देखिएको छ।
नेपाली बाजाको धुनमा गुन लगाएका कँडेलको मन संग्रहालयबाट बाहिरिँदै गर्दा भौतारिएको देखिन्थ्यो। बहुमूल्य बाजाहरू राख्ने ठाउँको टुंगो नहुँदाको पिरलो उतिकै देखिन्थ्यो उनको अनुहारमा। एकसरो संग्रहालय फन्को मारेपछि निराश बनेका कँडेलले भने, ’यतिका बाजा कहाँ लिएर जाने?’